सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिए, लामो दूरीका सवारीसाधन ठप्प

आइतबार, जेष्ठ १८ २०८२

कैलाली, १८ जेठ । सुदूरपश्चिम प्रदेशमा रहेका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले आइतबारदेखि लामो दूरीका सवारीसाधन ठप्प पारेका छन् ।

यसैगरी व्यवसायीहरुले जेठ १९ गते अर्थात् सोमबारदेखि सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प पार्ने घोषणा समेत गरेका छन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले यातायात व्यवसायीहरुले आज कालो पट्टी र सवारीसाधनमा कालो झण्डा लगाउने बताए।

उनले निजि सवारी साधनले सार्वजनिक सवारी साधन सरह सञ्चालन गर्न पाउने व्यवस्थाको आफूहरुले विरोध गरेको बताउँदै सार्वजनिक सवारी साधन सञ्चालनको विधि र आयातलगायतका विषयमा प्रदेश सरकारको ठोस नीति के हो? भन्ने प्रश्न गरे।

गण्डगी प्रदेश सरकारले ल्याएको ऐन खारेज गर्नुपर्ने तथा विगतमा यातायात व्यवसायीसँग सरकारले गरेका सहमति, सम्झौताहरु कार्यान्वयन हुनुपर्ने माग आफूहरुको रहेको संयोजक जोशीको भनाइ छ ।

माग पूरा नभए सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्ने यातायात व्यवसायीहरुले घोषणा गरेका छन् । राज्यलाई लाखौँ रुपियाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई राज्यले धरासायी बनाउन खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार