काठमाडौं, १७ असार । नेकपा (एमाले) का सांसद पदम गिरीले कुलिङ पिरियडमा भएको शब्दको चलखेलबारे जिम्मेवार व्यक्तिहरूले राजीनामा दिनुपर्ने बताएका छन्।
मंगलवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको छलफलपछि सांसद गिरीले निष्कर्षमा पुगिसकेपछि सहमति भएको ऐन जस्ताको त्यस्तै संसदमा गएर पेश हुनुपर्ने बताए।
उनले षड्यन्त्रपूर्वक सहमति भन्दा बाहिर गएर शब्दमा चलखेल गरिएको भन्दै आपत्ति जनाए। उनले यसको छानबिन हुने र टुंगो नलागेसम्म राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अघि बढ्न नसक्ने बताए। यस कार्यमा संलग्नहरूले जिम्मेवार भएर नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए।
सरकारले फागुन २०८० मा संसद्मा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कूटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो । यो प्रबन्धले संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन।
सरकारीबाहेक निजी तथा गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो । समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको छ।