बागलुङ, १८ असार । जिल्लामा पाँच महिनाको अवधिमा ३४ जनाले आत्महत्या गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि अमृत बास्कुनेले मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको तथ्याङ्क सार्वजनिक गरेपछि झस्किएका सरोकारवालाहरुले आत्महत्या न्यूनीकरणका लागि सहकार्यको आवश्यकता औंल्याए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तिलक भारतीका अनुसार, आर्थिक वर्ष २०८१/८२ को साउन १ गतेदेखि जेठ मसान्तसम्ममा ४९ जनाले आत्महत्या गरेकोमा पछिल्लो छ महिनामै ३४ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा ५४ जना, २०८०/८१ मा ६० जनाले आत्महत्या गरेका थिए । चालु आर्थिक वर्षमा जिल्लामा १९ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् ।
इन्सेक वर्ष पुस्तक समीक्षा कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले विगतको अवस्था हेर्दा जिल्लामा बालबिबाह र लागुपदार्थको बढी प्रयोग तथा आत्महत्याका घटनाहरु बढेको गरेको बताए। इन्सेकले मानवअधिकारको क्षेत्रमा उठाएका सवालले राज्यको निकायलाई चनाखो हुन बाध्य पारेको थापाको भनाइ छ ।
‘‘आत्महत्याको दर बढी देखिए पनि किन आत्महत्या हुन्छ र यसलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ सचेत हुँदै मनोपरामर्शको सल्लाह अनुरुप योजना बनाउन ढिला गर्नुहुँदैन’’ थापाले भने ।
‘‘आत्महत्याको दर बढी देखिए पनि किन आत्महत्या हुन्छ र यसलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ सचेत हुँदै मनोपरामर्शको सल्लाह अनुरुप योजना बनाउन ढिला गर्नुहुँदैन’’ थापाले भने । बालबालिकालाई अभावको अनुभव नै नहुने भएकाले अभाव सृजना नगराउँदाको परिणाम आत्महत्या जस्ता अप्रिय घटनाहरु हुने गरेको उनको धारणा थियो । आत्महत्या बढ्नुका कारण बिलासिता बढ्ने, बाबुआमासँग टाढा रहने, आवश्यकताको परिपूर्ति सहज तरिकाले हुनु पनि कारण रहेको थापाले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले आत्महत्यालाई न्यूनीकरण सबैको साझा सरोकार बन्नुभपर्ने बताए । सन्तुलित जीवन भयो भने यस्ता घटनाहरु कम हुदै जाने भएकाले जिल्ला समन्वयको अगुवाइमा योजना बनाएरै आत्महत्या निरुत्साहनका लागि प्रयास गर्नेतर्फ सचेत हुनुपर्ने प्रजिअ गुरुङको भनाइ छ ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य अधिकृत समिता घिमिरेले जीवन जिउनका लागि प्रयास गराउनेतर्फ सचेत गराउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाले राज्यपक्षबाट मानवअधिकार उल्लङ्घन हुन्छ भनिन्छ तर यो जिल्लामा त्यस्तो नसुनिएको अवस्थालाई यथावर राख्दै घटनाहरु शून्य बनाउन सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
जेलर धीरेन्द्रराज पन्तले कारागारमा पुरुष एक सय २२ थुनुवा तथा ६७ कैदी एवम् महिला आठ कैदी र पाँच थुनुवा गरी कुल एक सय ३० कैदी र ५२ थुनुवा रहेको बताए। कारागारमा दुई जना नाबालक आश्रित रहेको उनको भनाइ थियो । बागलुङमा बलात्कारजन्य आठ, घरेलु हिंसाका दस र कुटपिटपछि हत्याको एक घटना इन्सेकले अभिलेख गरेको छ ।