मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

रसुवाको जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारलाई सेनाले गर्यो उद्धार

मंगलबार, असार २४ २०८२

रसुवा, २४ असार । गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढी क्षेत्रमा आएको भीषण बाढीपछि जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबिचको समन्वयमा बाढीको जोखिममा फसेका कामदारहरूको उद्धार कार्य सफल भएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उद्धारका लागि सेनाको एनए–०३८ एमआई र इकुरेल नामक दुई वटा हेलिकोप्टर परिचालन गरिएका थिए।

उद्धार गरिएकाहरूमा एक जना चिनियाँ नागरिक, १५ जना पुरुष र २ जना महिला नेपाली छन्। उनीहरू रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइडमा कार्यरत थिए। बाढीका कारण उनीहरू सम्पर्कविहीन अवस्थामा फसेका थिए।

बाढीको स्रोत चीनको लेन्डे खोला हुँदै आएको पानी भोटेकोशी हुँदै नेपाल प्रवेश गर्दा आयोजना स्थल डुबानमा परेको थियो। बाढीबाट प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।

धादिङको नम्बर–६, बाहिनी अड्डाबाट सैनिक टोली गल्छी हुँदै त्रिशूली तर्फ, र रसुवाको श्रीनाथ गणबाट अर्को टोली स्याफ्रुबेँसी इलाकातर्फ परिचालन गरिएको सैनिक स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार हालसम्म ५० जनालाई उद्धार गरिएको छ। उनले भने, “अन्य सुरक्षा निकायहरूसँग समन्वयमा थप उद्धार कार्य भइरहेको छ।”

रसुवामा आएको यो बाढीका कारण करोडौंको क्षति भएको अनुमान छ भने, नेपाल–चीन सिमानामा रहेको मितेरी पुल पूर्णरूपमा बगिसकेको छ। उद्धारका साथै हराइरहेका व्यक्तिहरूको खोजी कार्य पनि जारी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार