जनसवाल संवाददाता
काठमाडौँ । जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण झण्डै २६ हजार घर पूर्ण रुपमा भत्किएका छन् । गृहमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २६ हजार ५२० घर पूर्ण रुपमा र ३५ हजार ३९१ घर आंशिक रुपमा भत्किएका हुन् । अहिले लगातारको परकम्पका कारण स्थानीयहरु अहिले पनि आफ्नो घरमा बस्न डराइरहेका छन् ।
गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै जाजरकोटमा ९ हजार ७९४ घर पूर्ण रुपमा भत्किएका छन् भने २४ हजार ७०७ घर आंशिक रुपमा भत्किएका छन् । त्यस्तै सल्यानमा १२९ घर पूर्ण र ४१८ घर आंशिक रुपमा भत्किएका छन् । यस्तै रुकुम पूर्व, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्यूठान र अछाममा पनि घर भत्किएका छन् ।
प्रारम्भिक विवरणअनुसार जाजरकोटमा मात्रै ९ हजार भन्दा बढी घर भूकम्पले पूर्णरुपमा भत्किएका छन् । यस्तै २४ हजार भन्दा बढी घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो ।
यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ । जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् । भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको प्रशासनको भनाइ छ ।
भूकम्पका कारण जाजरकोटका ७ स्थानीय तहहरु शिवालय गाउँपालिका, कुशे गाउँपालिका, जुनिचाँद गाउँपालिका, बोरकोट गाउँपालिका, भेरी नगरपालिका, नलगाड नगरपालिका र छेडगाड नगरपालिकामा भौतिक र मानवीय क्षति भएको छ । यसैगरी रुकुम पश्चिममा पनि भूकम्पको क्षतिको विवरण संकलनको क्रम जारी रहेको छ । प्रारम्भिक विवरणअनुसार आठबिसकोट गाउँपालिकामा १ करोड बराबरको भौतिक क्षति भएको छ । यस्तै मुसिकोट गाउँपालिकामा १ करोड ३ लाख, सानी भेरी गाउँपालिकामा ६५ करोड, चौरजहारी गाउँपालिकामा र त्रिवेणी गाउँपालिकामा पनि करोडौँको क्षति भएको छ ।
कोषमा रकम जम्मा हुने क्रम जारी
बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई राहत सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि अपिल गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीले मंगलबारसम्म बैंकमा ५ करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । बुधबारको डाटा नआएकाले यो रकम बढ्ने उनको भनाइ छ । उनका अनुसार सहयोगी दाताहरुबाट प्रधानमन्त्रीलाई हस्तान्तरण भएको चेक सम्बन्धित बैकमा क्लियरेन्सका लागि पठाइएको छ । उनले भने,‘ हामीले तोकेको बैंकहरुका खातामा अहिलेसम्म जम्मा भएको रकमको विवरण यही हो, थुप्रै चेकहरु आएका छन्, बैंकमा क्लियरेन्सका लागि पठाएका छौँ ।’
यसैगरी भूकम्प पीडितलाई सहयोगार्थ सरकारी कर्मचारीको तलब कट्टा हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सहसचिवदेखि मुख्यसचिवसम्मको तीन दिनको, शाखा अधिकृतदेखि उपसचिवसम्मको दुई दिनको र यस मुनिका तहका कर्मचारीको एक दिनको तलब कट्टा गरिने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखा प्रमुख भण्डारीका अनुसार तलब कट्टाका लागि सम्बन्धित कार्यालयहरुलाई मन्त्रालयमार्फत जानकारी गराइसकेका छ । यस्तै सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित मातहतका न्यायाधीश र कर्मचारीको पनि ७ दिनको तलब भूकम्प पीडितलाई जाने भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट रुकुम पश्चिम र जाजरकोटमा पनि १५३ जनाको मृत्यु भएको छ भने अर्बौँको क्षति भएको छ । भूकम्पबाट सर्वसाधारणको घरमा क्षति पुग्नुका सागै विद्यालयसहितका सरकारी संरचनामा पनि क्षति पुगेको छ ।