काठमाडौं, ३० जेठ । मधेशकेन्द्रित विभिन्न राजनीतिक दलहरू मिलेर बनाएको मोर्चाको बैठक बस्दै छ । आज दिउँसो तीन बजे राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टीको कार्यालयमा बैठक बस्न लागेको हो ।
हृदेयश त्रिपाठीको पहलमा बनेको मोर्चामा मधेशकेन्द्रित दलहरू जसपा, लोसपा, जनमत, राष्ट्रिय मुक्ति पार्टी, तमलोपालगायत छन् । उनीहरूले संविधान संशोधनलाई केन्द्रित गरेर संघीय लोकतान्त्रिक मोर्चा बनाएका हुन् । त्यसलाई मधेशको राजनीतिभन्दा बाहिर निकाल्ने प्रयासका लागि उनीहरू छलफलमा जुटेका छन् ।
आजको बैठकमा मोर्चाले आदिवासी जनजजाति र मधेशीबीच सहकार्य गर्ने सम्बन्धमा छलफल गर्दै छन् । मधेशकेन्द्रित दल र आदिवासी जनजातिलाई एकै मोर्चामा ल्याएर आन्दोलन गर्ने उनीहरूको तयारी छ । त्यसैकारण, पाथिभरा क्षेत्रमा बन्न लागेको केवुलकारको विरोधमा देखिएका स्थानीय जनजातिलाई साथ दिन राजेन्द्र महतो पाथिभरा क्षेत्रमा नै गएका थिए ।
त्यसैगरी, आजको बैठकमा भिजिट भिसा प्रकरणमा पनि मोर्चाले छलफल गर्नेछ । अध्यक्षहरूलाई पठाएको एजेण्डामध्ये तेस्रो एजेण्डा भिजिट भिसासम्बन्धमा रहेको छ ।