मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सम्पादकीय : विद्याको आगमनले ल्याएको राजनीतिक हलचल

आइतबार, असार २९ २०८२

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को राजनीतिमा आउँने भएपछि यतिबेला नेपालको राष्ट्रिय राजनीति तरंगीत बनेको छ । यसले सत्ताको बाघडोर सम्हालेको एमालेमा मात्र होइन, सत्ताको अर्को सहयात्री दल नेपाली कांग्रेसमा पनि तरंग उत्पन्न गरेको छ । नेकपा (समाजवादी)मा पनि विद्याको विषयले हलचल ल्याएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)मा पनि उत्तिकै तरंग सिर्जना गरेको छ ।

चीन भ्रमणबाट शनिबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालले विमानस्थलबाटै विद्या भण्डारी एमालेको नेतृत्व सम्हाल्नेगरी राजनीतिमा फर्किन हो भने यो विषय निकै राम्रो भएको जनाएका छन् । विद्याले एमालेको अध्यक्ष बनेर नेपालका वापन्थीहरुसँग एकताको पहलकदमी गर्ने हो भने यो विषयलाई आफूले निकै सकारात्मक रुपमा लिएको खनालको भनाई छ ।

उता केही दिनअघि विद्या भण्डारीको निवासमा पुगेर नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी एकताका विषयमा गरेको भनिएको छलफलले पनि निकै चर्चा, परिचार्चा र विवाद उत्पन्न गरेको छ । समाचार श्र्रोतहरुले विद्या र नारायणकाजी श्रेष्ठबीच छलफल भएको दाबी गरिरहेका छन् भने नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नी सापकोटाले विज्ञप्ति जारी गर्दै उनीहरुबीच भेटघाट नभएको जनाएका छन् ।

विद्या भण्डारीले एमालेको राजनीतिमा फर्किने भन्दै सरकारले उपलब्ध गराएको सबै सरकारी सेवा सुविधा फिर्ताको घोषणा गरिसकेकी छिन् भने भर्खरै एक राष्ट्रिय टेलिभिजनको अन्तर्वार्तामा आफू एमालेको अध्यक्ष बन्न चाहेको बताएकी छिन् । एमालेको राजनीतिमा विद्याको पुनः इन्ट्री हुने भएपछि एमालेका नेताभित्र पनि कित्ताकाट सुरु भएको । एमालेको बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विद्याको कित्तामा खुलेर लागेका छन् भने महासचिव शंकर पोखरेल अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलममुल्ला मैदानमा उत्रिएका छन् । एमालेको पार्टी विधानले ७० वर्षे उमेर हद तोकेको हुनाले यो लागू हुनुपर्ने ईश्वर पोखरेल समूह छ भने पार्टी नेतृत्वको बहस गर्ने बेला नभएको भन्दै यो बहस रोक्न शंकर पोखरेलले सार्वजनिक रुपमै उर्दी जारी गरेका छन् ।

लगातार दोस्रो पटक एमाले अध्यक्ष बनेका केपी शर्मा ओलीको उमेर ७० वर्ष कटिसकेको छ । विधानमा उल्लेख गरिएको उमेर हद लागू भएमा केपी शर्मा ओली पुनः एमालको अध्यक्ष बन्न पाउने छैनन् । एमालेका तत्कालिन महासचिव मदन भण्डारीको जनताको बहुदलिय जनवाद (जबज)को सिद्धान्तमा नै अहिले नेकपा (एमाले) हिँडिरहेकाले सोही सिद्धान्तका प्रतिपादक मदन कुमार भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी नै एमालेको अध्यक्ष हुने हो भने यो सिद्धान्त अझ व्यवहारमा लागू हुने थियो भन्ने अधिकाँश एमालेजनको तर्क छ । त्यही भएर नै मदन भण्डारीको जन्मयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा आफू एमालेकै सकृय राजनीतिमा फर्किएको घोषणा गर्दै विद्याले भनेकी थिइन्, ‘मदनको नीति, विद्याको नेतृत्व ।’

प्रतिक्रिया
सम्बन्धित समाचार