संघीय गणतन्त्र र समावेशी तथा समानुपातिक लोकतन्त्र स्थापना गर्नका लागि साम्राज्यवादी तथा विस्तारवादी मुलुकहरूलेसमेत सहयोग र समर्थन गरेका छन् । तर उनीहरूले चाहेको जस्तो ढाँचामा नलगिदिएका कारण ती मुलुकले भनेजस्तो सहयोग र समर्थन चाहिँ गरेका छैनन् । माओवादी नेतृत्त्वमा आएको, अनुदार सामन्तवादका नाममा सहकार्य नगरेको, जनताका प्रतिनिधिलाई निर्णायक बनाएको, नयाँ र मौलिक खालको तरिकाको राज्यव्यवस्था बनाउन खोजेको, विदेशी शक्तिकेन्द्रहरूसँग सल्लाह र अनुभव लिन मात्र खोजेको नाममा नयाँ राजनीतिक परिवर्तनमा साम्राज्यवादी, विस्तारवादी र अन्य शक्तिकेन्द्र नेपालको नयाँ राजनीतिक अवस्थासित त्यति सन्तुष्ट हुन सकेका छैनन् ।
समाजको सर्वहारा वर्गको नेतृत्व र जातीय, क्षेत्रीय, लैंगिक र सांस्कृतिक विभद (दलित) समुदायले आफ्नो न्यायको लागि कठोर संंघर्ष अर्थात, निक्कै ठूलो वलिदानको कोटा चुक्ता गरेर यो व्यवस्था ल्याएको हो । सर्वहारा वर्गको सत्ता अन्तर्गत अरू वर्ग र समुदायका जनताको समस्याको हल हुन असम्भव छ भन्दाभन्दै पनि यही व्यवस्थामा सम्भव छ भन्दै र त्यसका लागि समाजवादको आशा देखाएर यो व्यवस्था आएको हो । अहिले अर्कै वर्ग र समुदायका छट्टूहरूले अर्कै आशा देखाएर ती वलिदान गर्ने वर्ग र समुदायको दायित्व आफूले लिएको झैं गरिरहेका छन् । शोषितपिडित र अन्यायमा परेका जनतालाई आशा देखाउँदै झुक्याएर यो देश र जनताका लागि कुनै लगानी नगरेका छट्टूहरूले आफ्नो दुनो सोझ्याउने अधिकार तिनीहरुलाई छैन ।
नयाँ नेपालको स्वामित्व ग्रहण गर्ने अवस्थामा कोही छैनन् । नयाँ नेपाल निर्माणमा मुख्य भूमिका खेल्ने माओवादीले ल्याउन खोजेको नयाँ जनवादी व्यवस्था हो । यो व्यवस्था त बुर्जुवा वर्गले संसारभर ल्याएका र खोजेका र अहिले मुद्दा बनाउन छोडेका अवधारणाहरू जोडेर ल्याइएको व्यवस्था हो । माओवादी पार्टीले निर्णय गरेर आएको तर आफ्ना प्रयास र प्रस्ताव नभएका राजनीतिक अवधारणाहरूको उनीहरूले पनि स्वामित्व लिने नैतिक हैसियत छैन । सामन्तवादी वर्गसँग खोसेर ल्याइएको हुनाले उनीहरूको पनि स्वामित्व हुने कुरै होइन । स्वामित्वका हिसाबले यो राजनीतिक व्यवस्था बेवारिसे छ । भौतिक अवस्थाले रुढिवादी परम्परा र कर्मकाण्डीय संस्कारमा बदलाव आएको देखिंदैछ । मानिसको जीवनशैलीमा पनि निक्कै ठूलो फेरबदल गरिदिएको देख्नसकिन्छ ।
हाम्रा घर भुकम्प प्रतिरोधि वा सुरक्षित भएका छन् । पुराना घरमा दैनिक गर्नुपर्ने कार्यहरू भन्दा नयाँ घरमा गर्ने कार्यहरू सजिला र घण्टौं समय बचत हुने खालका छन् । समय बच्नु फाईदा लिनु हो र सहज हुनु दुःख हट्नु हो । पुराना र अप्ठ्यारा भाँडाबर्तन र सामाग्रिको राखनधरनले पनि उसैगरी सहजता र समय बचत भएका छन् । प्रायः पुराना भाँडावर्तन अहिले छैनन् । चुलोचम्को बदलिएको छ, पाठपुजा र धोतीपाटा फेरेर गरिने खानपिन प्रणालि पनि आमरुपमै हटेको छ । दाउरा, पानी, लिपपोत, सरसफाई आदिमा देखिएका परिवर्तनले पनि समय र पैसा बचाइदिएको छ । रातको अन्धकारमा टुकिको उज्यालो भन्दा बढि बिजुलीको उज्यालोले घरवारका कामकाजहरू छोटिन पुगेका छन् । सारमा समय धेरै बचत भएको देखिनुले जनजीवनमा आएको परिवर्तनलाई संकेत गर्दछ ।
भारी ओसारपसार हटेको छ, धुवाँले स्वास्थ्यमा पुर्याएको असर घट्दैछ र खानपिनको प्रचुरताले स्यास्थ्यमा सुधार आएको बुझ्न सकिन्छ । यही कारण आयुमा पनि उल्लेख्य सुधार भएको छ । शिक्षाको पहुँच बढेको छ । सार्वजिनिक उद्योग, व्यवसायले रोजगारीको क्षेत्र बढाउन नसके पनि निजीले सकेको छ, वैदेशिक रोजगारका गन्तव्य क्षेत्रहरू व्यापक मात्रामा बढेको छ । अर्थतन्त्रको बजेट र व्यवहारको आकार बढेको छ, गरिवीको सानो मात्रा घटेको देखिन्छ ।
कुनै पनि अस्तित्वको जग हुन्छ । जग के हो भन्ने नै नबुझि बस्तुको स्वामित्त्व खोज्नु र उपयोग गर्न खोज्नु मुर्खतासिवाय केही हैन । वर्तमानमा देखिएका समस्याहरूको जग नयाँ नेपालको आधार हो । समाधान खोज्नेहरूले यसको जग अदलबदल गर्ने क्षमता पनि राख्नुपर्छ । समस्याहरूको बिस्कुन सुकाउने तर समाधानको लागि कुनै उपाय बताउन नसक्नेहरू अराजक र मूर्ख सिवाय कोही हैनन् । नयाँ नेपाल निर्माणका लागि जसजसले योगदान गरेका छन् उनैले मात्र यसका समस्याहरूको समाधान गर्दै यसलाई पूर्ण आकारमा लैजाने क्षमता राख्छन् । न कुनै योगदान छ, न कुनै समस्याहरू बदल्ने नीति, योजना र कार्यक्रम देखाउने हैसियत नै देखाएका छन्ती । आए भने शक्तिकेन्द्रहरूले खेलाउने कठपुतली हुनेबाहेक अरू हुँदैन । बरू यस्ताहरूबाट देश असुरक्षित हुने चाहिँ निश्चित छ । व्यवस्था नै नबुझि राजनीति गर्नखोज्नेहरू यो देशका खतरनाक तत्व हुन् भनेर बुझ्दा सहि हुन्छ ।