काठमाडौं(जस)–जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजित भएको छ । अशोक राईको नेृतत्वमा बनेको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले सोमबार आधिकारिकता दिएको हो । निर्वाचन आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन दिएका थिए । निर्वाचन आयोगको सोमबार बसेको बैठकले जसपा नेपालबाट विभाजित भई गठन भएको जनता समाजवादी पार्टीको दर्ता गर्ने निर्णयसँगै उपेन्द्र यादवको सानो पार्टीमा खुम्चिएका छन् ।
आइतबार जसपा नेपालबाट विभाजित भई नेता अशोक राई पक्षले आयोगमा दल दर्ताका निम्ति निवेदन दिएको थियो । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको जानकारी दिए । ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानुनका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावली ७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी (जसपा) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा रेकर्ड गर्ने’, आयोगको निर्णयमा भनिएको छ ।
तर यादव पक्षले भने जसपा विभाजन हुन कानुनै नभएको जिकिर गरेको छ । यस्तो अवस्थामा अब यादव पक्ष अदालत जाने बताइएको छ । यादव विदेश भ्रमणबाट मंगलबार बिहानमात्रै स्वदेश आइपुगेका छन् । यादवले कतारबाटै संसदीय दलको बैठक बोलाएका थिए । यादवले सोमबार कतारबाटै सांसदहरूलाई फोन गरेर मङ्गलवार बिहान संसदीय दलको बैठक राखिएको जानकारी गराएका हुन् । ‘अध्यक्षज्यूले संसदीय दलको बैठक मङ्गलवार बिहानका लागि बोलाउनुभएको छ । उहाँले कतारबाटै फोन गरेर भनेअनुसार बैठक राखिएको हो’, जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
न्युयोर्कमा आयोजना भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन गत शनिवार अमेरिका गएका उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव आइतबार कतार पुगेका थिए । यादव कतार रहेकै अवस्थामा उनी नेतृत्वको पार्टी अशोक राईको नेतृत्वमा विभाजन भएको थियो । यसैबीच निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद् सचिवालयलाई पठाएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको ब्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको जानकारी दिए । उनले आगामी वैशाख २८ गते संसद्को बजेट अधिवेशन आह्वान भएको सन्दर्भमा जसपा सत्तापक्ष वा प्रतिपक्षमा बस्ने कुरा सोधेर सोही अनुसारको सिट व्यवस्थापन गरिने जानकारी दिए ।
उनले भने, ‘निर्वाचन आयोगबाट दर्ता कायम रहेको जनता समाजवादी पार्टी नेपाल नामक राजनीतिक दलबाट छुट्टिई जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गर्नेगरी निर्वाचन आयोगको वैशाख २४ गतेको बैठकबाट निर्णय भएको भनी र सो ब्यहोरा उल्लेख गरी संघीय संसद् सचिवालयलाई पत्र प्राप्त भएको छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल विभाजन भएर निर्वाचन आयोगबाट त्यसको पुष्टि गरेर पत्र आइसकेपछाडि निश्चय नै सदनमा उहाँहरू कहाँ बस्ने भन्ने सन्दर्भमा उहाँहरूसँग सोध्छ । उहाँहरू सत्तापक्ष वा प्रतिपक्षमा बस्ने जानकारी गराएपछि सोही अनुकूलको सिट व्यवस्थापनको काम संसद् सचिवालयले गर्छ । संसदीय दल गठन गर्न केही विवरण उपलब्ध गराएपश्चात् उहाँहरूलाई सचिवालयले संसदीय दलको कार्यालय समेत उपलब्ध गराउँछ ।’
उनले जसपालाई संसदीय दलको कार्यालय समेत उपलब्ध गराइने बताए । जनता समाजवादी पार्टी, नेपालबाट फुटेर बनेको जसपा राष्ट्रिय मान्यताप्राप्त दल हो वा होइन भन्ने कुराको पुष्टि भने निर्वाचन आयोगले गर्ने उनले स्पष्ट पारे । यसैगरी नवगठित पार्टीका अध्यक्ष राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपरेको बताए । निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद् सचिवालयमा बुझाउन सोमबार सिंहदरबार पुगेका उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष राईले पार्टीको आसन्न महाधिवेशनमा लाठे रोपाईं हुने स्थिति देखिएपछि त्यही पार्टीमा बस्ने कुरा राम्रो नहुने भएको भन्दै नयाँ पार्टी दर्ता गरेर जाने आफूहरू निष्कर्षमा पुगेको बताए । अध्यक्ष राईले सत्ता राजनीतिका कारण आफूहरूले पार्टी विभाजन नगरेको जिकिर पनि गरे । सांसदहरूले संसदीय दल विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग कुनै न कुनै रूपमा जोडिन जाने भएपनि सत्ता राजनीतिको कारण पार्टी विभाजन नभएको उनको भनाई थियो । अध्यक्ष राईले आफ्नो पार्टीले अब संसदमा रचनात्मक क्रियाकलाप गर्दै अघि बढ्ने बताए ।उनले भने, ‘सत्ता राजनीति त हामी सांसदहरूले संसदीय दलबाट विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग त कुनै न कुनै रूपमा प्रत्यक्ष, परोक्ष रूपमा जोडिन जान्छ । तर सत्ता राजनीतिको कारण चाहिँ होइन यो विभाजनको । सत्तामा नै छौ नि त हामी त । हाम्रो त वनमन्त्रीजी अहिले सरकारमा हुनुहुन्छ । उहाँले अगुवाइ गरिरहनु भएको छ यो विभाजनमा । हामी सत्तामा नै छौँ । त्यसको निम्ति त अरू के राजनीति गर्नु र्पयो । सत्तामा जानका निम्ति हामीले राजनीति गर्नुपर्ने, हामी सत्तामा नै छौँ ।’ अध्यक्ष राईले यादवले सत्ता गठबन्धन फेरबदल गर्ने कुराबारे आफूहरू बेखबर रहेको पनि बताए ।