काठमाडौं(जस)–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको आकार बढ्ने भएको छ । बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको हो । बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय गरेको हो । यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको थियो ।
एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौँमा हुँदैछ । सो पार्टीले केन्द्रीय पदाधिकारी २१ जना बनाउन प्रस्ताव गर्ने र वरिष्ठ उपाध्यक्ष र सम्मानित नेताको पद कायमै राख्ने भएको छ । उपाध्यक्षमा एक जना महिला उपाध्यक्ष सुरक्षित गर्ने निर्णय गरेको प्रचार विभाग जगन्नाथ खतिवडाले जानकारी दिए । साथै यसअघिको व्यवस्थाअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्ने निर्णयलाई खारेज गरेको छ । साथै बैठकले महाधिवेशनमा विशिष्ट नेताहरूलाई सम्मान गर्ने पनि सो पार्टीले जनाएको छ ।
यसैबीच एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय पनि भएको छ । योसँगै वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन् । सचिव सातदेखि ९ जनासम्म हुने जनाइएको छ । एकीकृत समाजवादीको महाधिवेशनका क्रममा उनले नयाँ नेतृत्व चयनका लागि पार्टीका अध्यक्ष माधव नेपालसँग झलनाथ खनाल र घनश्याम भुसालले प्रतिस्पर्धा गर्ने बताइएपनि खनाल पछि हटिसकेको जनाइएको छ । उनले भुसाललाई समर्थन गर्ने जनाउ दिएसँगै नेपालसँग भुसालको प्रतिस्पर्धा हुन सक्ने देखिएको छ । साथसाथै नेताहरुले सहमतिमै नेतृत्व चयनका लागि पहल पनि जारी नै राखेका छन् ।