काठमाडौँ(जस)–वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रञ्जनराज भट्टले १० वटा नमूनामध्ये आठवटा नमूनामा हैजाको सङ्क्रमण पुष्टि भएको जानकारी दिए । ‘वीरगञ्जबाट हैजाका लक्षण देखापरेका बिरामीको दिसा सङ्कलन गरेर नमूना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो,’– उनले भने, ‘प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टिएको छ ।’
निर्देशक डा. भट्टले स्थानीय अस्पतालले यसअघि नै ‘आरडिटी’ गरेर हैजा भएको पुष्टि गरे पनि थप पुष्टि गर्न नमूना परीक्षण गरिएको जानकारी दिए । ‘वीरगञ्जका स्थानीय अस्पतालले आरडिटी गरेर हैजा भएको त थाहा पाइसक्नुभएको थियो । कहिलेकाहीँ त्यसमा केही रिजल्ट फरक आउन सक्ने भएकाले थप पुष्टिका लागि यहाँ कल्चर गरिएको हो,’– उनले भने ।
वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ । सहरभर हैजा फैलिएका कारण थप संक्रमणवाट जोगिन महानगरले विद्यालय बन्द १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्याहरू बन्द आह्वान गरेको थियो । मंगलबार एक सूचना जारी गर्दै महानगरले १३ भदौसम्म सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जनाएको हो ।
वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए । उनका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।
नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।