आलोक यादव
सिराहा कार्तिक –सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका–४ स्थित ठाढीबाट सशस्त्र प्रहरी बलले जाँचका क्रममा भन्सार म्याद गुज्रिएको भारतीय नम्बर प्लेटको स्कार्पियो नियन्त्रणमा लिई भन्सारलाई बुझाएको छ ।ठाढीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्टको जाँचमा एचआर ५५ एच ५०२४ नम्बरको भारतीय नम्बर प्लेटको स्कार्पियो नियन्त्रणमा लिई ठाढी भन्सारलाई बुझाइएको सशस्त्र प्रहरी निरीक्षक जीवन खतिवडाले जानकारी दिए । ‘स्कार्पियोको चेकजाँच गर्दागर्दै पिसाब फेर्ने निहुँले झरेका चालक भने भाग्न सफल भए,’ उनले भने, ‘न्यूनतम् १३ लाख रुपैयाँ मूल्यांकन गरी भन्सारमा बुझाएको छौँ ।’

ठाढी भन्सार प्रमुख नरेश साहका अनुसार सशस्त्र प्रहरीले बुझाएको स्कार्पियो भन्सारको म्याद गुज्रेको तीन दिन भएकाले लिलामीको प्रक्रियामा लगिने बताए । त्यसअघि सशस्त्र प्रहरीको लहानस्थित सुरक्षा बेस क्याम्पले नियन्त्रणमा लिएर बुझाएको भारतीय नम्बर प्लेटको बोलेने कारसमेत लिलामी गरिने प्रक्रियामा रहेको प्रमुख साहले उल्लेख गरे । पछिल्लो ३० भदौमा भन्सार काटेर अस्थायी नम्बर लिएको स्कर्पियोको २९ असोजमै म्याद सकिएकाले लिलामीमा लगिने उनले बताए ।