आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एक्लै चुनाव लड्ने माओबादीको तयारी, तयारी थाल्न नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन

आइतबार, भाद्र १५ २०८२

काठमाडौ(जस)–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काअध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न निर्देशन दिएका छन् । पार्टी लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । ‘पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस–एमालेका नेताहरुले मलाई भेट्दा यो परिर्वतन माओवादीले ल्याएको हो । त्यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ भन्नुभएको छ । मैले यो कुरा मलाई किन भन्नुहुन्छ ? यो जनतालाई भन्नुहोस् न भन्ने गरेको छु । त्यसैले कमरेडहरु माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भुमिका कसैले नकार्न सक्दैन । बाहिर प्रचार प्रसार त हामीले गर्नुपर्यो नि, रुपन्देहीमा हामीले पहिला भन्दा राम्रो परिणाम ल्याउँछौं, ल्याउँछौं । एक्लै लड्ने हो, तपाईहरु त्यसको तयारी गर्नुहोस्,’– प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वाभाविक स्वरुप भएको बताए । उनले भने, ‘असन्तुष्टि जहाँ गयो त्यही हुन्छ । विश्वको क्रान्तिकारी आन्दोलनमा पनि यस्तै देखिन्छ ।’ उनले माओत्से तुङ, ल्यू साओची र लिनप्याओबीचको ऐतिहासिक सम्बन्धलाई उल्लेख गर्दै विश्वासघात र नेतृत्वप्रतिको आस्था परीक्षणको दिष्टान्त पार्टीका नेता कार्यकर्तासमक्ष राखे । अध्यक्ष प्रचण्डले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्व इतिहासले आफूलाई सुम्पिएको उल्लेख गर्दै जनयुद्ध र परिर्वतनका आन्दोलनका अभिलेख व्यवस्थित गर्न माओवादी केन्द्रले अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए ।
‘देशभरका वडाहरुबाट जनयुद्ध र जनआन्दोलनमा सहभागी, सहिद, घाइते र जेलनेल भोगेका जुनसुकै पक्षका व्यक्तिको विवरण तथ्याङ्क संकलन गरेर केन्द्रमा पठाउनुपर्छ,’ उनले भने । प्रचण्डले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै त्यसबाट डराएका प्रतिक्रियावादी र विचौलिया समूहहरु माओवादी आन्दोलनविद्ध जोसुकै लागेको भएपनि विज्ञान र वर्गसंर्घषको नियमअनुसार माओवादी आन्दोलन अझ अघि बढ्ने विश्वास व्यक्त गरे । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी आन्दोलनबारे समीक्षा, संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरणको तयारी, जनताको भरोसाप्रति जिम्मेवारी र पार्टीको भविष्यका योजनाहरु राखे । बैठकमा प्रचण्डले समसामयिक राजनीति, पार्टीको आन्तरिक अवस्था र आगामी रणनीतिबारे धारणा राखेका छन् । परिवर्तनको जग माओवादीले राखेको र त्यसको रक्षा गर्ने शक्ति पनि माओवादी नै भएको उनको भनाइ छ ।
प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण
यसैगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन् । आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो । सो अवसरमा “टंकमणिः एक क्रान्तिबीज” पुस्तकको विमोचन पनि गरिएको थियो । सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्ध सफल बनाउन तत्कालीन सप्लाई विभागको योगदान महत्वपूर्ण रहेको स्मरण गरे । उनले टंकमणिले सप्लाई विभागमा रहेर दश वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको बताए । प्रचण्डले जनयुद्धको समयमा जोखिमपूर्ण जिम्मेवारी बहन गरेर काम गर्ने टंकमणि साहसी योद्धा भएको बताए ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको बताए । उनले उपमहानगर सबै पक्षलाई समेटेर अघि बढिरहेको र परिवर्तनका लागि लडेका योद्धाहरूको सम्मानमा उपमहानगरले कदर गरेको जिकिर गरे । पाण्डेले आफूहरू कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित भएकाले केन्द्रमा गठबन्धन भत्किए पनि पालिकामा गठबन्धनको मर्मअनुसार काम गरिरहेको स्पष्ट पारे । कार्यक्रममा पार्टीका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेता–कार्यकर्ताको उपस्थिति थियो । टंकमणिको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार