काठमाडौं(जस)–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतबार सत्तारुढ दुई दलका नेताहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो उनीहरूबीच झण्डै दुई घण्टा कुराकानी भएको हो । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच चलेको तीन घण्टा लामो छलफलको पृष्ठभूमिमा यो भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच अहिलेकै सत्ता गठबन्धनलाई टिकाएर लैजानेबारे कुराकानी भएको प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
उनकाअनुसार राजनीतिक दलका नेताहरूबीच भेटघाट हुँदैमा विश्वासको वातावरण नबिग्रिने विषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच समझदारी बनेको छ । ‘सत्तापक्ष र प्रतिपक्षका नेताहरूबीच भेटवार्ता हुनु सामान्य कुरा हो, सत्ता बाहेक अरू पनि राजनीतिक एजेण्डाहरू हुन्छन्,’ दाहालले भनिन्, ‘बाहिर चर्चा भए जस्तो यो गठबन्धन छोड्ने या नयाँ गठबन्धन बनाउने भन्ने केही पनि कुरा भएको छैन ।’
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको संवादको उत्तरार्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि पुगेका थिए । लामिछानेसहितको संवाद पनि गठबन्धनलाई थप बलियो बनाउने भन्ने बारेमा केन्द्रित रहेको उनको भनाइ छ । शनिवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटे्को विषयमा पनि सामान्य कुराकानी भएको बताइएको छ । शनिवार सभापति देउवा र ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो । जसकारण पनि सत्ता समीकरणमा फेरबदल हुन लागेको आशंका गरिएको छ ।
तर, अध्यक्ष ओली अस्वस्थ भएका कारण देउवा भेटघाटका लागि गएको बताइएको छ । प्रधानमन्त्री दाहालसँग भेटपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताए । प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि नियमित प्रक्रिया भएको प्रतिक्रिया दिए ।
प्रधानमन्त्रीलाई परिस्थिति विचार गरेर अघि बढ्न आग्रह
सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताए । उनले अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता भएको उल्लेख गरे । उनले उद्यमशीलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताए । उनले गरिबीबाट माथि उठ्न मसिनो चामल नभई आफ्नै देशमा मोटो चामलको भए पनि उत्पादन बढाउनु पर्ने बताए ।
अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको बताए । उनले नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौती निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यालाई खान लगाउन पाउने अवस्थामा पु¥याउनु चुनौती रहेको बताए । अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सानातिना नियुक्तिहरूमा नअल्झिन परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताए ।
ओलीले सानातिना नियुक्ति, सरुवा, बढुवातिर अल्झिएर बस्ने समय नरहेको बताए । उनले भने,‘मैंले प्रधानमन्त्रीलाई भनेको छु । सानातिना नियुक्ति सरुवा बढुवातिर नअल्झियौँ । पोलिसी म्याटरको छलफल गरौं । कुन क्षेत्रमा के कस्ता सुधार, परिवर्तन, कस्ता कदम र नीति लिन आवश्यक छ त्यसमा छलफल गरौँ । छलफल ग¥यो सुन्यो सिध्यो । पुराण सुनेजस्तो नगरौं । आँखा चिम्लेर सुनेपछि सक्यो । यस्तो गरेर भएन । ठोस् रुपमा कार्यान्वयनमा जाआंै । र व्यवहारिक कदमहरु चल्न ठोस प्रस्तावहरु लिएर आउनु होला ।’ अध्यक्ष ओलीले अबको पाँच वर्षभित्रमा कृषिक्षेत्रमा असाधारण परिवर्तन ल्याउन सकिने सम्भावना रहेको विश्वास व्यक्त गरे । उनले देशमा कृषि क्षेत्रमा अब पर्खने समय नै नरहेको बताए ।