आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

धान उत्पादन क्षेत्र घट्दो क्रममा, यो वर्ष ९० प्रतिशत रोपाइँ हुने अनुमान

धान दिवसमा प्रधानमन्त्री र राष्ट्रपति सहभागी

शनिबार, असार १६ २०८१

काठमाडौं(जस)–नेपालमा धान उत्पादन क्षेत्र घट्दो क्रममा रहेको पाइएको छ । कृषि प्रधान देशमा बर्सेनि उत्पादन क्षेत्र घट्दो क्रममा रहेको कृषि तथा पशुपक्षी मन्त्रालयको भनाइ छ । मन्त्रालय अन्तर्गको कृषि विभागका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा कुल धानबाली लगाइएको क्षेत्रफल गत आर्थिक वर्षभन्दा ८ हजार ८ सय हेक्टरले कमी भएको छ । चालु आबमा धान खेती हुने क्षेत्र १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर रहेको छ ।
अर्कोतर्फ सबैतर्फ सिँचाइको सुविधा नहुँदा झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष देशभर करिब प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष असार १५ गतेसम्म करिब ८ दशमलव ७५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष मनसुन छिटो भित्रिए पनि ढिलो सक्रिय हुँदा धान रोपाइँ सन्तोषजनक हुन नसकेको बताए ।
जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्कअनुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सिँचाइको संरचना निर्माण गरिएको छ । तर करिब एक तिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुन सकेको विभागद्वारा २०८० चैतमा प्रकाशित जलस्रोत तथा सिँचाइ वार्षिक पुस्तिकमा उल्लेख छ ।
सूचना अधिकृत जोशीका अनुसार साउन महिनाको अन्तिमसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न हुने प्रक्षेपण गरिएको छ । मुलुकको सबै क्षेत्रमा सिँचाइ सुविधा पुग्न सकेको छैन, तसर्थ कृषि मन्त्रालयले सिँचाइ कुलो विस्तार गरेर धान रोपाइँलाई प्रवद्र्धन गर्दैछ’, उनले भने, ‘कहिले खडेरीले धानको बीउ सुक्ने, कहिले पानी नपर्दा सिँचाइ गर्न नसकिने जस्ता समस्याका कारण धान उत्पादन वृद्धिमा ह्रास आउने गर्छ ।’ राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक मधुरा यादवले धान उत्पादन वृद्धिका लागि मुलुकका सबै क्षेत्रमा सिँचाइ सुविधा पुग्न आवश्यक रहेको बताए ।
मन्त्रालयका अनुसार आव २०८०÷८१ को जेठ मसान्तसम्ममा रु ८८ करोड ६५ लाख बराबरको धानको बीउ आयात गरिएको छ । सो अवधिमा करिब रु ११ अर्ब ५५ करोडको धान आयात गरिएको छ । सो अवधिमा रु आठ अर्ब ६९ करोड बराबरको चामल तथा रु नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ । सरकारी तथ्यांकअनुसार एकातिर धान खेती क्षेत्र घटेको पाइँदा उत्पादन भने केही बढेको देखिएको छ । चालु आव कुल धान उत्पादन गत आव २०७९÷८० भन्दा ४.३३ प्रतिशतले वृद्धि भएको हो ।
चालु आव धान उत्पादन ५७ लाख २४ हजार २ सय ३४ टन पुगेको छ, जुन चार वर्षको औसत उत्पादन तुलनामा ५.०८ प्रतिशतले बढी हो । यस्तै धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भएर प्रतिहेक्टर ३.९८ टन पुगेको छ, जुन चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशत बढी हो । कृषि मन्त्रालयका अनुसार चालु आव धान उत्पादन वृद्धि हुनुमा उन्नत बिउ उपलब्धता र प्रयोग, रोग किरा प्रकोपमा कमी आएकाले हो । यस्तै यो आव बाढी–पहिरोबाट धान बालीमा पर्न जाने नकरात्मक असरमा कमी, मलखाद उपलब्धतामा आएको सुधारलाई उत्पादन बढ्नुको कारण मन्त्रालयले उल्लेख गरेको छ ।
यसैबीच असार १५ को दिन शनिबार राष्ट्रिय धान दिवस मनाइएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । प्रधानमन्त्री प्रचण्ड भरतपुर महानगरले आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा सहभागी भए । यस्तै राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासमै आयोजित रोपाइँ महोत्सवमा सहभागी भए भने कृषि उपभागले पनि रोपाइँ कार्यक्रमको आयोजना ग¥यो । धान दिवसकै अवसरमा विभिन्न दलका नेता, मन्त्री, संघसंस्था, कलाकारलगायत पनि रोपाइँ महोत्सवमा सहभागी भएर कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुका संस्कृतिलाई समेत निरन्तरता दिए ।
शीतल निवासमा राष्ट्रपति बाउसे !
तनहुँमा जन्मिएका राष्ट्रपति रामचन्द्र पौडेल किसानकै छोरा हुन् । राजनीतिक आरोह अवरोह छिचोल्दै हालमुलुकको सर्वोच्च पदमा रहेका उनी आफ्नो विगतलाई कहाँ बिर्सन सक्थे र ! कृषि प्रदान देशका आम नागरिकलाई हौसला दिनै भएपनि उनी देशको अभिभावकको रुपमा सांकेतिक रुपमा शनिबार रोपाइँ कार्यक्रममा सरिक भए । शीतल निवासभित्रै रोपाइँका लागि तयार गरिएको जमिनमा पसेर उनले केहीबेर बाउसे गरे । सो क्रममा राष्ट्रपति पत्नी सविता पौडेल पनि बिउ रोप्ने काममा सरिक भइन् ।

मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असारलाई लिइन्छ । त्यसमाथि असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । यही असारको मानो रोपेर मुरी फलाउने र दही चिउरा समेत खाने संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्रपति आम कृषकलाई उत्साह भर्नकै लागि खेतमा पुगेर बाउसे गर्न लागिपरेका हुन् । जुन कार्यक्रमको फोटो राष्ट्रपति कार्यालयले सार्वजनिक गरेसँगै राष्ट्रपतिको बाउसे अवतारबारे चर्चासमेत भइरहेको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रम शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए ।
‘पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो । धनधान्य भएपनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो धान कम भएर बाहिरबाट आयात गर्न थालिएको छ’, उनले भने, ‘यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ । रोपाइँपछि दही चीउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।
देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन लागिपरेका छौं : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन् । भरतपुर महानगरले शनिबार चितवनमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउनेगरी सरकारले कृषिदशक कार्यक्रम अघि बढाएको स्पष्ट पारे ।
सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषिदशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिँचाइ, बीउ एवं मल सहज रूपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताए । धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
कृषि क्षेत्रमा आधारित व्यापार–व्यवसायमा लाग्न र देशको आर्थिक क्षेत्रको प्रवद्र्धनमा जोड दिँदै प्रधानमन्त्री दाहालले कृषिकर्मका माध्यमबाट देश समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दुग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रवद्र्धन गर्ने र रोजगारी सिर्जनाका कार्यक्रम अघि बढाएको बताए । भरतपुर महानगरका प्रमुख रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ उपलब्ध गराउने व्यवस्था मिलाइने बताइन । कृषकमैत्री कार्यक्रम कार्यान्वयन गरी उत्पादकत्व बढाउने उल्लेख गर्दै उनले खाद्यान्नमा चितवनलाई आत्मनिर्भर बनाउन आफू क्रियाशील रहेको बताइन ।
यसैगरी प्रधानमन्त्री प्रचण्ड पनि चितवनको भरतपुर महानगरले आयोजना गरेको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा सहभागी भएर धान रोपे । सो क्रममा सम्बोधन गर्दै प्रचण्डले धानमा मात्र नभई देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताए । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिँचाइ र बीउ एवं मल उपलब्धता गर्ने र यान्त्रिकिकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने विश्वास व्यक्त गरे ।
धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरे । कृषि क्षेत्रमा आधारित व्यापार–व्यवसायमा लाग्न र देशको आर्थिक क्षेत्रको प्रवद्र्धन गर्न जोड दिँदै प्रधानमन्त्री प्रचण्डले कृषि कर्मका माध्यमबाट देश समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दूग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रबद्र्धन गर्ने र रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाएको बताए । भरतपुर महानगरका मेयर रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ उपलब्ध गराउने व्यवस्था मिलाईने विश्वास दिलाइन् । कृषकमैत्री कार्यक्रम कार्वान्वयन गरेर उत्पादकत्व वृद्धि गरीने उल्लेख गर्दै उनले खाद्यान्नमा चितवनलाई आत्मनिर्भर बनाउन लागिपरेको जानकारी दिइन् । यो वर्ष देशभर करिब ९० प्रतिशत धान रोपाइँ सफल हुने अनुमान कृषि तथा पशुपक्षी मन्त्रालयले अनुमान गरेको छ । देशको कुल धान उत्पादन हुने जमिनमध्ये करिब ५० प्रतिशत वर्षाको पानीको भरमा मात्रै रोपाइँ हुने गर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार