इमरान खान
कपिलवस्तु, २३ असार । कपिलवस्तुमा हिन्दु र मुस्लिम समुदायले संयुक्त रुपमा मोहर्रम पर्व धुमधामकासाथ मनाएका छन् । मुस्लिम समुदायहरुको तेस्रो महान पर्व मुहर्रम कपिलवस्तुमा आइतबार मुस्लिम र हिन्दु समुदायका मानिसहरुले एक आपसमा भाइचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दैसंयुक्त रुपमा मनाएका हुन् । मोहर्रम पर्व तराईका हिन्दु समुदायहरुको आस्था बढ्दै जाँदा कपिलवस्तुमा यो पर्व धार्मिक सद्भावको अनुपम उदाहरण बनेको छ ।
मुस्लिमहरूले आफ्ना धर्मगुरु हजरते इमामे हुसैनको बलिदानको सम्झनामा शोक (मातम) का रूपमा मनाउने गर्दछन् । यो पर्वलाई हिन्दुहरूले भने पारिवारिक सुख, समृद्धि र मनोकामना पूरा हुने विश्वासकासाथ मनाउो गरेका छन् । मुस्लिमहरुले विशेष नमाज पाठ, ब्रत (रोजा) बसेर यो मनाउने गरेका छन् । देशमा स्थायी शान्तिका लागि उनीहरुले कामनासमेत गरेका छन् । जिल्लाका सयभन्दा बढी स्थानमा लाग्ने करबला (चिहान वा युद्धको मैदान) मा मेला र तहाजिया सेलाउन हजारौं श्रद्धालु भक्तजनहरू उपस्थित थिए ।
इस्लामिक नयाँ वर्ष (हिजरी संबत) सुरु भएपछि एक महिना अघिदेखि नै जिल्लाको दक्षिणी भेगका हिन्दु, मधेसी र थारु समुदायका गाउँघरमा मुहर्रमको रौनक छाएको थियो ।
हिन्दु समुदायले भाकल गरेर घरमा हुसैनको प्रतीक स्वरूप कागज र बाँसबाट बनेको ‘ताहजिया’ स्थापना गरी पूजाअर्चना गर्छन । यसो गर्नाले पारिवारिक सुख, शान्ति र बिग्रेको कामसमेत बन्ने उनीहरूको विश्वास रहेको छ।
यशोधरा गाउँपालिका पोखरभिटवाका श्याम कुमार यादवले १० वर्षदेखि मुहर्रम पर्व मनाउँदै आएको सुनाए । ‘पाँच वर्षअघि नै मैंले मागेको मनोकामना पूरा भएकोले गर्दा मोहर्रम पर्वप्रति एकदमै आस्था बढेको छ । यो पर्व मनाउँदा पारिवारिक सुख मिल्छ’ उनले भने। उनले मुस्लिम दाजुभाइहरूसँगै यो पर्व मनाउन पाउँदा निकै खुशी लागेको बताए ।
त्यसैगरी, कपिलवस्तु जिल्ला भरेहाडका राजेश ठाकुर र कपिलवस्तु तिलौराकोटकी शकुन्तला थारुले पनि आफ्ना बाबुबाजेको पालादेखि नै यो पर्व मनाउँदै आएको र यसबाट फलिफाप भएकाले निरन्तरता दिएको बताए।
मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा दुवै समुदायले सामूहिक रूपमा यो पर्व मनाउँदा आपसी भाइचारा र सद्भाव बढेको हिन्दु तथा मुस्लिम समुदायका बुढापाखाहरुले बताउँछन ।

जिल्लाको १० वटै पालिकामा रहेको कर्बलामा तहजियालाई सेलाइएको थियो । भाकल गरी तहजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोकामना पूरा हुने गरेको भक्तजनहरु बताउछन् । यो पर्व श्रद्धापूर्वक मनाउनाले पारिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक जनविश्वास छ ।
यसैबिच कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको घर-घरमा राखिएको तहाजियालाई तौलिहवा बजार परिक्रमा गरी कपिलवस्तु तौलिहवाको कर्बलामा सेलाइएको छ । सो अवसरमा मुस्लिम समुदायहरुले जिल्ला प्रसासन कार्यालय, तौलिहवाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जिल्ला प्रहरी प्रमुख निरन्जन दत्त भट्ट तथा सशस्त्र प्रहरी जिल्ला प्रमुख लगायतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय भित्र गएर अली र हुसैनको नारा लगाउँदै लाठी, तलवार नचाएर साहसिक प्रदर्शन समेत गरेका थिए । प्रदर्शन गरि देखाए बापत प्रमुख जिल्ला अधिकारीले इनाम दिएका थिए ।
त्यस अवसरमा मुस्लिम समुदायहरुले खीर, बिरयानी लगायतका प्रकार वितरण गरेका थिए ।
चौध सय वर्ष पहिले इमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफू सहित ७२ जनाको पुरै परिवारले प्राणको आहुती दिएको सम्झना स्वरूप मुहर्रम पर्व मनाउदै आएको मुस्लिम धर्म गुरुहरुले बताउँछन् ।
अरब देशको क्यालेण्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ। इस्लामिक नयाँ वर्ष हिजरी सम्वत १ देखि १० तारिख (१० दिन सम्म) यो पर्व मनाउने गरिन्छ । मुहर्रमको १० औँ तारिखलाई आसुरा भनिने र मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन छ ।