बिहिबार, भाद्र ५ २०८२
यूएई – नेपालका कुना कन्दरा, खेतबारीका दुनिया , सहरका स साना साथै साँघुरा गल्लीहरूबाट बर्सेनि लाखौ युवा सुनौलो भविष्यको खोजीमा गल्फका बालुवामाथि आफ्नो पैताला बजार्छन, मलेसियाको कारखानाहरुमा तरतरी पसिना पनि बगाउँछन्, या त यूएई जस्ता बिकसित देशको गगनचुम्बी भवनहरूको छायाँमा आफ्नो भविष्य कल्पिरहेका हुन्छन। ती लाखौ आखाहरु भित्र आफ्ना परिवारको सुख, आफ्ना सुन्दर सपनाहरु अवश्य हुन्छन, तर त्यो सपनाको शान्त अनि शित्तलता भित्र थुप्रै अदृश्य घाउहरू लुकेका हुन्छन, असह्य बेदना जुर्मुराएका हुन्छन। मानसिक पीडा, एक्लोपना, नैराश्यता र आत्महत्या जस्ता कटु सत्य त्यही भित्र ओझेलमा परिरहेका हुन्छन।
संजालका विभिन्न श्रोतहरुका अनुसार तथ्याङ्कहरूलाई केलाउने हो भने यो वेदनालाई संख्यामा उतार्दामात्र पनि एक दर्दनाक आभाष दिन्छ। विगत १५ वर्षलाई मात्र बिचार गर्ने हो भने झण्डै १२ हजार नेपाली श्रमिकले विदेशमा प्राण गुमाएको पाइन्छ, जसमा मलेसियामा ३,७९९, साउदी अरबमा ३,२५६, कतारमा २,३३१ र यूएईमा १,२९० जना रहेको भेटिन्छ । यी समग्र मृत्युका यावत कारणहरु रहेतापनी झन्डि १२ प्रतिशत मृत्यु त आत्महत्या मात्र हुन् सन २००८ मा ८ जनाले आत्महत्या गरेको तथ्यांक सन २०२१/२२ मा पुग्दा बढेर संख्या ९८ पुगेको पाइएको थियो। विभिन्न अनुसन्धानका तथ्यहरुलाइ आधार मान्ने हो भने समग्र विदेशमा रहेका करिब चौथाइ नेपाली श्रमिकहरुको मानसिक स्वास्थ्यमा समस्या रहेको पाइन्छ। अझ श्रमबजार बाट नेपाल वापस फर्किएकाहरु मध्ये करिब १४ प्रतिशत डिप्रेसन र ४ प्रतिशत गम्भीर चिन्ता (Anxiety ) बाट प्रभावित छन् ।
विदेशमा काम गर्न गएका नेपालीहरूको मानसिक स्वास्थ्यको अवस्था दिनप्रतिदिन गम्भीर हुँदै गइरहेको छ। विशेष गरी खाडी देशहरू (युएइ, साउदी अरब, कतार) र मलेसियामा काम गर्ने नेपाली श्रमिकहरू यस समस्याबाट सबैभन्दा बढी प्रभावित छन्। २०२५ को तथ्यांक अनुसार युएइमा मात्रै आत्महत्याको संख्या अघिल्लो वर्षभन्दा ३०% ले बढी भएको देखिन्छ। अवश्य नै यसको प्रमुख कारण मानसिक स्वास्थ्य समस्याहरू हो, जसमा डिप्रेसन, एन्जाइटी डिसअर्डर र पोष्ट-ट्राउमेटिक स्ट्रेस डिसअर्डर (PTSD) प्रमुख छन्।
वैदेशिक रोजगार विभागका अनुसार, सन २०२५ सम्म वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या अझै उच्च छ। केवल २०२४/२५ आर्थिक वर्षमा मात्रै करिब ५ लाख ८० हजार नेपाली नयाँ वा पुनः वैदेशिक रोजगारीका लागि मलेसिया, साउदी, कतार, यूएई र अन्य गल्फ मुलुकतर्फ प्रस्थान गरेका छन्, बढ्दो तथ्यांक सहितको यो संख्याले देखाउँछ कि विदेश जानेको लहर रोकिएको छैन तर अपसोछ, मानसिक स्वास्थ्यको अवस्था सुधारिएको छैन। बरु, बढ्दो आर्थिक दबाब, गन्तव्य मुलुकमा श्रमिक अधिकारको कमजोर अवस्था, र नेपालमै रहँदा पनि परिवारमा राजनीतिक, सामाजिक अस्थिरताको समाचार सुन्नु आदिले उनीहरूको मनोविज्ञानमा थप चोट पुर्याइरहेको छ।
स्वदेश तथा बिदेशमा पनि सामाजिक संजाल र यसको बढ्दो गलत प्रयोगले झन यस समस्यालाई बढाएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता प्लेटफर्महरूमा नेपालीहरूले आफ्नो जीवनलाई “आदर्शको” रूपमा प्रस्तुत गर्छन्, भव्यताको साथ पस्कन्छन, आरिस लाग्दो प्राप्ती देखाउछन तर यो वास्तविकताबाट धेरै टाढा हुन्छ। एक जना नेपाली श्रमिकले दिनभर जति नै कठिन परिश्रम गरेपनि, उसले आफ्नो प्रोफाइलमा मात्र रमाइलो गर्दै, फरमाइसी गाडीमा सवार हुँदै देखाउने परम्परा झै बसेको छ। यसले अरू नेपालीहरूमा हीनभावना जन्माउन नसक्ला पनि त भन्न सकिन्न। वास्तवमा, बैदेशिक रोजगारिमा रहेका हरु धेरैजसोले एक्लोपन, तनाव, र निराशाबाट गुज्रीरहेका हुन्छन तर कसैलाई भन्न सक्दैनन् बरु संभ्रान्त या राजसी ठाँट देखाउछन। भित्र भित्रै मानसिक स्वास्थ बिग्रदो हुन्छ र कालान्तरमा निकै ठूलो जटिलताको शिकार हुन पुग्छ्न।
छुटाउनै नहुने अर्को पाटो भने नेपाली राजनीतिलाई कपि पेष्ट गरि बिदेशमा पोख्नु! यो राजनिती र यसका अनेकन गतिरोधहरुले पनि विदेशमा रहेका नेपालीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको देखिन्छ। सामाजिक संजाल भित्र राजनीतिक समर्थकहरूबीच गालीगलोज, एकअर्कालाई होच्याउने, बेइज्जत गर्ने संस्कृति बढेको छ, “मवाद” हाबी भएको छ। “इन्टेलेक्चुअल नार्सिसिज्म”, “इगोसेन्ट्रीज्म” आदि प्रमुखतामा रहेको छ। म ठिक र मेरा मात्र ठिक, सो इत्तर या उतरका सबै अमानव हुन या गैर हुन या अनजान हुन या तुच्छ हुन भनेर संजाल रङ्गाउने परिपाटी बसेको छ। यो ज्वलन्त उदाहरण हो मानसिक सन्तुलन बिग्रन थालेको अवस्था को। नेपालको अस्थिर राजनीतिले विदेशमा रहेका नेपालीहरूमा निराशा फैलाएको छ। प्रायले सोच्छन्, “हामी यति मिहिनेत गरेर पनि देश कहिले सुध्रने?” हामिले रकम पठाएको नै छौ त, के पायौ यो संघर्षको बदलामा, हो यस्तै प्रश्नहरुपनी मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने तत्वहरु हुन।
सामाजिक बिषय पनि गौण भने छैनन तर प्राथमिकतामा आर्थिक अवस्थाले पनि मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पारेको छ। प्राय नेपालीहरू ऋण लिएर नै विदेश जान्छन् तर आशा अनुरूप कमाइ हुन नपाउदा उनिहरु फर्किन पनि बाध्य हुन्छन्। यसले गहिरो निराशा अवश्य जन्माउँछ। कुवेतमा २०२४/२५ मा ६० भन्दा बढी नेपालीहरूले आर्थिक समस्याको कारणले आत्महत्या गरेको तथ्यांक पनि भेटिन्छ। यसको समाधान होला र?
तर पीडाको कथा केवल विदेशमा मात्र सीमित छैन, शुरुवात त आफ्नै देश भित्रबाट भएको छ, हाम्रो घरभित्रको अवस्था पनि उत्तिकै पीडादायी छ । सामाजिक कारण अझ प्रगाढ छ।राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार, वयस्क नेपालीको करिब दश प्रतिशत र किशोरहरूको ५.२ प्रतिशतमा मानसिक विकार पाइन्छ । एनडीएचएसको २०२२ को तथ्याङ्क आफैमा अझै गम्भीर छ समग्र मध्येको ११.३ प्रतिशत जनसंख्यामा चिन्ता र ५.४ प्रतिशतमा डिप्रेसन पाइएको देखाएको थियो।जसले संयुक्त रूपमा करिब २२ प्रतिशत नेपालीलाई मानसिक स्वास्थ्य समस्याको घेऱामा राखेको छ, तर चिन्ताको मुख्य कुरा त के भने सो मध्येका झन्डै ७५% ले उपचार नै लिँदैनन्, जसको मुख्य कारण समाजमा रहेको कलंक हो। मानिसहरूले मानसिक रोगलाई “पागलपन” को रूपमा हेर्छन् र उपचार गर्न जाँदा समाजले हेप्ने डरले धेरैले उपचारबाट टाढा रहन्छन्।हरेक वर्ष हजारौ हजारले आत्महत्याको बाटो रोज्छन्, जसमा ४० प्रतिशतभन्दा बढी कृषक र १५ प्रतिशत विद्यार्थी रहेको पाइन्छ।
मानसिक रोगका नामहरू धेरै छन, शरिरमा लाग्ने रोग झै , टिबि, क्यान्सर, डाइरिया, ज्वरो, घाउ खटिरा झै मानसिक रोगपनी उस्तै हो तर यसलाइ अन्य तवरले हेरिन्छ। मानसिक रोगका विभिन्न प्रकारहरु, जसमा प्रमुख डिप्रेसिभ विकार, चिन्ता विकार, पदार्थ प्रयोग विकार, विच्छेदन विकार, मनोरोगी विकार, ध्यान अभाव/अत्यधिक सक्रियता विकार, अटिस्म स्पेक्ट्रम विकार, आचरण विकार आदि तर रोगभन्दा ठूलो गहिरो र भयानक समस्या त रोगप्रतिको हाम्रो दृष्टिकोण हो । ‘पागल’ भन्ने शब्द अझै पनि समाजको जिब्रोमा छ, समाजको मुखमा छ, सामाजिक चिन्तनमा छ। यो रोगको कारण विवाह, रोजगारी र सम्बन्धमा भेदभाव अझै प्रचलित छ जसकारण धेरैले उपचार खोज्न नै चाहना राख्दैनन, अझ अन्तिम अवस्था नपुगुन्जेल त परम्परागत झारफुक वा मौन सहनालाई रोज्छन् बिमारिहरुले।
यो मौन पीडालाई भंग गर्न बिभिन्न तहको यात्रा आवश्यक छ,यो नगर्ने हो त अवस्था भयावह नै हुन जाने छ । पहिलो चेतना, जसले मानिसलाई बुझाउँछ कि मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्यजस्तै नै महत्वपूर्ण हो , जिउ ठिक राख्न मस्तिष्क ठिक राख्न नै पर्छ। विद्यालयका पाठ्यपुस्तकदेखि सामाजिक सञ्जालसम्म, कलंक तोड्ने अभियान नै चलाउन पर्ने आवश्यकता देखिएको छ। सामाजिक सञ्जालमा सकारात्मक अभियान: वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको वास्तविक कथा, संघर्ष र सफलताका उदाहरणलाई प्राथमिकतामा राख्ने अभियानको आवश्यकता छ। सेवामा पहुँच हुन आवश्यक छ, जसमा प्राथमिक स्वास्थ्य केन्द्रमै मानसिक स्वास्थ्य एकाइ, टेलिमेडिसिन, र प्रमाणित काउन्सेलिङको व्यवस्था हुन जरुरी छ। नीति र संरचनामा ठुलै फेरबदल आवश्यक छ जसले मानसिक स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गर्दै विशेषज्ञ र बजेट दुवै बढाओस् ।
विदेशी रोजगारीमा जानेका लागि प्रस्थानपूर्व मानसिक स्वास्थ्य परीक्षण, भाषा र संस्कृतिको तयारी, र गन्तव्य मुलुकमा हेल्पलाइन सुविधा अनिवार्य गर्नुपर्छ । गाउँघरमा सामुदायिक समूह र peer support network मार्फत आपसी सहयोग र भावनात्मक सुरक्षा दिन सकिन्छ । नेपाली दूतावासहरूले यसमा सक्रिय भूमिका खेल्नुपर्छ। सोशल मिडियामा सकारात्मक सन्देश फैलाउनुपर्छ। नेपालमा साथै नेपाली नियोगहरुमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ। समाजले यसलाई कलंकको रूपमा हेर्न बन्द गर्नुपर्छ। सरकारले मानसिक स्वास्थ्य शिक्षा बढाउनुपर्छ र सेलिब्रिटीहरूले पनि यसबारे कुरा गर्नुपर्छ।
सन २०२५ सम्मको भयनक र दर्दनाक तथ्यहरु हेर्दा विदेशमा सुनौलो भविष्यको खोज अझै जारी छ, रोकिने अवस्थामा कदापी छैन, तर त्यो यात्रामा मनको स्वास्थ्यलाई बेवास्ता गर्दा सपना दु:स्वप्नमा बदलिँदै छ। हामीले समयमै सामाजिक सञ्जालको विषालु प्रभाव कम गर्न, राजनीतिक अस्थिरताको मानसिक असर घटाउन, र मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न सके मात्र, परदेशी नेपालीहरूको यात्रा साँच्चै उज्यालो बन्नेछ, स्वदेश बास्तवमा स्वस्थ हुने छ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij