इलाम(जस)–सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धाउने षडयन्त्र भइरहेको बताएका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले वर्षौंदेखि सत्तामा बसिरहेकाले नयाँ मान्छे आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिध्याउने षडयन्त्र भइरहेको बताएका हुन् । उनले रास्वपालाई सिध्याउने षडयन्त्र भए पनि जनताले उठाएको शक्तिलाई सक्काउने तागत कसैसँग नरहने दावी गरे ।
लामिछानेले देशलाई सुशासनको बाटोतर्फ बढाउन रास्वपालाई थप शक्तिको आवश्यक रहेको बताएका छन् । चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनु पर्ने अवस्था आउन नदिन मतदाताले विवेकपूर्ण निर्णय गर्नुपर्ने उनले बताएका छन् । उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले मौन अवधिमा हुने आचारसंहिताका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिए । उनले पैसा बाँड्नेहरुको फोटो खिचेर पठाउन समेत सुरक्षाकर्मीलाई निर्देशन दिए ।
सहकारी ठगीमा प्रमाणसहित उपस्थित हुन्छौं
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित आफूहरु उपस्थित हुने बताएका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान रोकिएको बताएका छन् । उनले गृह मन्त्रालयको विषयमा प्रश्न उठेपछि गृहमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ दिनुपर्ने बताउँदै उनले भने, ‘अहिले उठेको मुद्दा गृह मन्त्रालयसँग सम्बन्धित होइन । सहकारी ठगीसँग सम्बन्धित हो । संसदमा कांग्रेसले संसदीय छानबिन समिति बनाउनु पर्छ भन्यो । कतिपयले भन्नु भयो–प्रमाण के हो भनेर । अब संसद बस्दैगर्दा कांग्रेस प्रमाणका साथ उभिन्छ, प्रश्न एक जनाको होइन । गाँस काटेर ७३ हजारभन्दा धेरै आज सहकारीमा आबद्ध छन् । ५० हजार बढी ठगीमा परेका छन् । त्यसलाई छानबिन गरौं भन्दा छानबिन नगर्नुपर्ने विषय होइन ।’
शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने बताएका छन् । उनले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर कांग्रेस अहिले एक्लै चुनावमा भाग लिइरहेको बताए । ‘इलामले अब परिवर्तन खोजेको छ। विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ ।’ उनले थपे, ‘हामी राम्रोसँग चुनाव लडौँ । एउटाले अर्कोलाई गाली नगरी चुनाव लडौँ । स्वस्थ ढंगले आलोचना मात्रै गरिराखेर लडौँ । नेपाली कांग्रेस पार्टी एक्लै चुनावमा रुख चिन्ह लिएर खडा छ । हाम्रो अनुभवले के भन्यो भन्दा चुनावअघिको गठबन्धन गलत हुँदो रहेछ ।’
इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका डम्बर खड्काले पहिचानको मुद्दामा नेपाली कांग्रेसले पूर्ण रुपमा सहयोग प्रतिबद्धता व्यक्त गरे । उनले नाम तोकिसकिएको कोशी प्रदेशलाई १ नम्बर प्रदेशको रुपमा अभिव्यक्त गर्दै आफूले पहिचानवादीको मुद्दा बोकेकाहरूको माग सम्बोधन गर्न भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाइसकेको जानकारी दिए ।
रविलाई गगनको व्यंग्य
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्काको नाकको डाँडी भाँच्छु भन्ने रवि लामिछानेले आफ्नैबारे सोध्दा मलाई के थाहा भनेर उम्किन नमिल्ने बताएका छन् । इलाम– २ मा वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचन प्रचारका लागि पुगेका महामन्त्री थापाले उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने छानबिन समितिबाट भाग्दा झन बढी संशय पैदा भएको टिप्पणी गरे । उठेको बताएका हुन् ।
‘अर्काको नाकको डाँडी भाँच्छु भन्दा वाहवाह । आफ्नोबारे सोध्दा मलाई के थाहा भनेर पाइन्छ ? कांग्रेसले निरन्तर संसदीय समिति गठनको माग गरेका छ । समितिमा को बस्छ ? एमालेले नेतृत्व गर्छ । माओवादी, कांग्रेस, रास्वपा, एमाले बस्छ, राप्रपाका सदस्य बस्छन्,’ इलाम– २ का कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काको चुनावी प्रचारलाई सम्बोधन गर्दै थापाले भने, ‘समितिले छानबिन गर्दा इलाममा उभिएर बोलेको आरोप गलत रहेछन् भने सार्वजनिक बेइज्जती कसको हुन्छ ? मेरो हुन्छ, कांग्रेसको हुन्छ, फाइदा कसलाई हुन्छ ? रास्वपालाई हुन्छ । तर हामी डराएका छैनौं । यसैले कांग्रेसले समिति बनाउँ भनेको हो । तर अनुसन्धान गर्ने भनेको व्यक्ति किन डराइरहेको छ ? किन मानिरहेको छैन ? यहाँ मत माग्न आउनेलाई तपाईंले सोध्नुपर्छ कि पर्दैन ?’
सहकारीमा सर्वसाधारणले जम्मा गरेको पैसा जीबी राई र रवि लामिछाने मिलेर हिनामिना गरेको आरोप पनि थापाले लगाएका छन् । ‘जीबी राईले सबै पैसा ग्यालेक्सी टीभीमा लगाएको छु भनेका छन् । यही विषयलाई हामीले सदन र सडकमा उठाउँदै आएका छौं । तर राजनीतिक आग्रहका आधारमा भनेको छैन । गोर्खा मिडियाका मालिक, जिबी राई र रवि लामिछाने हुन् । पाँचवटा सहकारीको एक अर्ब रुपैयाँ गोर्खा मिडियामा गएको छ । खासमा एक सुक्का पनि लान पाइँदैनथ्यो । सर्वसाधारणको पैसा एक अर्ब कसले फिर्ता गर्छ ? ती मान्छेले न्याय पाउनु पर्दैन ?,’
थापाले भने, ‘४७ सालदेखि मात्र होइन कांग्रेस, एमाले, माओवादीका सबै मन्त्री र यिनका शाखा सन्तानको सम्पत्ति छानबिन गरौं । एक रुपैयाँ तलमाथि गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ । कांग्रेस, एमाले र माओवादी जसले नराम्रो काम गर्छ थुन्ने हो । तर तपाईंको जिल्लामा आएको रास्वपाका पार्टी नेता पनि दोषी देखिए सो पार्टीबाट उठेका उम्मेदवारले थुन भनेर भन्न सक्छ ?’