सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

राजनीति हाबी भएको भन्दै एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा सम्मेलन बहिष्कार

मंगलबार, असोज २८ २०७६

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा उपेन्द्र महतोले काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन बहिस्कार गरेका छन् । एनआरएनएमा राजनिती हाबी भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गरेको सम्मेलन महतोले बहिस्कार गरेका हुन् ।

संघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको तथा अनावश्यक राजनीतिक हस्तक्षेप भएपछि सम्मेलनमा अनुपस्थित भएको महतोले बताए । ‘एनआरएनएको उद्देश्य र मर्म विपरित राजनिती हाबी भएको देखियो । यसैले सम्मेलनमा सहभागी भइन’, महतोले जनसवालसाग बताए । उनले आजको उद्घाटन सत्रमात्र नभई सबै सत्र बिहष्कार गरेको बताए । ‘चुनाव नै गर्नु हुँदैन भन्ने मेरो भनाइ होइन’ महतोले भने, ‘यस पटक बढी नै हस्तक्षेप भएजस्तो लाग्यो ।’
विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजतीतिक संगठन जस्तो बनाउन नहुनेमा जोड दिए । उनी भन्छन्, ‘सबै क्षेत्रमा राजनीतिक दवदवा छ, कमसेकम एनआरएनए त्यसबाट मुक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’
डा महतोले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गरेका थिए । त्यतिबेला आफूले चुनाव हुँदा विभाजन आउने र भावनामा चल्ने संस्थामा भोेट गन्ने काम गर्न नहुने तर्क गरेको स्मरण गरे । उनी भन्छन्, ‘कम्तीमा एनआरएनएको गर्विलो इतिहासमा दाग लगाउने काम कसैबाट हुनुहुँदैन ।’
११–१३ अक्टोबर २००३ मा काठमाडौंमा सम्पन्न पहिलो विश्व सम्मेलनबाट संस्थापक अध्यक्ष चयन भएका डा। महतो भन्छन्, ‘म चुनावविरोधी होइन तर चुनावमा जाने नै हो भने दलगत राजनीति हाबी हुन दिनुहुँदैन ।’ संघको होटल हायातमा शुरु सम्मेलनमा ८१ देशका २५ सय प्रतिनिधि सहभागी छन् । दुई दिने सम्मेलनले आगामी दुई वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ । संघका उपाध्यक्षद्वय कुमार पन्तले वामपन्थी र कुल आचार्यले प्रजातान्त्रिक समूहबाट उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार