काठमाडौं(जस)–प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पराराष्ट्र सचिव शंकरदास बैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायत सहभागी थिए।
तीन वर्षको अन्तरालपछि नेपाल-भारत दुईपक्षीय समग्र विषयमा छलफल गर्न २५ सदस्यीय उच्च अधिकारीको नेतृत्व गर्दै जयशंकर काठमाडौं आएका हुन्।
विदेशमन्त्री जयशंकरले भारतीय दूतावासमा राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ। जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र एस जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ। विभिन्न पाँच क्लस्टरमा छलफल भएपछि बैठक बिहीबार सकिनेछ।