काठमाण्डौं, २० साउन । बबई नदीका कारण दाङ र बर्दियामा बाढीको उच्च जोखिम छ । बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बबई नदीमा जलसतह ७ दशमलव १ मिटर पुगेको छ । बबई नदीमा ५ दशमलव ५ मिटरलाई चेतावनीको तह र ६ दशमलव ८ मिटरलाई खतराको तह मानिन्छ ।
खतराको तह पार गरेकाले बबई नदी किनार र होचा भागमा उच्च सतर्कताका अपनाउन आग्रह गरिएको छ । विभागका बाढीविद् विनोद पराजुलीले जिल्ला प्रशासन, पालिका र नागरिकलाई पूर्वसूचना दिएर सचेत रहन सन्देश पठाइएको जानकारी दिए ।
दाङका राप्ती तथा बबई नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा नै रहेकाले जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ । सम्भावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित ठाउँमा सर्नुपर्ने अवस्था आइपर्न सक्ने भन्दै प्रशासनले तत्काल पूर्वतयारी गर्न आह्वानसमेत गरेको छ ।
बबईसँगै महाकाली नदीको जलसतह पनि खतराको तहमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आज बिहान महाकालीमा पानीको सतह १ लाख २४ हजार क्युसेक पुगेको हो । महाकाली नदीमा पानीको सतह १ लाख क्युसेक पुगेपछि खतरा मानिन्छ ।
आज दाङ, बाँके, बर्दिया, चितवन, कैलाली, कञ्चनपुर, काभ्रे, मकवानपुरसहित आसपासका जिल्लामा बहने नदीको जलसतह बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।