काठमाडौं(जस)–नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं साधारण सभा तथा तेस्रो महाधिवेशनबाट मनोजबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पुस २० गते राष्ट्रिय सभा गृहमा सम्पन्न साधारण सभाबाट श्रेष्ठ नेतृत्वको कार्यसमिति चयन भएको हो ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभाको उद्घाटन सत्रमा विशिष्ट अतिथिको रूपमा प्रतिनिधि सभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति सांसद रामहरि खतिवडा , प्रतिनिधि सभा सदस्य माधव सापकोटा(सुबोध) तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा सुधार ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताए । उनले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मुलुकमा व्यावसायिक वातावरण बनाउन दलहरू आरोप प्रत्यारोपमा उत्रनुभन्दा एकताबद्ध भएर क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए । माओवादी केन्द्रका नेता एवं सांसद माधव सापकोटाले मुलुकको अर्थतन्त्रलाई सुधार गर्दै व्यवसायीले भोग्दै आएका चुनौतीलाई समाधान गर्न सम्पूर्ण राजनीतिक दल एकठाउँमा उभिनुपर्ने बताए । कार्यक्रममा महासंघमा रहेर व्यावसायिक क्षेत्रमा विशिष्ट योगदान गरेबापत कुसुम महर्जन, लक्ष्मी खड्का र अञ्जु चाम्लिङलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।