आजदेखि गाइजात्रा पर्व सुरु भएको छ । गाईजात्रा नेपालको सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण पर्व हो । यो विशेषगरी नेवार समुदायमा धूमधामका साथ मनाइन्छ । यो पर्व प्रत्येक वर्ष भाद्र महिनाको कृष्णपक्षको प्रतिपदा अर्थात, जनैपूर्णिमाको भोलिपल्टदेखि विशेषतः काठमाडौं उपत्यकामा मनाइन्छ । सुरुमा काठमाडौं उपत्यकामा मात्र गाईजात्रा मनाउने गरिएतापनि पछिल्लो समय नेवार समूदाय रहेका देशका बिभिन्न जिल्ला तथा सहरबजारमा पनि गाईजात्रा मनाउन थालिएको ।
गाईजात्राको मूल सार मृतक आत्माको स्मरण, मृत्युजस्तो गम्भीर विषयलाई हास्य– व्यंग्यको माध्यमबाट सहज बनाउने र समाजमा सहिष्णुता तथा खुलापनको वातावरण सिर्जना गर्नु हो । गाईजात्राको ऐतिहासिक पृष्ठभूमि केलाउँदा मल्लकालीन समयमा पुग्नुपर्छ । काठमाडौंका राजा प्रताप मल्लकी प्रिय रानीको एक मात्र छोरा अकालमा मृत्यु भयो । छोराको शोकमा रानी अत्यन्त दुःखी भइन् र लामो समयसम्म उनी पीडाबाट मुक्त हुन सकिनन् । रानीलाई सान्त्वना दिनका लागि राजा प्रताप मल्लले काठमाडौंमा यस्ता परिवारलाई आफ्नो दिवंगत सदस्यको सम्झनामा सार्वजनिक रुपमा निकाल्न आह्वान गरे, जसका घरमा गत वर्षको अवधिमा कसैको मृत्यु भएको थियो । राजाले आदेश गरे अनुसार मानिसहरूले गाई वा गाईजस्तै भेषमा सिँगारी झाँकी निकाल्न थाले ।
गाईलाई हिन्दू धर्ममा मृतात्मालाई स्वर्गमा पु¥याउने प्रतीक मानिने भएकाले मृतकको आत्माको शान्तिका लागि यो प्रथा सुरु गरिएको हो । गाईजात्रा केवल शोक मनाउने पर्व मात्र नभएर समाजमा हास्य, व्यंग्य र स्वतन्त्र अभिव्यक्तिको माध्यम पनि हो । राजा प्रताप मल्लले यो पर्वमा जनतालाई खुला रुपमा आफ्ना विचार, आलोचना र व्यंग्य प्रस्तुत गर्ने अवसर दिन थाले । यसरी, गाईजात्रा केवल धार्मिक वा सांस्कृतिक मात्र नभई स्वतन्त्र अभिव्यक्ति र सामाजिक आलोचनाको ऐतिहासिक माध्यम पनि बन्यो । यस परम्पराले नेपालमा व्यंग्यात्मक साहित्य, गीत, नाच र नाटकको विकासमा ठूलो योगदान दिएको छ । गाईजात्रामा सहभागीहरुले मृतकको सम्झनामा गाई, रंगीबिरंगी पोशाक, मुखुण्डो, र विभिन्न हास्यप्रद भेषमा सजिन्छन् । समूहले सडकमा नाचगान, व्यंग्यात्मक गीत र नाटक प्रस्तुत गर्छन् । यस क्रममा राजनीति, सामाजिक विकृति, आर्थिक असमानता र अन्य संवेदनशील विषयमाथि पनि खुला रुपमा टिप्पणी गरिन्छ । यसले समाजमा अभिव्यक्तिको स्वतन्त्रतालाई प्रोत्साहन गर्ने मात्र होइन, जनचेतनाको स्तर पनि उकास्ने काम गर्छ । धार्मिक दृष्टिले गाईजात्राले मृत आत्मालाई स्वर्गमा पुर्याउने विश्वास राखिन्छ ।
हिन्दू धर्मअनुसार, गाई पवित्र जनावर हो र मृत आत्मालाई वैकुण्ठ पु¥याउने मार्गदर्शक मानिन्छ । गाईजात्रामा गाईको उपस्थितिले यो धार्मिक पक्षलाई अझ बलियो बनाउँछ । समाजिक दृष्टिले पनि गाईजात्राको महत्व गहिरो छ । यो पर्वले दुःख र शोकलाई सामूहिक रूपमा बाँड्ने अवसर दिन्छ । जब समान पीडामा रहेका परिवारहरु एउटै कार्यक्रममा सहभागी हुन्छन्, उनीहरुलाई भावनात्मक रूपमा बल मिल्छ । यसले समाजमा सहानुभूति र एकता बढाउँछ । आजको समयमा पनि गाईजात्रा काठमाडौं उपत्यकामा मात्र सीमित छैन । भक्तपुर, ललितपुर लगायतका सहरहरुमा पनि यसलाई उत्तिकै उत्साहका साथ मनाइन्छ । केही स्थानमा गाईजात्रा सप्ताहभरि वा अझ बढी दिनसम्म पनि मनाइन्छ, जसमा विविध सांस्कृतिक कार्यक्रम, हास्यव्यंग्य प्रतियोगिता र झाँकी प्रदर्शन गरिन्छ ।
यसरी हेर्दा, गाईजात्रा केवल एउटा धार्मिक पर्व मात्र नभई ऐतिहासिक, सांस्कृतिक, सामाजिक र साहित्यिक दृष्टिले गहिरो महत्व बोकेको पर्व हो । यो पर्वले मृतक आत्माको मोक्षको कामना गर्नुका साथै समाजमा खुलापन, सहिष्णुता, हास्य र एकताको भावना फैलाउँछ । नेपालजस्तो बहुजातीय र बहुसांस्कृतिक समाजमा गाईजात्राले आपसी सद्भाव र सहानुभूतिलाई मजबुत बनाउने ऐतिहासिक र वर्तमान महत्व राख्छ ।