आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सम्पादकीय : साउन १५ र खीर खाने संस्कृति

शुक्रबार, साउन १६ २०८२

हाम्रा सांस्कृतिक परम्पराहरु धेरै छन् । संस्कृतिमा नेपाल निधै धनी देश हो । हामी बिभिन्न चाड पर्वका अवसरमा मौसम अनुसारका बिभिन्न खानेकुराहरु खाने गर्छौँ । असार पन्ध्रमा दही चिउरा खाएका हामीले माघे सङ्क्रान्तिमा घिऊ, चाकु र तरुल खान्छौँ । तिहारमा सेलरोटी र मिठाइका परिकारहरु खाने नेपालीहरु दसैँमा मासु खाने गर्छौँ । तिजमा दर र जनैपूर्णीमाको दिन क्वाँटी खाने हाम्रो सांस्कृतिक परम्परा रहिआएको छ । त्यसै अनुरुप साउन १५ गते खीर खाने प्रचलन रहिआएको छ । बिहीबार खीर खाने दिवस मनाइएको छ ।

साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकार तथा संस्कृतिविद्हरु बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद्हरुले बताएका छन् । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलको हुनसक्छ । त्यसोत खीर स्वास्थ्यका हिसाबले पनि उत्तम मानिन्छ ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्छ । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात, खीर बनाएर खुवाउने चलन अझै कायमै छ ।

चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । नेपालको ग्रामिण भेगमा गाई, भैँसी पाल्ने चलन पहिल्यैदेखिको हो । गाई, भैँसीको दुधबाट बनेको खीर बालबालिका, बृद्धबृद्धा, युवा सबैलाई हित गर्ने हुन्छ । घरमा पाहुँना आउँदा पनि गाउँघरमा खीर खुवाउने प्रचलन रहिआएको छ । गाउँ घरमा चाडपर्वका बेला खाने मिठो मसिनो भनेकै खीर हो । नेपाल कृषि प्रधान देश भएकाले पनि अधिकाँश ग्रामिण भेगका नेपालीहरुको घरमा वर्षैभरी गोरस हुुने गर्छ । अचेल मानिसहरु सहरबजारमा धेरै बसोबास गर्छन् । घर गोठमा दुहुनो गाई, भैँसी नहुनेहरुले पनि असार १५ मा डेरीबाट दुध खरिद गरेर खीर खाने प्रचलन अझै पनि बिद्यमान छ ।

अतः हामीले हाम्रा रितिरिवाज, परम्परा, संस्कार र संस्कृति जगेर्ना गर्नुपर्छ । संस्कृति मनाउने नाममा फजूल खर्च भने गर्नु हुँदैन । घाँटी हेरेर हाड निल्नुपर्छ, आफ्नो गच्छे अनुुसार खर्च गर्नुपर्छ, अरुको देखासिकी गरेर पर्वहरु मनाउनु हुँदैन । यस्ता पर्वहरुले सबै नेपालीहरुबीच एकता र भाइचाराको सन्देश दिने भएकाले पम्परालाई हामीले बचाइराख्नु पर्छ । साउन १५ खीर भोजन गर्ने दिन मात्र नभई सांस्कृतिक पर्व पनि भएकाले यसको जगेर्ना गर्नु हामी सबैको दायीत्व हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार