हार्दिक आभार तथा कृतज्ञता,
गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन सकिएको छ । सम्मेलनले कुमार पन्तको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित गरेको छ । सम्मेलनवाट विभिन्न पदमा निर्वाचित सम्पूर्णलाई हार्दिक बधाई दिन चाहन्छु । नव निर्वाचित कार्यसमितिले सफलता पूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्न सकोस् हार्दिक शुभकामना व्यक्त गर्दछु । संस्थामा नया कार्यसमिति निर्माण हुनु र निर्वाचन प्रक्रियामा जादा पदमा रहेर काम गर्ने जिम्मेवारी केही व्यक्तिले पाउनुलाई प्रजातान्त्रिक विधिमा स्वभाविक रुपमा लिनुपर्दछ ।
र यो सम्मेलनमा मैले पनि आफूलाई उपाध्यक्ष पदको उम्मेद्वार बनाएको थिए । जसमा विश्वभरवाट नेपाल आउनुभएका प्रतिनिधि ज्यूहरु, एनआरएनए अभियन्ताहरु र सहयोगी मित्रहरुको साथ, सहयोग र समर्थन रहेको थियो । तर निर्वाचन प्रक्रियामा भाग लिइरहदा सधैं आफू अनुकुलको निर्णय आउछ र आउनुपर्दछ भन्ने रहदैंन, यसमा धेरैं पक्षहरुले काम गर्छन्, जसका कारण नतिजा अनुकुल रहन पनि सक्छ नरहन पनि सक्छ, यसलाई जुन अवस्थामा पनि सहज लिनुपर्दछ यो त एउटा प्रक्रिया मात्र हो । यो प्रक्रियालाई आत्मसात गरिरहदा जुन सुकैं परिणाम आएपनि त्यसलाई सकारात्मक दृष्टिकोणवाट मुल्याकंन गर्ने पक्षमा म रहेको छु ।
प्राविधिक कारणले आफू उम्मेद्वार बनेको उपाध्यक्ष पदमा रहेर एनआरएनए आइसिसी मार्फत एनआरएन अभियानमा योगदान गर्न मैले नसकेपनि म जहा रहेर पनि विगतमा जस्तैं एनआरएन अभियानमा आफूलाई सक्रिय राख्ने प्रतिवद्धता यहाहरु समक्ष दोहोऱ्याउन चाहन्छु । म प्रति विश्वास गरेर मलाई आफ्नो अमुल्य मत दिनुहुने सम्पूर्ण मतदाता ज्यूहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु, तपाईहरुले म प्रति देखाउनुभएको त्यो विश्वासलाई गुम्न नदिन म निरन्तर सचेत रहनेछु ।
म उपाध्यक्षको उम्मेद्वारको रुपमा मैदानमा आइरहदा अहोरात्र खटेर मलाई साथ, सहयोग र समर्थन गर्नुहुने सबैंप्रति पनि म आभारी छु र रहीरहनेछु । विश्वभरवाट सम्मेलनमा भाग लिई सम्मेलन सफलता पूर्वक सम्पन्न गर्न तथा नया कार्यसमिति निर्वाचित गराउन मत दिनुहुने तपाई सबैंको योगदानप्रति पनि एक उम्मेद्वार तथा एनआरएनए अभियन्ताको तर्फवाट हार्दिक धन्यवाद दिन चाहन्छु ।
मतदाताहरुको अपेक्षाप्रति निर्वाचित कार्यसमिति सचेत रहनेछ भन्ने मेरो विश्वास रहेको छ, त्यसका निम्ति शुभकामना समेत दिन चाहन्छु ।
यस सम्मेलन आयोजनाका क्रममा केही त्रुटीहरु रहन गयो यसप्रति हामी सबैं जानकार नै छौं । संस्थाको छवीमा समेत नकारात्मक असर पर्न गएकोप्रति हामी सबैं गम्भिर भएर लागौं, र संस्थाको छवी उचो बनाउन यो नव निर्वाचित कार्यसमितिले प्रभावकारी भूमिका खेलोस् भन्ने मेरो अपेक्षा रहेको छ ।
यस सम्मेलनवाट एनआरएनए आइसिसीको पदाधिकारी समुहमा अमेरिकाज क्षेत्रवाट उपाध्यक्षमा सोनाम लामा, रविना थापा र सचिवमा गौरी राज जोशी निर्वाचित हुनुभएको छ यो नतिजाले एनआरएनए अमेरिकाको निवर्तमान अध्यक्षको हिसाबले मलाई खुशी बनाएको छ । उहाहरुलाई बधाई दिन चाहन्छु ।
अन्त्यमा, विश्वभर छरिएर रहनुभएका एनआरएनए अभियन्ताहरु तपाई सबैंको योगदान र समर्पणले यो संस्था यहा सम्म आइपुगेको छ । आगामी दिनमा समेत यस्तैं सक्रियताले एनआरएनए अभियान अझ बलियो बन्नेछ र तपाई हामी सगैं अगाडि बढौं ।
धन्यवाद । जय नेपाल । जय एनआरएन । जय एनआरएनए ।
डा. केशव पौडेल
उपाध्यक्ष पदको उम्मेद्वार
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्