काठमाडौँ(जस)–आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे निर्वाचनका लागि प्रगतिशील समूह र लोकतान्त्रिक समुहबाट उम्मेदवारी घोषणा भएको छ । संघकोे २७ औँ साधारणसभा यही असोज ७ गते राजधानीमा हुँदैछ । निर्वाचनमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका व्यवसायीले दुई समूह खडा गरेर होमिँदै छन् । काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको छ ।त्यसैगरी सो समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी घोषणा गरिएको छ ।
यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी घोषणा गरिएको छ । अध्यक्षका प्रत्याशी गैरेले व्यवसायलाई मर्या्दित, व्यवस्थित र नियमित गर्ने तथा पेशागत हकहितको सुरक्षाका साथै कामदारको हकहित र सुरक्षामा ध्यान दिने बताएका छन् । उनले श्रम सम्झौता नभएका मुलुकसँग तत्काल सम्झौताका लागि नेपाल सरकारसँग पहल गर्ने र नयाँ तथा आकर्षक गन्तव्य मुलुकको पहिचान गरी श्रम सम्झौता गरेरमात्र कामदार पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै सङ्घको निर्वाचनका लागि अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलले उम्मेदवारी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग निकट रहेका व्यवसायीको तर्फबाट पोखरेलले संयुक्त रूपमा उम्मेदवारी दिएको निर्वाचन परिचालन कमिटीका संयोजक रामप्रसाद भन्तनाले जानकारी दिए । संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी दिएका छन् ।
सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिने संयोजक भन्तनाले जानकारी दिए । नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । मेनपावर धरौटी बढाएसँगै ८५४ मेनपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् । सङ्घको आसन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस निकट मेनपावर व्यवसायी आआफ्नो समूहको ‘प्यानल’ नै खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । सङ्घको नेतृत्व हातपार्न उनीहरू उम्मेदवार चयन गरी चुनावी रणनीति बनाउन जुटेका हुन् । सङ्घको २७ औँ साधारणसभा यही असोज ७ गते राजधानीमा हुँदैछ ।