काठमाडौ,नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्थापनाको ३२ वर्षपछि आफ्नै नाममा प्रशासनिक भवन खरिद गरेको छ । केही महिना पहिले काठमाडौं महानगरपालिका वडा नं. ७ सिफल चौर नजिकै खरिद गरेर कार्यालय सारिएको उक्त भवन आधिकारिकरुपमा संघले आफ्नै नाममा सारेको छ ।
६ आना २ पैसा जग्गामा बनेको १९ वटा कोठा, ३२ फिट मोहोडा भएको साढे ३ तले कर्पोरेट भवन यही माघ २९ गते मालपोत कार्यालय चावहिलबाट संघको नाममा आएको छ ।
संघका अध्यक्ष राजेन्द्र भन्डारीले संघको ३२ बर्षपछि आफ्नै प्रशासनिक भवन खरिद गर्न सफल भएको बताए । उनले सम्पुर्ण व्यवसायीहरुको सहयोगमा भवन खरिद गर्न सफल भएकोमा सबै ब्याबसायीहरुलाई धन्यवाद ब्यक्त गरे ।
संघको आफ्नै प्रशासनिक भवन खरिद गर्ने सपना साकार पार्न सहयोग गर्ने सम्पुर्ण अग्रज ब्याबसायीहरु, भवन खरिद समितिका अग्रजहरु, संघ कार्यसमिति, संघका पुर्व अध्यक्षहरु, सम्पुर्ण सहयोगदाता व्यवसायीज्युहरुमा अध्यक्ष भन्डारीले हृदयदेखी आभार ब्यक्त गर्दै ब्याबसायिक एकता नै बल भएको बताए ।
बैरो संघका महासचिव मेघनाथ भूर्तेलले भवन खरिदका लागि हालसम्म ४ करोड १० लाख संकलन भएकोमा भवन पास गर्दासम्म ४ करोड ५३ लाख १४ हजार खर्च भएको बताए । अपुग भएको ४३ लाख १४ हजार सापटी लिएर पास गरिएको जनाउदै
महासचिव भूर्तेलले खरिद गरिएको भवन अगाडिको अर्को भवन समेत संघको कार्यालयका लागि लिने प्रक्रिया गरिएकोले थप सहयोगका लागि सबै व्यवसायीहरुलाई आग्रह गरेका छन । ‘सबै व्यवसायीहरुको साझा घर अझ फराकिलो बनाउने अभियानमा सम्पूर्ण व्यवसायीज्युहरुबाट थप सहयोगको अपेक्षा लिएका छौ भुर्तेलले भने । उनले यसअघि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरुको नामावली छिट्ट्रै प्रकाशन गर्ने जनाउदै संघले स्थापनाकालदेखि नै आफ्नै भवन खरिद गर्ने सपना देखेतापनि विभिन्न समस्याका कारण खरिद गर्न नसकिरहेको अवस्थामा अहिले सम्पुर्ण व्यवसायीहरुको साथ र सहयोगले आफ्नै भवन खरिद गर्न सफल भएको बताए । संघले खरिद गरेको भवनका लागि केही व्यवसायीहरुले प्रयाप्त पार्किङ र क्षेत्रफल नभएको भन्दै विरोध भैरहेको बेला संघले सँगै रहेको थप भवन र जग्गा किन्ने प्रक्रिया पनि अघि बढाएको छ ।
एकता नै बल हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै संघको बर्तमान कार्यसमितिले विविध बिरोधका बाबजुद आफ्नै भवन खरिद गरेको छ ।