बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

सफाइपछि फर्किए राजेशमान, वीरगञ्जको राजनीतिमा फेरि सक्रिय

बुधबार, भाद्र ३१ २०८३

रौतहट, ३१ भदौ। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह बुधबार पुन: कार्यकक्षमा फर्किएका छन् ।

केही समययता अदालतको मुद्दाका कारण उनको पदलाई लिएर देखिएको अन्योल अन्त्य भएसँगै सिंहले औपचारिक रूपमा महानगरको नेतृत्व सम्हालेका हुन् ।
बुधबार बिहान करिब १० बजे निवासमा पूजाआजा गरेपछि सिंह समर्थकसहित महानगरपालिका कार्यालय पुगे । महानगर परिसरमा समर्थकहरूको बाक्लो उपस्थिति थियो ।

कार्यालय पुगेपछि सिंहले आफ्ना गुरुको तस्बिरमा माल्यार्पण गर्दै पूजा गरे । त्यसपछि उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका थिए। पदभार ग्रहणका क्रममा पूर्वमन्त्री प्रदीप यादव पनि सिंहसँगै महानगर कार्यालय पुगेका थिए ।

सिंहको पुनरागमन केवल एउटा प्रशासनिक प्रक्रिया मात्र नभई वीरगञ्जको स्थानीय राजनीतिमा पनि अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ । अदालतको फैसलापछि पदमा फर्किएका सिंहले अब आफ्नो कार्यकाललाई कसरी अघि बढाउँछन् भन्ने विषय चासोको बनेको छ ।

मुद्दाका कारण नेतृत्वमाथि उत्पन्न भएको राजनीतिक तथा सार्वजनिक बहसबीच सिंह पुन: महानगरको नेतृत्वमा फर्किएका हुन् । पदभार ग्रहणका क्रममा देखिएको समर्थकहरूको उपस्थितिले उनको राजनीतिक आधार अझै सक्रिय रहेको संकेत गरेको छ । यद्यपि अबको परीक्षा समर्थकको भीडभन्दा पनि महानगरको दैनिक सेवा प्रवाह र विकासका काममा देखिने परिणामबाट हुनेछ ।

वीरगञ्ज प्रदेशकै प्रमुख आर्थिक तथा व्यापारिक केन्द्र भएकाले यहाँको महानगर नेतृत्वको निर्णयले स्थानीय राजनीतिसँगै आर्थिक गतिविधिमा समेत प्रभाव पार्ने गर्छ । त्यसैले पुन: पदभार सम्हालेका सिंहमाथि महानगरका अधुरा योजना अघि बढाउने, प्रशासनिक कामलाई गति दिने र विगतमा उठेका विवादहरूलाई व्यवस्थापन गर्ने चुनौती छ ।

विशेष अदालतको फैसलाबाट कानुनी रूपमा राहत पाएपछि सिंहका लागि अब विगतको विवादभन्दा अगाडि बढेर आफ्नो कार्यकालको बाँकी समयलाई कसरी उपयोग गर्ने भन्ने प्रश्न प्रमुख बनेको छ ।

उनको पुनरागमनसँगै वीरगञ्ज महानगरको नेतृत्वमा देखिएको अन्योल हटेको छ भने स्थानीय राजनीतिक वृत्तमा सिंहको आगामी भूमिकालाई लिएर नयाँ बहस सुरु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार