-सञ्जय मिश्रा
रौतहट । मधेश प्रदेश संग जोडिएको भारत बिहार पूर्वी चम्पारणका एसपी स्वर्ण प्रभातको नेतृत्वमा मोतिहारी प्रहरीले अन्तरजिल्ला डकैती गिरोहका चार जनालाई ठूलो परिमाणको नगद, चरस तथा हतियारसहित पक्राउ गरेको छ।
गत अगस्ट ३० को राति ढाका थाना क्षेत्रको मठिया मोहन निवासी मनोजकुमार शर्माको घरमा भएको डकैती घटनाको अनुसन्धानका क्रममा प्रहरीले गिरोहसम्म पुग्न सफल भएको हो।
घटनाको अनुसन्धान तथा अपराधी पक्राउ गर्न एसपी स्वर्ण प्रभातले सिकरहना एसडीपीओ अभिषेककुमारको नेतृत्वमा विशेष टोली परिचालन गरेका थिए।
अनुसन्धानका क्रममा हालै जेलबाट छुटेका सीतामढीको बथनाहा निवासी मोहम्मद सफीक मन्सुरी उर्फ बन्ठा पक्राउ परेका थिए। सोधपुछका क्रममा उनले सिकरहना अनुमण्डलमा भएका पाँचवटा ठूला डकैतीमा संलग्न रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
उनकै बयानका आधारमा प्रहरीले गिरोहका अन्य सदस्य मो. तनवीर शेख, शम्भु पासवान उर्फ मोगल र अमरनाथ ठाकुरलाई पक्राउ गरेको हो।
१५ लाख ५० हजार नगददेखि चरस र पेस्तोलसम्म बरामद
प्रहरीले पक्राउ परेकाहरूको साथबाट डकैतीबाट लुटिएको १५ लाख ५० हजार भारतीय रुपैयाँ नगद, एक पेस्तोल, चार राउन्ड गोली, २ किलो १०७ ग्राम चरस, ढोका फोड्न प्रयोग हुने दुईवटा फलामे रड, पाँच मोबाइल तथा ठूलो परिमाणमा चाँदीका गरगहना बरामद गरेको जनाएको छ।
यस्तै, डकैतीबाट प्राप्त रकमले खरिद गरिएको एउटा नयाँ मोटरसाइकलसमेत बरामद गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध मोतिहारी, सीतामढी र दरभंगाका विभिन्न प्रहरी कार्यालयमा डकैती, आर्म्स एक्ट तथा एनडीपीएससम्बन्धी दर्जनौँ गम्भीर मुद्दा दर्ता छन्।
घटनामा संलग्न अन्य फरार अभियुक्तको खोजी तथा पक्राउका लागि पनि प्रहरीले लगातार छापा मारिरहेको जनाएको छ।
अनुसन्धान टोली सम्मानित
विभिन्न डकैती घटनाको सफल अनुसन्धान गरी गिरोह पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पूर्वी चम्पारणका एसपी स्वर्ण प्रभातले ढाका थानाध्यक्ष राजरूप राय, कुण्डवा चैनपुर थानाध्यक्ष राहुलकुमारसहित अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूलाई सम्मान गरेका छन्।
एसपी प्रभातको निर्देशनमा भएको त्वरित कारबाहीबाट अन्तरजिल्ला अपराधी गिरोह नियन्त्रणमा आएको र यसले जिल्लामा अपराध नियन्त्रणतर्फ प्रहरीको मनोबल तथा जनविश्वास थप बलियो बनाएको प्रहरीको भनाइ छ।