मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

छपेली-माझखण्ड युरो स्ट्याण्डर्ड केबलकारको शिलान्यास सांसद राणाबाट हुँदै

सोमबार, माघ २१ २०८१

ललितपुर/ललितपुरस्थित ‘छपेली–माझखण्ड केबलकारको निर्माण कार्यको शिलान्यास माघ २१ गत्ते अर्थात फेब्रवरी ३, २०२५ सोमबार हुँदैछ। ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ का सांसद एवम् पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले बटम स्टेसन छपेलीमा शिलान्यास गर्ने कार्यक्रम रहेको डेष्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले बताए।

डेष्टिनेशन माझखण्ड कम्पनीले दक्षिण एशियाकै पहिलो अत्याधुनिक केबुलकार सेवासहतिको पर्यटन प्रवर्धनको काम गर्न लागेको सो कम्पनीले जनाएको छ। यो केबुलकार नेपालकै पहिलो युरो स्ट्याण्डर्ड सर्टिफाइड हुने पनि कम्पनीले जनाएको छ। काठमाडौँबाट हेटौँडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट सुरू हुने केबुलकारमा माझखण्डसम्मको २.८ किमीको यात्रा बिनाटावरको स्टेशन टु स्टेशन हुने पनि कम्पनीका अध्यक्ष सञ्जेलले बताए।

केबुलकारको टप स्टेशन माझखण्ड १ हजार ७ सय ८६ मिटर अर्थात ५ हजार ८ सय ५९ दशमलव ५९ फिट उचाइमा रहेको छ। जहाँबाट हिमाल, पहाड र तराई मधेशको वीरगंजसम्म दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ। माझखण्डभन्दा करिब ५ किमी माथि रमितेबाट सगरमाथाको रेञ्ज, तराई मधेश र काठमाडौँ उपत्यका समेत एकै स्थलबाट लोभलाग्दो दृश्यावलोकन गर्न सकिन्छ। रमिते (पहाड) लेक अति नै दुर्लभ भूस्थल हो, सञ्जेलले भने।

सञ्जेलले भने,माझखण्ड केबल कारले नेचर, कल्चर र एडभेन्चरको संयोजनसहित पर्यटक र तीर्थयात्रीहरूका लागि एक अद्वितीय प्याकेज सिर्जना गर्ने छ। चाहे तपाईं शान्ति, आध्यात्मिकता वा उत्साह खोज्नुहोस्, माझखण्ड तपाईंको उत्तम गन्तव्य बन्छ।

महारुद्रेश्वर महादेव, बौद्ध गुम्बा र बिहार

महारुद्रेश्वर महादेव, विश्वकै ठुलो थाङ्का (७०/६० मिटर) प्रदर्शनस्थल तथा बौद्ध गुम्बा र बिहार सहितको धार्मिक धाम पनि रहेको हुँदा पर्यटन प्रवर्धनका लागि यो केबुलकार निर्माण थालिएको कम्पनी सञ्चालक डोलकेशर दहालले बताए । सुविधा सम्पन्न होटेल, रेष्टुरेण्ट, फनपार्क, जीपलाइन सहितको पर्यटन प्याकेज लिएर डेष्टिनेशन माझखण्ड कम्पनीले काम थालेको हो।

जिल्लाका सबै राजनीतिक दल, सांसद्, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण डेढ वर्षभित्र काम सक्ने गरी द्रुत गतिमा अघि बढ्ने पनि उनले बताए।
यो केबुलकार निर्माण भएर सञ्चालनमा आउँदा ललितपुर जिल्लाको मात्र नभई समग्र मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र आर्थिक समृद्धिको कोशेढुङ्गा बन्ने अपेक्षा गरिएको छ। पर्यटन प्रवर्धन, रोजगारसँगै स्वरोजगार सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि छपेली-माझखण्ड केबुलकार उदाहरण बन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार