काठमाडौं(जस)–नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले उम्मेदवारको निर्णय गरेको छ । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले आकांक्षीहरूबाट आ–आफ्नो दाबी पेश गर्न लगाएर अध्यक्षमा नरेश गेलाललाई आफ्नो उम्मेदवार बनाएको छ । मंचले महासचिवमा जनक रावललाई उम्मेदवार बनाएको छ । प्रगतिशीलमा संघका पूर्वमहासचिव नरेश गेलाल र संघका हालका प्रथम उपाध्यक्ष डिक बहादुर खत्री (कुमार) बीच अध्यक्षको उम्मेदवारीमा दाबी परेको थियो । अध्यक्ष र महासचिवको निर्णय भएपनि केही दिनभित्र अन्य पदाधिकारीको उम्मेदवारको नाम सार्वजनिक गर्ने मन्चले बताएको छ ।
यसैगरी ७ पदाधिकारीका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका २ दर्जन मेनपावर व्यवसायीहरुले दाबी गरेका छन । एशोसिएसनले संघको आगामी निर्वाचनका लागि उम्मेदवार हुन इच्छा राखेका संस्थामा आबद्ध व्यवसायीलाई गत सोमबार ५ बजेसम्मको समय दिएर दरखास्त आह्वान मागेको थियो । निर्धारण गरिएको समयभित्र अध्यक्ष पदमा ७ जना, प्रथम उपाध्यक्षमा ३ जना, द्वितीय उपाध्यक्षमा ५ जना, तृतीय उपाध्यक्षमा ४ जना, महासचिवमा ४ जना, सचिवमा ६ जना र कोषाध्यक्षमा १ जनाको दाबी परेको एशोसियसनले बताएको छ ।
एशोसिएसनका अध्यक्ष दीपक थापाका अनुसार अध्यक्षमा फेमस ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक चिरञ्जीवी बस्याल, नीलकमल ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक मेघनाथ भुर्तेल, गुरुङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक भुवनसिंह गुरुङ, सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक प्रज्ञान न्यौपाने, एलाइन्स ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक सुजितकुमार श्रेष्ठ, फ्युजन इन्टरनेशनल प्रा.लि.का सञ्चालक कुमुद खनाल र एसआरके ओभरसिज प्रा.लि.का सञ्चालक किशोर केसीले दाबी गरेका छन । दावी गरिएका ७ जनामध्य अन्तमा न्यौपाने र गुरुङ दावेदार हुने एशोसिएसन स्रोतले बतायो ।
प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा.लि.का सञ्चालक नरेन्द्रप्रसाद ढकाल, पशुपति एचआर सोलुसन प्रा.लि.का सञ्चालक सेवन्तराज न्यौपाने र कास्की ओभरसिज प्रा.लि.का सञ्चालक अमरप्रकाश तिवारी, द्वितीय उपाध्यक्षका लागि अल जाफर इन्टरनेशनल प्रा.लि.का सञ्चालक महम्मद जवारदिन मियाँ, इन्स्पायर इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.का सञ्चालक देवीप्रसाद काफ्ले, अलर्ट ओभरसिज प्रा.लि.का सञ्चालक देवकुमार खोखाली , रेडियन्ट ओभरसिज प्रा.लि.का सञ्चालक शिवकुमार कार्की र इम्प्लोइमेन्ट क्रियसन प्रा.लि.का सञ्चालक हर्कबहादुर लिम्बूले दाबी गरेका छन ।
तृतीय उपाध्यक्षमा जस्मिन ओभरसिज प्रा.लि.का सञ्चालक नवराज भट्ट, भर्षा मेनपावर प्रा.लि.का सञ्चालक रविन मेघाले मगर, सेक्युर जब प्लेसमेन्ट प्रा.लि.का सञ्चालक सुमनराज पाण्डे, हिमालय भ्याली नेपाल प्रा.लि.का सञ्चालक देवीप्रसाद गिरीले दाबी गरेका छन । महासचिवका लागि त्रिवेणी ओभरसिज प्रा.लि.का सञ्चालक लक्ष्मण पौडेल, ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा.लि.का सञ्चालक महेशकुमार बस्नेत, डाइनामिक स्टाफिङ सोलुसन प्रा.लि.का सञ्चालक कर्णराज कटुवाल र साधना इन्टरनेशनल प्रा.लि.का सञ्चालक सोमबहादुर तामाङले दाबी गरेका छन ।
सचिवमा अक्सन इन्टरनेशनल प्रा.लि.का सञ्चालक ईश्वर सापकोटा, उज्यालो ओभरसिज प्रा.लि.का सञ्चालक चन्द्र लिम्बू, टार्गेट कन्सल्टेन्ट प्रा.लि.का सञ्चालक विवश ढुंगाना, शुभहारती मेनपावर प्रा.लि.का सञ्चालक विक्रम श्रेष्ठ, मार्स म्यानपावर प्रा.लि.का सञ्चालक प्रकाश बोहोरा, एचएमटी ओभरसिज प्रा.लि.का सञ्चालक तुलसी पुरीले दाबी गरेका छन भने कोषाध्यक्षका लागि विनर एचआर सोलुसन प्रा.लि.की सञ्चालक हिमा गुरुङ मात्रैले दाबी गरेकी छन । अब कसैले पेश गरेको दाबी स्वीकार नहुने अध्यक्ष थापाले बताए ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको एशोसिएसनले पार्टी प्रतिनिधि र एशोसिएसनका पूर्वअध्यक्षहरूसँग परामर्श गरी राय सुझाव लिएर कार्यसमितिबाट सर्वसम्मतिले उम्मेदवार चयन गर्ने जनाएको छ । अध्यक्ष थापाले जातीय, भेगीय, क्षेत्रीय तथा अन्य राजनीतिक दल निकट व्यवसायीका संस्थामा आबद्ध व्यवसायीलाई पनि गोलबन्द गरेर जाने योजना रहेकाले उनीहरूसँग पनि छलफल भइरहेको बताए । एशोसिएसनले लोकप्रियताका अतिरिक्त कांग्रेसमा आबद्धता भई क्रियाशील सदस्यता प्राप्त गरेको, जातीय तथा भेगीय र अनुभव जस्ता विषयलाई छनोटको आधार बनाउने बताएको छ । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले तालमेलका आधारमा उम्मेदवार उठाउने बताएका छन् ।