काठमाडौं(जस)–फागुन २० गते मध्यरातमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँगको सहकार्य एकाएक तोड्दै एमालेसँग सहकार्यको हात अघि बढाए । कांग्रेससँग सहकार्यमा सैद्धान्तिक र व्यवहारिक रुपमा सकस बन्दै गएपछि प्रधानमन्त्री प्रचण्डले सहकार्य तोडेका थिए । २०७९ को आम निर्वाचनपछि जम्मा ३२ सिट जितेको माओवादी केन्द्रले सत्ताका लागि सोही सिटलाई बार्गेनिङ टुल बनाइरहेको देखिन्छ ।
चुनावलगत्तै प्रधानमन्त्रीमा प्रचण्डले आफ्नो दाबेदारी प्रस्तुत गरे । माओवादीसँगकै सहकार्यमा चुनावी सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न तयार भएनन् । निर्वाचनमा आफू ठुलो पार्टी भएको र माओवादीलाई नेतृत्व दिन नसक्ने देउवा र उनको पार्टीको अडान थियो ।
त्रिशंकु संसद भएकाले कांग्रेसले सरकार बनाउन सहज थिएन तर, माओवादी गल्ला र नेतृत्व देला भन्ने विश्वासमा रहेको कांग्रेस एकाएक छागाबाट खसेजस्तो किन भयो भने २०७९ पुसमा प्रचण्ड एकाएक एमालेसँग सहकार्यको हात बढाउँदै सरकारको नेतृत्व गर्ने ठाउँमा पुगे । अर्थात प्रचण्ड एमाले, राप्रपा, रास्वपालगायतका दलको सहयोगमा प्रधानमन्त्री नियुक्त भए । त्यसपछि सत्ताबाट हुत्तिएको कांग्रेसको राष्ट्रपति निर्वाचनका क्रममा सत्तामा प्रचण्डलाई नै प्रधानमन्त्रीमा स्वीकार्दै कमब्याक भएपनि त्यसको एक वर्षपछि फेरि प्रचण्डलाई चिढ्याउने गरी विधान अधिवेशनबाट नीतिहरु पास गराएपछि कांग्रेसलाई महँगो साबित भएको थियो । अर्थात प्रचण्डले कांग्रेस जनयुद्धलाई नमान्ने र चुनावी गठबन्धन समेत नगर्ने अवस्थामा पुगेपछि फेरि एमालेसँगनै सहकार्य गर्दै कांग्रेससँग सहकार्य तोडेर नयाँ गठबन्धनमा आएका थिए ।
त्यसयता एमाले, रास्वपा, एकीकृत समाजवादी, जसपालगायतको सहकार्यमा सरकार चलाउँदै आएका प्रचण्ड जब अफ्ठारोमा पर्छन् त्रिशंकु संसदको फाइदा उठाउँदै आफू सहज हुने स्थानतिर हुत्तिन्छन् भन्ने आरोप समेत लाग्ने गरेको छ । अर्थात प्रचण्डले संसदमा आफ्नो ३२ सिटलाई भरपुर प्रयोग गरिरहेका छन् । यसैलाई छनक दिनेगरी प्रचण्डले शनिबार समेत ३२ अंक जादुमय भएको भन्दै टिप्पणी गरेका छन् । प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको समेत बताए । प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको दाबी गरे ।
‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएदेखि नै हो । तर तरिका मिल्यो भने पूरै अवधि बसिन्छ’, प्रचण्डले भने, ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ ।’ उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
सरकारमा रहँदासम्म भ्रष्टाचार न्यूनीकरण, सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले सरकारमा रहँदासम्म सत्तारुढ दलहरूबिच भएको समझदारीलाई इमानदारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले सरकार कायम रहने भएकाले सोही अनुसार ढुक्क भएर काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए । पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दल एमालेको चेपुवामा रहेको नेताहरु बताउँछन् । त्यसमाथि कर्मचारीले समेत नटेरिदिँदा उनी दिक्दारी देखिन्छन् । प्रधानमन्त्री भएदेखि नै कहिले एमाले त कहिले कांग्रेससँग ढल्किएर सत्ता चलाएका प्रचण्डका लागि खासमा युद्धकालीन जनसत्ता भन्दा राज्यसत्ता चलाउन निकै कठिन भएको उनको अभिव्यक्तिबाट स्पष्ट हुन्छ ।
शुक्रबार राजधानीमै आयोजित एक कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका थिए । पछिल्लो समय सरकारका स–साना काममा समेत सत्ता घटक मुख्य दल एमालेले हस्तक्षेप गरिरहेको राजनीतिक विश्लेषक डम्बर खतिवडाको बुझाइ छ । खतिवडाले राजनीतिक नियुक्तिदेखि प्रशासनिक क्षेत्रका सरुवा बढुवामा प्रधानमन्त्रीमाथि एमाले अध्यक्ष केपी ओलीले दबाब दिइरहेको सूचना आफूलाई आएको समेत बताए । ओलीकै दबाबका कारण प्रचण्ड जेठ २७ मा भारत भ्रमणमा जानुअघि भारत, अमेरिका, बेलायत लगायत ११ राजदूतलाई फिर्ता बोलाउन प्रचण्ड बाध्य भएको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
ओलीकै दबाबका कारण बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रास्वपाका सभापति रवि लामिछानेबिच राजदूत नियुक्तिमा भागबण्डा भएको बताइन्छ । तथापि कार्यकाल सकिनै लागेका राजदूतलाई राजनीतिक प्रतिशोधका आधारमा फिर्ता बोलाइएको भन्दै सरकारको आलोचना भइरहेको छ । यही मेसोमा धेरै मत पाएका पार्टी बाहिर र ३२ सिट भएको पार्टीले सत्ताको नेतृत्व गर्दा समस्या आएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको बुझाइ छ । जो–जोसँग धेरै सिट छ, उसँग दबाब शक्ति हुने भएकाले यस्तो अवस्थामा चाहेर प्रधानमन्त्रीले केही गर्न नसक्ने श्रेष्ठको टिप्पणी छ । प्रचण्डले दबाबका बीच ३२ सिटलाई कमजोर नआक्न एमालेसहितका दललाई सन्देश दिन चाहेको जस्तो देखिन्छ । त्यसमाथि कांग्रेसले फेरि सत्तामा जाने प्रयास गरिरहेकाले प्रचण्डको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ ।