काठमाडौ(जस)–नेपाल र कतारबीच श्रम श्रम सम्बन्धी सम्झौता नवीकरण निकट भविष्यमै हुने भएको छ । प्राविधिक हिसाबले श्रम सम्बन्धी विषय कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममै टुंगोमा नपुगेपनि दुबै पक्षबाट थप गृहकार्य सम्पन्न भएपछि निकट भविष्यमै यस विषयको टुंगो लाग्ने भएको हो ।
नेपाली पक्षले नेपाली श्रमिकको हकहितका विषय उठान गर्दै सम्झौतामा पुनरावलोकन गर्नुपर्ने बताएको थियो । त्यसका लागि दुवै पक्षका बिचमा जतिसक्दो छिटो यसबारेमा टुङ्गोमा पुग्ने सहमतिसमेत भएको थियो । तर, केही विषयमा अझै होमवर्क जारी रहेकाले अहिले सम्झौता हुन नसकेको हो ।
श्रम मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाका प्रमुख उपसचिव महेश पराजुलीले जति सकिन्छ चाँडो टुङ्गोमा पुगेर सम्झौता गर्नेगरी छलफल भएको बताए । त्यसका लागि नेपाल र कतारबिचको संयुक्त प्राविधिक समितिले काम गर्र्दै आएको बताइएको छ । २००५ को सम्झौतालाई पुनरावलोकन गरेर नयाँ सन्दर्भलाई पनि जोडेर जानुपर्छ भन्नेमा कतारका अधिकारीहरू समेत तयार रहेको बताइएको छ । तर त्यसमा ‘के के कन्टेन्ट राख्ने ? कस्ता खालका विषय समेट्ने भन्ने विषयमा छलफल जारी नै रहेको छ ।
कतारका लागि नेपाली राजदूत डा नरेश विक्रम ढकालले श्रमको विषय छिट्टै टुंगो लाग्ने बताए । कतारमा घरेलु कामदार र पारिश्रमिकको विषयमा अझै छलफल जारी रहेको र यो टुंगिनासाथ निष्कर्षमा पुगिने बताए । उनकै जस्तो भनाइ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाको पनि छ । सापकोटाले श्रम सम्बन्धी सम्झौता नभए पनि कतारी राजासँग त्यो विषयमा गम्भीर छलफल भएको बताए । बुधवार बिहान प्रधानमन्त्री प्रचण्ड र कतारी राजाबिच वान टू वान वार्ता हुँदा नेपाली श्रमिकका विषयमा छलफल भएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले कतारका राजासँग नेपाल र कतारबिच रहेको श्रम सहकार्यको क्षेत्रलाई अगामी दिनमा कसरी विस्तार गर्ने विषयमा कुराकानी भएको सल्लाहकार सापकोटाले जानकारी दिए । श्रम सहकार्यलाई अझै नयाँ ढङ्गबाट अगाडि बढाउनेमा दुवै पक्ष सहमत भएको र त्यसमा चाँडै नै छलफल गरेर अगाडि बढ्ने कुराकानी भएको उनले बताए ।
नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान धारणा राख्ने भएकाले संयुक्त राष्ट्र सङ्घ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले विश्व शान्ति, सुरक्षा र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । नेपालका तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सन् २००५ मार्च २१ मा कतारको भ्रमण गरी नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सन् २००५ मा सम्झौता हुँदा र अहिलेको अवस्थाको मार्केट भ्यालु निकै फरक भएको छ । तर, श्रमिकले त्यही सम्झौताको आधारमा न्यूनतम पारिश्रमिक पाउने अवस्था छ । नेपालले यसलाई मार्केट भ्यालु अनुसार परिमार्जन गर्नुपर्ने प्रस्ताव नेपालको छ । हाल कतारमा झण्डै ४ लाखको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको बताइएको छ ।