काठमाडौँ (जस) – ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडद्वारा प्रवर्द्धित सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ। कर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले सोमबार हस्ताक्षर गरेका हुन्। समझदारी अनुसार, प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्नेछ।
त्यस अवसरमा, प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाबाट उत्पादित विद्युत् खरिद गर्न र चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भइसकेको जानकारी दिए। यस परियोजनामा संलग्न लगानीकर्ता समूहले विभिन्न पाँच सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताका आयोजनामा समेत लगानी गरेको छ।
नेपालमा सञ्चालित सौर्य परियोजनामध्ये यो परियोजना सौर्य ऊर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठूलो क्षमताको हो। बैंकले नवीकरणीय र हरित ऊर्जा उत्पादन, प्रसारण, तथा वितरणमा आफ्नो लगानी प्रवर्द्धन गर्ने उद्देश्यअनुसार सौर्य तथा जलविद्युत् क्षेत्रमा सुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ।