सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

काशी दनै : यूरोपमा उदाउँदैं युवा एनआरएनए अभियन्ता

बुधबार, असोज ८ २०७६

काशी दनै
गैर आवासीय नेपाली संघ (एनआरएनए)
बेल्जियमका युवा संयोजक

‘शरीरले मात्र हो बिदेश भएको, मन त नेपाली नै हो’ यो कुरा कसैसँग मेल खान्छ भने त्यो काशी दनैको जीवनमा मेल खान्छ । बेल्जियममा कर्मथलो बनाएर यूरोपमा उदाउँदैं गरेका युवा दनै नेपाल र नेपाली जोडिएका हरेक कर्म र गतिविधीहरुमा जोडिन आइहाल्छन । अहिले गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमका युवा संयोजक रहेका दनैको एनआरएनएमा जोडिनुको मूल उद्देश्य नै नेपाल र नेपालीप्रतिको माया र सद्भाव हो । ‘एकपटकको नेपाली, सधैंको नेपाली भन्ने’ एनआरएनएको नाराजस्तै दनै विश्वको जुनसुकै कुनामा रहेपनि र पुगेपनि नेपाल र नेपाली सधै मन र मुटुमा रहने बताउँछन् ।


बिगत डेढ दशकदेखि बेल्जियममा आफ्नै व्यवसायका साथ साथै विभिन्न सामाजिक कार्यहरुमा समेत सक्रियरुपमा सहभागी भई आफ्ना सामाजिक जिम्मेवारीहरु सफतापूर्वक निर्बाह गर्दै आइरहेका दनैले बिदेशी भूमिमा रहेर पनि नेपाल र नेपालीलाइै चिनाउने साँस्कृतिक, सामाजिक र खेलकुद जस्ता कार्यहरुका साथै युवाहरुले गर्ने हरेक रचनात्मक काममा आफ्नो सदैव साथ सहयोग र ऐक्यबद्दता जनाउँदै आएका छन् । उनी आफुले सकेसम्म सधैं यस्ता कार्यमा सहयोगको प्रतिबद्धता जनाउँछन् ।
विस २०४३ साल माघ ९ गते चैनपुर ३ धादिङमा जन्मिएका दनैले आफ्नो प्राथमिक शिक्षा परोपकार प्राथमिक विद्यालय चैनपुरबाट सुरु गरी रानीपौवा माध्यमिक विद्यालय हुँदै एसएलसी निलकण्ठ माबी धादिङबेसीबाट गरेका थिए । उच्च शिक्षाका लागि काठमाडौं छिरेका दनैले आफ्नो क्याम्पस जीवन हिरालाल क्याम्पसबाट पूरा गरेका थिए । स्वालम्बी स्वभावका दनै काठमाडौं आउनु अघि नै आफुलाई आफ्नो खुट्टामा उभ्याउनु पर्छ भन्ने ज्ञानले गर्दा नै उक्त समयमा अमेरिकन समाज कल्याणकारी संस्थामा एक वर्ष काम गरेका थिए । र, यसरी जनताको सेवामा समर्पित भएका थिए त्यही समयमा पनि ।


यसैक्रममा दनै बाँकी उच्च शिक्षा पुरा गर्ने अभिलाषा बोकेर सन् २००४ को अन्तमा नेदरल्याण्ड पुगेका थिए । तर, नेदरल्याण्डमा अध्ययनकै क्रममा बाध्यात्मक परिस्थितिले गर्दा उनले आफ्नो शिक्षालाई बीचमै छाडेर बेल्जियम पुगेका थिए । सन् २००५ को अन्त्यबाट बेल्जियममा बसोबास गर्दै आएका दनैले सन् २०१० देखि आफ्नो रेष्टुरेन्ट व्यवसाय परिवारको साथ सञ्चालनमा ल्याउने अवसर पाए । यसबाट नै उनको जीवनमा नयाँ मोड आयो र आज उनी बेल्जियमकै एक सफल युवा व्यवसायीको नामबाट परिचित छन । व्यावसायमा अब्बल ज्ञान भएका दनैले हाल केही संख्यामा रेष्टुरेन्ट र एनआरएनए अध्यक्ष भवन भट्टको साझेदारीमा होटल सञ्चालन गरेका छन् ।


सम्पूर्ण व्यावसायीहरुलाई समस्या परेको बेला विभिन्न क्षेत्रबाट सहयोग गर्ने गरेका उनी २०१९ को व्यवसायिक संघको अधिवेशनबाट सर्वसम्वतरुपमा कोषाध्यक्ष पदमा चुनिएका छन । विभिन्न सामाजिक कार्यमा संलग्न दनैले नेपालमा महाभुकम्पको समयमा होस वा अन्य समयमा होस विभिन्न क्षेत्रबाट सहयोग जुटाएर पीडितहरुसम्म पुर्यााउने गरेका छन । साथै, उनले आफ्नै लगानीमा पनि विभिन्न सामाजिक कार्यहरु, निर्माण कार्यहरु सम्पन्न गरेका छन् । साथै, सम्पूर्ण आफ्ना जिल्लाबासीहरुसँग समन्वय र अपिल गरेर आफ्नो गाँउमा दुःख विपत परेको बेला विभिन्न सहयोग गर्दै आएका छन् ।


बेल्जियममा व्यवसाय गरेर बसेपनि आफ्नो गाँउ ठाँउको लागि केहि गर्नुपर्छ भन्ने मनोभावनाले उनि सधैं सामाजिक कार्यहरुमा सक्रिय रहँदै आईरहेका छन । साथै उनले, नेपालको विभिन्न व्यावसायिक क्षेत्रहरु हाइड्रो, कन्सल्टेन्सी र हस्पिटललगायतमा समेत लगानी गरेका छन । भविष्यमा नेपाल फर्कने सोचाइमा रहेका दनै वास्तवमै देशप्रेमी हुन् । बेल्जियमा रहँदा सिकेको ज्ञान, सिप, क्षमता र प्रविधिलाई आफ्नो देशमा लगेर हस्तान्तरण गर्ने, अन्य युवाहरुलाई सीप सिकाई युवाहरुलाई स्वदेशमै सक्षम बनाएर देश विकासको अभियानमा लाग्नको लागि प्रेरित गर्ने सपना बोकेका दनै एनआरएनएमा पनि उदाउँदा अभियान्तका रुपमा आफुलाई अगाडि बढाइरहेका छन् ।
केही समयअघि एनआरएनए बेल्जियमको युवासंयोजकमा एनआरएनए बेल्जियको सातौं अधिवेशनबाट उनी सर्वसम्वत चयन भएका थिए । उनले आफु सर्वसम्मत चयन भएकोमा खुशी व्यक्त गर्दै आफुले आउने दिनहरुमा समाजमा रहेको राजनीतिक र संस्थागत द्वन्द्वलाई चिरफार गर्दै युवाहरुलाई रचनात्मक काम होस या खेलकुदमा होस या संघसंस्थाप्रति होस सबै क्षेत्रमा युवाहरुको सहभागितालाई बढाउन विभिन्न नयाँ युवामुखी कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाउँछन् । साथै, उनले भनेका छन– ‘मैले अहिले तपाईहरु सम्पूर्ण नेपाली बेल्जियमबासीहरुबाट जुन किसिमको माया, साथ, हौसला, सल्लाह र सुझावहरु पाँए यसरीनै भविष्यमा पनि यहाँहरुको साथ र सहयोग पाएमा आफुले थप रचनात्मक ढंगले सत्कर्म गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जाहेर गर्दछु ।’


दनैे भन्छन– ‘हामी जन्मदैमा सम्पूर्ण रुपमा पूर्ण हुँदैनौ । त्यसैले त हामीले समयको विभिन्न कालखण्डमा संघर्षहरुसँग मुकाबिला गर्दै जीवनलाई पूर्णता प्रदान गर्न लाग्छौं । त्यसैले एनआरएनएको अभियानमा लाग्दै गर्दा अनपेक्षित रुपमा हुने गल्ती कमजोरीलाई औल्यााईदिनुहुन आग्रह गर्दछु । जसले गर्दा आगामी दिनमा मैले उक्त गल्तीबाट पाठ सिक्दै आफ्नो जिम्मेवारी कुशलतापुर्बक निर्वाह गर्न सकौं ।’

प्रतिक्रिया
सम्बन्धित समाचार