आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा, विश्वासको मतको सम्मुखमा बानियाँ सकसमा

सोमबार, साउन २६ २०८२

काठमाडौँ (जस)–बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार विश्वासको मत लिने तयारी गर्दै गर्दा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा आएको छ । पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका १४ सांसदको नेतृत्व गरिरहेका बहादुर सिंह लामा आफ्नो पक्षका तीन सांसदलाई मन्त्री बनाउने पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने अडानमा अडिग रहँदा बानियाँ दबाबमा परेका छन् । लामाले गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गर्नुपर्ने माग अघि सारेका छन् । सहमति कार्यान्वयन नभए विश्वासको मत नदिने मात्र नभई सामूहिक राजीनामासम्मको तयारी रहेको उनको पक्षको भनाइ छ । साउन २० देखि काठमाडौँमा बसेका लामा शीर्ष नेताहरूसँग निरन्तर भेटघाट गर्दै आफ्नो अडानमा अडिग छन् ।
लामाले भने, ‘हामी छलफलमा छौँ । मुख्यमन्त्रीले हामीलाई समेट्न सक्नु भएको छैन । हामी सहमति अनुसार अघि बढ्नुपर्छ भन्ने मागमा छौँ । उहाँहरूले समेट्न खोज्नु भएको छैन ।’ उनले अन्तिम विकल्पको रूपमा सामूहिक राजीनामा दिने प्रस्तावसमेत आएको बताए । प्रदेशको ११० सदस्यीय सभामा सरकार जोगाउन कम्तीमा ५६ मत आवश्यक पर्छ । एमालेका २७ मत पक्का भए पनि कांग्रेसभित्रका ३७ मध्ये लामाको पक्षमा रहेका १४ सांसदले समर्थन नदिए बानियाँको सरकार ढल्ने जोखिम उच्च छ । मुख्यमन्त्री बानियाँ संसदीय दलबाट ह्वीप जारी गरेर विश्वासको मत लिने तयारीमा छन्, तर फ्लो क्रसको चुनौती कायमै छ ।
सांसद उत्तम जोशीले सहमति कार्यान्वयनका लागि अन्य विकल्पमा छलफल गर्नुपर्ने बताउँदै भने, ’कुनै व्यक्ति केन्द्रित भएर नागरिकको मतको अवमूल्यन गर्न हुँदैन । राजीनामाको कुरा अन्तिम विकल्प हो, पार्टीको निर्देशन पालना गर्नुपर्छ ।’ त्यस्तै, सांसद तीर्थ लामाले सरकार पार्टी नेतृत्वभन्दा बाहिर जानु हुँदैन भन्नेमा सबै एकमत एकमत रहेको दाबी गरे । मुख्यमन्त्री बानियाँ साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा निर्वाचित भएका थिए । उनले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् पूर्ण गर्ने रणनीति बनाएका छन् । तर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन चुनौतीपूर्ण बनेको छ ।
प्रदेशमा कांग्रेसको कोटामा अझै पाँच मन्त्रालय रिक्त छन् । एमालेसँगको भागबण्डा अनुसार कांग्रेसलाई मुख्यमन्त्रीसहित आठ मन्त्रालय पाउने सहमति छ । गत साउन २० मै कांग्रेसबाट दुई मन्त्री नियुक्त भए पनि बाँकी पाँच मन्त्रालयका लागि तीव्र प्रतिस्पर्धा चलिरहेको छ । शक्तिकेन्द्रअनुसार मन्त्रालयको दाबी तीव्र छ । सभापति शेरबहादुर देउवाको कोटाबाट शिवराज अधिकारी पहिले नै मन्त्री भइसकेका छन् । बानियाँको निकट मानिएका प्रभात लामा अर्थ मन्त्रालयमा पुग्ने चर्चा छ । गगनकुमार थापा समूहबाट सुरेश श्रेष्ठ मन्त्री बन्ने तयारीमा छन् भने महिला तर्फ याङ्कीला शेर्पाको नाम पनि छ । प्रकाशमान सिंह समूहबाट प्रमुख सचेतक कन्चनचन्द्र बादे सक्रिय छन् । महिला तथा दलित कोटामा मीनबहादुर विश्वकर्मा समूहकी सुना परियार अगाडि छन् ।
शेखर कोइराला समूहबाट रमेशकुमार महत मन्त्री बन्ने दौडमा छन् भने बहादुर सिंह लामा समूहले आफ्नो सूचीमा गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठको नाम राखेको छ । कांग्रेसमा मन्त्री दोहोरिने परम्परा नरहेको भए पनि लामाले पुराना नाममै अडान लिएका छन् । यसबीच, कांग्रेसका धेरै सांसद काठमाडौँमै बसेर शीर्ष नेतासँग निरन्तर भेटघाटमा छन् । मुख्यमन्त्री बानियाँले पनि साउन २१ गतेदेखि राजधानीमै बसेर शक्ति सन्तुलनका लागि लबिङ गर्दै आएका छन् । विश्वासको मतको दिन नजिकिँदै जाँदा आफ्नै दलभित्रको असन्तुष्टि चिर्न नसके बानियाँको राजनीतिक भविष्य अनिश्चित बन्ने देखिएको छ । बानियाँ लामालाई संसदीय दलको नेताबाट हटाएर मुख्यमन्त्री बनेका थिए । यससँगै लामा बानियाँसँग चिढिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार