मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सम्पादकीय : गुणकारी र स्वास्थ्यवर्धक कोदो

आइतबार, साउन १८ २०८२

रैथाने बाली कोदो निकै पौष्टिक र गुणकारी अन्न हो । पहिला पहिला कोदोलाई मानिसहरु निकै हेला गर्थे । यो गरिवहरुले खाने अन्नका रुपमा परिचित थियो । जसले कोदोको खोती गर्छ, जसले कोदोको ढिँडो वा रोटी खान्छ उसलाई हेपेर कोदे भन्ने चलन पनि नेपालका केही गाउँ–ठाउँमा व्याप्त थियो । त्यसो त कोदो रोप्न अन्य बाली जस्तो धेरै मिहिनेत पनि गर्नु पर्देन । यो सुख्खा ठाउँमा पनि राम्रोसँग खेती हुन्छ । कोदो साउनमा महिनामा रोप्ने गरिन्छ । यसको खेती नेपालको अधिकाँश पहाडी भूभागमा हुने गर्दछ । हिजोआज कोदोको परिकार खान मानिसहरु महंगा रिसोर्ट र रेष्टुराँहरुमा जाने गर्छन् । विशेषगरी कोदोको ढिँडो, रोटी, मःम लगायतका परिकारहरु सहरबजारका रेष्टुराँहरुमा मन पराइएका मेन्यु हुन् । कोदोबाट बनेको रक्सी त नेपालीहरुको मन पर्ने ब्राण्ड नै भइहाल्यो ।

यसै सन्दर्भमा गुणकारी एवम स्वास्थ्यवद्र्धक कोदोको महत्त्व बढाउन सरकारले १६ साउन लाई ‘राष्ट्रिय कोदो दिवस’ मनाउने निर्णयसमेत गरेको छ । यस वर्ष ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासाथ दिवस मनाउन लागिएको छ । लोपोन्मुख अवस्थामा रहेको रैथाने बाली कोदोको उत्पादन पछिल्लो समय घटदै गएको छ । तर, यसको महत्त्व भने दिनानुदिन बढ्दै गएको छ । त्यही भएर सरकारले पनि यसलाई दिवसकै रूपमा मनाउने निर्णय गरेको छ ।

पहिला कोदो खेती गाउँघरमा अर्मपर्म गरेर रोप्ने प्रचलन थियो । त्यसले गर्दा लागतको कुनै हिसाब हुँदैनथ्यो । तर, हाल खेताला लगाएर काम गर्दा लागत बढी हुने गरेको छ । त्यसैले पनि यस खेतीमा चासो कम हुँदै गएको छ । भनेको समयमा खेताला नपाइनु र लागत बढी लाग्दा धेरैले कोदो खेतीको विकल्प खोजेका छन् । कोदो खेती हुने ठाउँमा धेरैले अचेल सुन्तला, कागती, जुनार, कफी, र तरकारी खेती गर्न थालेका छन् । परम्परागत शैली र परम्परागत बालीले किसानको जीवनस्तर नउकासिने भएकाले पनि किसानहरु कोदो खोतीतर्फ आकर्षित हुन सकिरहेका छैनन् । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्त्वपूर्ण खाद्यान्न बाली हो ।

तर हिजोआज बजारमा कोदोको माग बढिरहेको छ । सहरीया जीवनशैलीले मानिसहरु अस्वस्थ हुने, खाना अपच हुने, ग्यास्टिकको समस्या हुने, मधुमेह, उच्च रक्तचाप हुने जस्ता रोगहरु सहरीया जीवन व्यतित गर्नेहरुहरुलाई देखिन थालेपछि उनीहरु कोदो बालिप्रति आकर्षित हुन थालेका हुन् । मन्त्री र नेताको भान्सामा पनि अचेल कोदेका परिकारहरु पाक्न थालेका छन् । यसले गर्दा पनि कोदोको माग दिनप्रतिदिन बढ्न थालेको छ ।

तर राज्यले कोदो उत्पादन बढाउने ठोस खालका योजना ल्याएको पाइँदैन । कोदो उत्पादन वर्षेनि घट्दै गएको छ । देशका जिल्लाहरुमा प्रत्येक वर्ष कोदो खेतीको क्षेत्रफल घटिरहेको छ । बीउ छर्ने बेला पानी नपरी खडेरी पर्नु, बीउ कम उम्रनु साथै कोदो रोग ९छिर्केमिर्के० देखिनुले उत्पादन कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जंगली जनावरले पनि किसानलाई निकै समस्या दिने गरेको किसानहरुको गुनासो छ ।

कोदो खेती असार र साउनमा मकै बारीभित्र रोप्ने गरिन्छ । यो खेती कात्तिक अन्तिम सातादेखि मंसिर अन्तिमसम्म भित्र्याउने गरिन्छ । परम्परागत रूपमा खासगरी ढिँडो, रोटी र रक्सीमा प्रयोग हुने कोदो ग्रामीण भेगमा भने कडा परिश्रम गर्ने श्रमजीवीको पहिलो रोजाइको खाना हो । तसर्थ कोदो खेतीलाई प्रविधिमैत्री बनाएर कम लागतमा बढी उत्पादन गर्नेतर्फ देशका पालिकाहरुको चासो जान जरुरी छ । त्यसका लागि पालिकाहरुले कोदो रोप्ने मेसिन, बारी खन्ने मेसिन, सिंचाईको व्यवस्था र कोदोको बजारीकरणमा सघाउन जरुरी छ । संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरे अनुरूप नेपालले १७ पुस २०७९ मा कार्यक्रम सुरु गरेको थियो । गाउँ र सहरबीच जोड्ने कोदो र अरू रैथाने बाली संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्दै उपभोक्ताबीच पुर्‍याउनु आजको मुख्य जिम्मेवारी एवं आवश्यकता रहेको छ । लामो समयसम्म नकुहिने र नबिग्रिने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्त्वपूर्ण छ । पोषण र स्वास्थ्यका हिसाबले लाभकारी कोदो प्रतिकूल र परिवर्तनशील मौसमी परिस्थितिमा पनि खेतीका लागि उपयुक्त बाली हो । तसर्थ कोदोलाई हेला होइन, मायाँ गरौँ । कोदोबाट बनेका परिकार खाऔँ, स्वस्थ बनौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार