मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

नेपाल–कतारबीच ८ बुँदे समझदारी :भ्रमण उपलब्धिमूलक, कतारी लगानी बढ्ने

बुधबार, बैशाख १२ २०८१

काठमाडौँ । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण उपलब्धिमूलक बनेको सरकारी पक्षले जनाएको छ । कतारी अमिरको दुई दिने भ्रमणको क्रममा ८ बुँदे सम्झौता र समझदारी हुनुले आगामी दिनमा दुई देशबीचको सहकार्यको दायरा बढाउन मार्गप्रशस्त गरेको सरकारी पक्षको भनाइ छ । परराष्ट्र मन्त्रालय, विभिन्न मन्त्री, कूटनीटिज्ञका साथसाथै कतारस्थित व्यवसायी र सरोकारवालाले पनि भ्रमण उपलब्धिमूलक बनेको बताउँदै आगामी दिनमा दुई देशबीचको सहकार्यले गति लिँदै नेपालमा कतारी लगानी बढ्ने विश्वास व्यक्त गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादु बस्नेतले कतारी अमिरको भ्रमण आफैँमा महत्वपूर्ण र ऐतिहासिक रहेको बताए । ‘सबैसँग छलफल गर्ने र सामूहिकतामा विश्वास गर्ने उहाँको स्वभाव रहेछ’, अमिरको भ्रमणको समग्र व्यवस्थापनलगायतका कामको कुशलतापूर्वक जिम्मेवारी निभाएका उनले भने, ‘ बैठकमा खुलस्त छलफल गर्ने अमिरको स्वभावका कारण पनि एक आपसमा भएका छलफल प्रभावकारी भएको मैले महसुस गरेको छु ।’
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँगका भेटवार्तामा समेत आफूले त्यो अनुभव गरेको उनको भनाइ छ । ‘सँगसँगै हिड्ँदाका क्रममा पनि कतारका अमिरले नेपालको समग्र पक्षबारे चासो राख्नुभएको थियो । उहाँको जिज्ञासु स्वभावले पनि धेरै विषयमा अन्तरक्रिया गर्न पाइयो’, बस्नेतले भने, ‘उहाँले नेपालका विभिन्न पक्षबारे व्यक्त गर्नुभएको चासोदेखि नेपालप्रति उहाँको दृष्टिकोण निकै सकारात्मक भएको मैले पाएको छु । उहाँसँगको सामिप्यताबाट कतारका अमिरले नेपाललाई माया पनि गर्नुहुने र कतारमा कार्यरत नेपाली श्रमिकमाथिको उच्च भरोसा र सम्मान रहेको पाएँ । नेपालबारे पनि राम्रो ज्ञान रहनुका साथै नेपालप्रति चासो र सद्भाव पनि उहाँले सो क्रममा व्यक्त गर्नुभएको थियो ।’
बस्नेतले अमिरको भ्रमणका क्रममा उर्जा, पर्यटन र कृषिलगायत क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा दुई पक्षबीच महत्वपूर्ण छलफल भएको जानकारी दिए । ‘कला, संस्कृति, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा पनि दुई देशबीचमा समझदारी भएका छन् । निजी क्षेत्रबाट पनि दुईवटा महत्वपूर्ण समझदारी भएका छन्’, उनले भने, ‘यी उपलब्धिलाई अहिले सुरुआतका रुपमा लिन सकिन्छ । आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य गरी अघि बढ्नेमा पनि समझदारी भएका छन् ।’ दुई मुलुकबीचको सहकार्यलाई व्यवस्थित गर्न बाटो खुलेको सरकारले महसुस गरेको उनको भनाइ छ । जसका लागि दुई देशले संयुक्त कार्यदल नै बनाएर सहकार्य र सहयोगका क्षेत्र पहिचान गर्ने सहमति पनि भएको बस्नेतले बताए ।
मंगलबार नेपाल भ्रमणमा आएर बुधबार अपराह्न स्वदेश फर्किएका अमिरले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डसँग वान टु वान र द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटवार्तापछि दुई देशबीच विभिन्न ८ विषयमा सम्झौता र समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कतारका अमिर र प्रधानमन्त्रीको उपस्थितिमा होटल सोल्टीमा उक्त सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो ।
जसअनुसार नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान सम्झौता तथा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यसैगरी युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका तर्फबाट विदेश राज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका हुन् । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो । सरकारले उनको भ्रमणका अवसरमा वैशाख ११ गते नेपालभर सार्वजनिक बिदा दिएको थियो । कतारी अमिर स्वदेश फर्किनुअघि प्रधानमन्त्री प्रचण्डले बुधबार दिउँसो द्वारिका होटलमा दिवाभोजको आयोजना गरेका थिए ।
कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार अपराह्न यहाँ काठमाडौँ आइपुगेका थिए । कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका थिए । राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गरेका थिए भने उनको स्वागत र विदाइमै विमानस्थल पुगेक थिए । कतारी अमिरको भ्रमणका क्रममा नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसमूह’ गठन गर्ने समझदारी भएको छ । यसबाट सरोकारवाला उत्साहित भएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा कतारका स्थापित व्यवसायी आरके शर्माले दुवै देशका तर्फबाट ‘कार्यसमूह’ गठन हुनु निकै सकारात्मक रहेको बताए । उनले अमिरको भ्रमण सफल भएको बताउँदै अब क्रमशः कतारी सहयोग र लगानी बढ्ने जानेमा विश्वास लिए । उनले अहिलेको भ्रमण सुरुवाती मात्रै रहेको आफूले बुझेको भन्दै विस्तारै आर्थिक समृद्धिमा कतारबाट नेपालले धेरै फाइदा लिन सक्छ भन्ने आफूलाई लागेको धारणा राखे । यस्तै कतार र नेपालबीच रासायनिक मल खरिदका लागि समझदारीका लागि निरन्तर पहल हुनुपर्ने पनि धारणा राखे ।
यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्टले पनि भ्रमण फलदायी भएको भन्दै ८ बुँदे सहमति कार्यान्वयन गर्दै थप सहकार्यमा जोड दिए । प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले प्रधानमन्त्रीले कतारका राजासँग नेपाल र कतारबिच रहेको श्रम सहकार्यको क्षेत्रलाई अगामी दिनमा कसरी विस्तार गर्ने विषयमा पनि कुराकानी गरेको बताए । श्रम सहकार्यलाई अझै नयाँ ढङ्गबाट अगाडि बढाउनेमा दुवै पक्ष सहमत भएको र त्यसमा चाँडै नै छलफल गरेर अगाडि बढ्ने कुराकानी भएको उनको भनाइ थियो । कतारी राजाको नेपाल भ्रमण उपलब्धिमूलक रहेको र यसले दीर्घकालीन सम्बन्धलाई अझ बलियो बनाएको उनले दाबीसमेत गरे । यस्तै परराष्ट्र मामिलाका जानकार अरुण सुवेदीले मध्यपूर्वको महत्वपूर्ण देशमध्ये एक कतारका राजाले पहिलो पटक नेपालको भ्रमण गर्नु आफैँमा ऐतिहासिक कुरा रहेको बताए । नेपाल र कतारले सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए । त्यस समयदेखि नै दुई देशबीचको सम्बन्ध आपसी विश्वास, सम्मान, समझदारी र सहयोगमा आधारित सौहार्दपूर्ण र मैत्रीपूर्ण रहँदै आएको छ ।

समझदारीका ८ बुँदा
१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबिच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र ।
२. राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्यूएनए) बिच समाचार आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौता ।
३. नेपाल सरकार र कतारको सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयू) ।
४. नेपाल सरकार र कतारको सरकारबिच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र ।
५. नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतारको सार्वजनिक अभियोजनबिच सहयोगका लागि समझदारी पत्र ।
६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान (आईएफए) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबिच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र ।
७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबिच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्ने सम्बन्धी सम्झौता ।
८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबिच भएको समझदारी पत्रको नवीकरण ।

प्रतिक्रिया
सम्बन्धित समाचार