काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन इरानतर्फ प्रस्थान गरेका छन् । उनी अमेरिका र भारतसहित ८ देशका राजदूतको सिफारिस पछि त्यसतर्फ प्रस्तान गरेका हुन् । परराष्ट्रपति इरान जाने भएकै कारण शुक्रबार बसेको बैठकले दलीय भागबण्डाका आधारमा १० राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार इरानको तेहरानमा सोमबार आयोजना हुने बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेका हुन् ।
मन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रीस्तरीय बैठकअघि मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले असार ९ गते हुने एसीडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन् ।
एसीडी सदस्य राष्ट्रमा नेपालसँगै अफगानिस्तान, कुवेत, दक्षिण कोरिया, बहराइन, रुस, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, इन्डोनेसिया, जापान, कतारलगायत ३५ देशहरू रहेका छन् ।
मन्त्री श्रेष्ठ असार १२ गते स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
उनी फर्किएसँगै सरकारले थप देशमा राजदूत नियुक्त गर्ने बताइएको छ । शुक्रबार पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गर्ने निर्णय भएको थियो ।
त्यस्तै, अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल र डेनमार्कका लागि सुम्निमा तुलाधर राजदूत सिफारिस भएका छन् ।
यसैगरी डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, नेत्रप्रसाद तिमल्सेना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरेबियाका लागि राजदूत सिफारिस भएका छन् ।
यसअघि सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोटाबाट राजदूत भएकालाई फिर्ता बोलाउने निर्णय गरेको थियो । अहिले पनि राजदूत राजनीतिक भागबण्डाका आधारमा सिफारिस भएका हुन् । जसअनुसार एमाले, माओवादी र जसपाको कोटाबाट राजदूत सिफारिस भएको एक नेताले जानकारी दिए । अब रास्वपासहितका दललाई समेटेर रिक्त रहेका थप देशमा राजदूत सिफारिस हुनेछ । विभागीय मन्त्री असार १२ मा स्वदेश फर्किएसँगै मन्त्रिपरिषद् बसेर राजदूतबारे निर्णय लिइने शुक्रबारको बैठकमै कुरा भएको एक मन्त्रीले जानकारी दिए ।