शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेपाल–भारत संयुक्त बैठक भोलिदेखि, जम्मु काश्मीर मामिलामा नेपाल चूप बस्ने

मंगलबार, भाद्र ३ २०७६

काठमाडौं (जस)– नेपाल र उसका निकटका छिमेकी तथा बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्न सरकारले सबै राजनीतिक दल र तिनका नेतासँग आग्रह गरेको छ । केही दिनअघि प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल–भारत सम्बन्धमा आँच पुग्ने गरी एक जना सदस्यले गरेको टिप्पणीप्रति असहमति जनाउँदै सरकारले त्यस्तो आग्रह गरेको हो । “नेपालले कहिल्यै कल्पना नगरेको विषयमा गरिएको टिप्पणी सरकारलाई अस्वीकार्य छ”, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार परराष्ट्र मन्त्रालयमा संवाददातामाझ भने । समितिमा बोलिएको भनिएको विषयको सत्यताप्रति आफूलाई सन्देह रहेको पनि उनले बताए ।
समितिको बैठकमा नेपाली काङ्ग्रेसका सांसद प्रदीप गिरीले नेपाललाई पनि सिक्किम बनाउने अवसरको खोजीमा भारत रहेको भनेर दिएको अभिव्यक्तिका सन्दर्भमा सञ्चारकर्मीको जिज्ञासा साम्य पार्दै मन्त्री ज्ञवालीले त्यो स्तरको संसद् सदस्यबाट त्यति हलुका टिप्पणी भयो होला भन्ने आफूलाई नलागेको बताए । मन्त्री ज्ञवालीले भारतले नेपाललाई सिक्किम बनाउँछ भन्ने कल्पनै गर्न नसकिने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले जम्मु काश्मीरको विषय नेपाल–भारत संयुक्त बैठकको एजेन्डा नबन्ने बताएका छन् । यही भदौ ४ र ५ गते हुने नेपाल–भारत संयुक्त बैठकका बारेमा जानकारी दिर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले उनले भने, ’काश्मीरको विषय एजेन्डा बन्दैन । बन्ने विषय पनि होइन ।’ उनले नेपाल क्षेत्रीय शान्तिको पक्षमा रहेको भन्दै जम्मु काश्मीरको विषयले त्यसमा समस्या नल्याउने पनि स्पष्ट पारे ।

भारतले संविधानको धारा ३७० खारेज गर्दै जम्मू कश्मीरको विशेष राज्यको दर्जा खोसेपछि छिमेकी राष्ट्र र सार्कको अध्यक्ष देशका हिसाबले अहिलेसम्म नेपालले कुनै प्रतिक्रिया दिएको छैन । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताउदै जम्मू कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको जानकारी दिए । उनले अगाडी भने क्षेत्रीय शान्ति खलबलिन नदिन आग्रह गर्दै उनले भने, ‘भारतले पनि यसलाई गम्भीरतापूवर्क लिन्छ भन्ने विश्वास छ ।’

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षका नाताले यसलाई गति दिन संयुक्त राष्ट्र सङ्घको ७४औँ महासभाका क्रममा सदस्य देशका विदेशमन्त्रीसँग आगामी महीना न्यूयोर्कमा अनौपचारिक छलफल हुने जानकारी मन्त्री ज्ञवालीले दिए । नेपाल–भारत संयुक्त बैठकमा भाग लिन भारतीय विदेश मन्त्री सुब्रमन्यम जयशंकर बुधबार नेपाल आउदै छन् । उनले बैठकमा भारतीय पक्षको नेतृत्व गर्दै छन् । सन् १९८७ मा स्थापना भएको ज्वाइन्ट कमिसनको पछिल्लो बैठक २०१६ मा भारतको नयाँ दिल्लीमा भएको थियो । गत फेब्रुअरीमै हुनुपर्ने यो बैठक भारतमा हुनलागेको आम निर्वाचनका कारण अगष्टका लागि सरेको थियो । संयुक्त बैठकमा दुई देशबीचको सम्बन्ध कनेक्टिभीटी, आर्थिक पार्टनरसीपसहित विभिन्न क्षेत्रमा आपसी सहयोग, व्यापार, उर्जा, जलस्रोतका विषयमा छलफल हुने मन्त्रालयले जानकरी दिएको छ । नेपाल भ्रमणका क्रममा जयशंकरले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेंटने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार