आइतबार, असोज २१ २०८०
आधुनिकता र शहरीकरणको विस्तारसँगै बालबालिकाहरुले खेल्ने खेलाउने विभिन्न खालका खेलौनाहरु बजारमा प्रसस्त पाइन्छन् । विद्यालय, घर वा पार्क आदि ठाउँमा पनि उनीहरु तिनै खेलौनामा रमाउने गर्दछन् । बालबालिकालाई उपहारस्वरूप गुडिया तथा खेलौना दिनेहरूलाई थाहा नहुन सक्छ, यसले रोगको जोखिम पनि बढाउँछ भन्ने । ती बालबालिकाले खेल्ने खेलौनाहरु कत्तिको सुरक्षित र स्वाथ्यमैत्री छ भन्ने कुरामा अभिभावक, शिक्षक वा अन्य कसैले ध्यान दिएको देखिंदैन । नेपाली बजारमा पाइने ६० प्रतिशतभन्दा बढी खेलौनाहरुमा उच्च स्तरमा विषाक्त गहुङ्गो धातु र हानिकारक रसायनहरु पाइएको अध्ययनले देखाएको छ ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) ले सन् २०१३ मा गरेको अध्ययनअनुसार अध्ययनमा बालबालिकाको खेलौनामा पारो–मर्करीलगायतका उच्च स्तरका घातक रसायनहरु पाइएको थियो । खेलौनाका नमूनाहरुमध्ये ६२ प्रतिशत (५२ नमुनामध्ये ३२ वटामा खतरनाक हानिकारक गरुङ्गो धातु र अन्य रसायनहरु जस्तै सिसा (लेड), क्याडमियम, क्रोमियम, बेरियम, ब्रोमिन र जिंक आदि निकै उच्च स्तरमा पाइएको थियो । ती खेलौनाहरुमा प्रयोग हुने रङ वा अन्य रसायनहरु बालबालिकाको स्वास्थ्यका लागि निकै हानीकारक रहेको चिकित्सकहरु बताउँछन् । खेलौनाबाट भयावह अवस्था आउने देख्दादेख्दै पनि नेपालमा सरोकारवाला निकायबाट कुनै चासो दिइएको छैन । ५ वर्ष मुनिका बालबालिकाहरु यी हानिकारक रसायनहरुको सम्पर्कमा आई प्रभावित हुनसक्ने अवस्था झन् जोखिमपूर्ण हुने हुन्छ ।
सिफेडको अध्ययनमा जम्मा १०० नमूनामध्ये ५४.५ बालबालिकाको खेलौनामा स्वास्थ्यको हिसाबले अत्यन्त हानीकारक मानिने गह्रौं धातुहरु लिड, मर्करी, क्रोमियम, क्याडमियम र ब्रोमीन पाइएको थियो । जसको मात्रा कम्तिमा ३.६ पिपिएमदेखि ८३०५.८ पिपिएमसम्म रहेको थियो । प्राप्त नमूनाहरुमा २८ वटामा लेड (सिसा), एउटामा मर्करी (पारो), नौ वटामा क्याडमियम, १४ वटामा क्रोमियम तथा ४० वटामा ब्रोमिन भेटिएको थियो । ५४.५ नमुनामा कम्तिमा कुनै एक रसायन, २७५ मा कम्तिमा कुनै दुई रसायन, ११५ मा कम्तिमा कुनै तीन रसायन, १.५ मा भने चारवटासम्म रसायन भेटिएको थियो ।
खेलौनाहरूले बालबालिकामा सिर्जनशीलता, रचनात्मकता, क्रियाशीलता, र समस्या समाधान गर्ने क्षमताहरूको विकासमा मद्दत पुग्दछ । खेलले बालबालिकाको चौतर्फी विकासको लागि महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरूलाई खेल्न प्रेरित गर्नुपर्छ । बालबालिकाको शारीरिक, सामाजिक, भावनात्मक र बौद्धिक विकासमा टेवा पु¥याउने र कुनै किसिमको हानी नोक्सानी नगर्ने खेलौनाहरू सुरक्षित खालको हुनुपर्छ । बालबालिकाको उमेर अनुसार तोकिएको मापदण्ड पूरा गरी बनाइएका र गुणस्तर प्रमाणीकरण चिन्ह भएका, धारिला वा तीखा किनाराहरू नभएका, आगो नबल्ने, नपड्किने गरी बनाइएका, बालबालिकाले सम्हाल्न सक्ने तौल भएका, चर्को आवाज नभएका, घाँटीमा अड्किने र निल्न सक्ने खालका वस्तुहरू प्रयोग नगरिएका र अत्यधिक चुम्बकीय वस्तुहरू प्रयोग नभएका सुरक्षित खेलौनाहरू हुनुपर्छ । बालबालिकाको शारीरिक, सामाजिक, भावनात्मक र बौद्धिक विकासमा टेवा पु¥याउने र कुनै किसिमको हानीनोक्सानी नगर्ने खेलौनाहरू सुरक्षित खेलौना हुन् । यस्ता वस्तुहरू सामान्यतया १६ वर्षमुनिका बालबालिकालाई लक्षित गरी बनाइएका हुन्छन् ।
बालबालिकाहरुले खेलौना मुखमा टोक्दा वा चुस्दा त्यसमा टाँसिएका घातक रसायन सिधै शरिरभित्र प्रवेश गर्दछ । कतिपय खेलौनामा आँखाले देख्न सकिने भौतिक पदार्थ जस्तैः धुलो, माटो, फोहर वा आँखाले देख्न नसकिने किटाणुहरू टाँसिएका हुन सक्दछन् । खेलौनाहरूलाई बढी आकर्षक, नरम बनाउने र आकार मिलाउने आदि प्रयोजनले खेलौनाहरूमा गह्रौं धातु तथा विषाक्त रसायनहरूको धेरै प्रयोग गरिएको हुन्छ । ठूलो आवाज आउने खेलौनाहरूले बालबालिकाको श्रवणशक्ति र ज्यादा चम्किलो वा बहुरङ्गी खेलौनाहरूले बालबालिकाको दृष्टिशक्तिलाई कमजोर बनाउन सक्दछ । स–साना गुच्चाहरू, बटन, मोती जस्ता दानाहरू वा त्यस्तै गेडागुडीजस्ता खेलौनाहरु बालबालिकाले निल्न सक्ने तथा घाँटीमा अड्किन सम्भावना पनि उत्तिकै रहन्छ । गुडिया, गाडी लगायतका बालबालिका लागि बनाइएका यस्ता सामग्रीहरूमा रसायन हुनसक्ने र बालबालिकाले कुनै पनि समय मुखमा पनि लगाउन सक्ने भएकाले अभिभावकले खेलौना दिँदा सफा गरेर दिनुपर्छ ।
शहरी क्षेत्रका अहिलेका बालबालिकाहरू शारीरिक रूपमा खेलिने खेलहरूबाट बञ्चित भइरहेका छन् । पर्याप्त खेलमैदानको अभाव तथा इन्टरनेटमा सहज पहुँचका कारण मोबाइलमा खेलिने खेलहरूमा नै उनीहरु बढी आकर्षित हुन्छन् । मोवाइलका स्क्रिनमा धेरै समय बिताउँदा उनीहरूको शारीरिक गतिविधि कम हुनाले शारीरिक विकासमा असर गर्नुको साथै उनीहरूको स्वभाव एकलकाँटे, अन्र्तमुखी र सङ्कुचित स्वभावका हुने गरेको देखिन्छ । उनीहरु सानो कुरामा पनि रिसाउने, झर्किने गर्दछन् ।
रसायनयुक्त खेलौनाको जोखिम
बालबालिकाको खेलौनामा लेड, पारो–मर्करीलगायतका उच्च स्तरका घातक रसायनहरुले उनीहरुको स्वास्थ्यमा दीर्घकालीन असर गर्दछ । विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्यमा असर पार्ने १० वटा रसायनहरूमध्ये लेडलाई प्रमुख रसायनको रूपमा पहिचान गरेको जनाएको छ । लेडको सम्पर्कबाट विश्वमा हरेक वर्ष दश लाख मानिसको मृत्यु हुने गरेको छ । मध्यम आय भएको मुलुकमा यस रसायनका कारण हरेक वर्ष ९७७ अर्ब डलरको क्षति हुने गरेको छ । लेडले खासगरी बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा असर पार्ने जनाइएको छ । अभिभावकले बालबालिकाको उमेर अनुसार खेलौना छान्नुपर्छ । खेलसँग हुने जोखिम, दुर्घटनाको बारेमा अभिभावक सचेत हुन जरुरी छ ।
लिडले मानिसको मुटु, स्नायु र प्रजनन प्रणालीमा समेत असर गर्दछ । बालबालिकाको शरिरमा लेडको मात्रा धेरै भएमा स्मरण शक्तिमा ह्रास आउने गर्दछ । ब्याट्री तथा रङमा प्रयोग भएका लेडले मानिसको पेट, टाउको अनि हड्डीमा समेत असर गर्दछ । अझ लेडले बालबालिकाको शारीरिक तथा मानसिक एवं बौद्धिक विकासमा सिधै असर गर्दछ । मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा भेटिएको छ ।‘ अध्ययनमा एक डेसिलिटर रगतमा पाँच माइक्रो ग्रामभन्दा बढी सिसा (लेड) हुन नहुनेमा नेपालका बालबालिकाको शरीरमा सो भन्दा बढी पाइएको छ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा २०७८ मा सिफेडले देशभरका विभिन्न स्थानबाट संकलन गरेको इनामेल पेन्ट्सहरुमा लेड (सिसा)को मात्रा अधिक भएको पाइएको जनाएको छ । देशभरका कुल ६२ नमूनामध्ये ३२ वटा अर्थात ५२ प्रतिशत पेन्टमा मात्र मापदण्डमा तोकेको अधिकतम् लेडको मात्रा ९० पिपिएमभन्दा कम लेड पाइएको थियो भने ६२ नमूनामध्ये ३० वटा अर्थात ४८ प्रतिशत पेन्टमा मापदण्डमा तोकेको अधिकतम लेडको मात्रा ९० पिपिएमभन्दा बढी लेड पाइएको थियो । रङ्गलाई चम्किलो बनाउन, धातुमा खिया लाग्न नदिन र रङ्गलाई चाँडो सुकाउन लेडको प्रयोग हुने गर्दछ ।
ग्रिनपिस तथा आइपेन नामक संस्थाले सन् २०११ मा चिनिया बजारमा पाइने पाँच सय खेलौनाको नमूना परीक्षण गर्दा यस्ता खेलौनामा हानिकारक रसायनको मात्रा बढी रहेको पाइएको थियो । सो अध्ययनले गुडिया, सिसाकलम, बल, गाडी, रिङ आदिमा ७५ प्रतिशतभन्दा बढी लिड, मर्करी, क्याडमियमजस्ता हानिकारक रसायन मिलाएर निर्माण गरिएको देखाएको छ । अमेरिकी उपभोग्य वस्तु उत्पादन समितिको प्रतिवेदन अनुसार सन् २००७ मा गरिएको अध्ययनमा बजारमा पाइने एक सय ५७ किसिमका खेलौनामध्ये ९९ प्रकारका खेलौनामा लिडको मात्रा अत्यधिक थियो । त्यस्तै, सन् २०११ मा गरिएको अर्को अध्ययनमा ४५ प्रकारका खेलौनामा लिडको मिश्रण पाइएको उल्लेख छ ।वासिङ्टनको वातावरणीय स्वास्थ्य परियोजनाद्वारा १२ सय गुडियामा गरिएको अध्ययनले पनि दुई तिहाइभन्दा बढी खेलौनामा कुनै न कुनै किसिमको रसायन भेटिएको देखायो ।
सन् २०१२ मा फिलिपिन्समा करिब चार सय ३५ वटा विभिन्न खेलौनामा गरिएको रसायनहरूको अध्ययनमा घातक धातुहरू एन्टिमनी, आर्से्निनक, लिड, मर्करी, क्याटमियम आदि पाइएको थियो । यस्ता रसायन स्वास्थ्य एवं बालबालिकाको सुरक्षाका लागि अति खतरनाक हुन्छन् । रंगीचंगी खेलौनामा प्रयोग हुने रसायन लिड (सिसा) स्वासप्रश्वास, खाने कुरा तथा छालाको माध्यमबाट शरीरमा प्रवेश गरी विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । विशेष गरेर वर्षमा २० करोड रुपैयाँ बराबरका खेलौना आयात हुने गर्दछ ।
सिफेडले गरेको अध्ययनमा देशको सात वटै प्रदेशमा गरिएको परीक्षणमा हाल सबैभन्दा बढी जोखिमयुक्त र प्राणघातक लेड मधेस प्रदेशकै रङ्ग उद्योगहरूमा पाइएको सिफेडले जनाएको छ । सातै प्रदेशबाट ३७ पेन्टस् उद्योगका नमूना सङ्कलन गरी ६२ विभिन्न रङका इनामेलका साथै २१ विभिन्न रङका स्प्रे पेन्टस्का नमूनामा अध्ययन गर्र्दा ६२ मध्ये ३२ वटा अर्थात् ५२ प्रतिशतमा मात्र तोकिएको पीपीएमभन्दा कम लिड र बाँकी ३० नमूनाअर्थात् ४८ प्रतिशत पेन्टस्मा बढी लिडको मात्रा भेटिएको थियो । पेन्टमा लिडको मात्रा ९० पीपीएमसम्म हुुनुपर्नेमा हुँदा केहीमा २२ हजार ८५० अर्थात् मापदण्ड भन्दा २५४ गुणा बढी रहेको थियो । कुनै–कुनै पेन्टमा २२८५० पिपिएमसम्म(२५३ गुणा बढी) लेड पाइएको थियो । अध्ययनमा सम्मिलित कुल १७ वटा नेपाल गुणस्तर चिन्ह प्राप्त पेन्टहरुको नमूनामध्ये ११ वटा अर्थात ६५ प्रतिशत पेन्टमा मात्र मापदण्डमा तोकेको ९० पिपिएमभन्दा कम लेड पाइएको थियो भने ६ वटा अर्थात ३५ प्रतिशतमा मापदण्डमा तोकेको भन्दा बढी लेड पाइएको थियो ।
असर कस्तो गर्छ ?
रक्तनलीमा यसले रातो रक्त कोषिकाहरूलाई मार्दछ । फलस्वरूप विभिन्न अङ्ग तथा तन्तुमा रगतको कमी भई आवश्यक अक्सिजन पुग्न सक्दैन । लिडले मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पु¥याउँछ । रक्तअल्पता यसको साधारण लक्षण हो । टाउको दुख्ने, सिक्ने क्षमतामा ह््रास आउने, मस्तिस्कको सन्तुलन बिग्रने, शरीरिक वृद्घिमा कमी आउने, बानी व्यवहारमा परिवर्तन आउने, श्रवण शक्ति गुम्ने जस्ता धेरै रोगका आकस्मिक लक्षण पनि देखा पर्छन् । लगातार लामो समयसम्म लिडको सम्पर्कमा रहँदा मृगौलाले राम्रोसँग काम नगर्ने सम्भावना पनि उत्तिकै रहने चिकित्सकहरुको भनाइ छ । यसले उनीहरुमा नपुंसकता ल्याउन सक्छ ।
यति मात्र होइन, पाचन प्रणालीमा असर, उच्च रक्तचाप, स्मरण शक्ति गुम्ने, मृगौलामा खराबी, मस्तिष्कमा असर, मांशपेशी तथा जोर्नीको समस्या, नशामा असर र मांशपेशीसँगको सामन्जस्यता बिग्रने आदि रोगहरू लिडकै कारण लाग्छन् । लेडले खासगरी बालबालिका तथा गर्भवती महिलालाई अझ बढी प्रभाव पार्ने गर्दछ । लिडजस्तै गुडियामा प्रयोग हुने मर्करी वातावरणमा विभिन्न जीवाणुसँग मिलेर परिवर्तन हुने सबैभन्दा खतरनाक रसायन हो ।
इरेजर पनि हानीकारक
विद्यार्थीले विद्यालय वा घरमा लेखपढ गर्दा धेरै प्रयोग गर्ने सामग्री भनेको इरेजर पनि हो । सीसाकलमले लेखिएका अक्षर मेट्न बालबालिकाले प्रयोग गर्ने इरेजर स्वास्थ्यका दृष्टिले निकै हानीकारक रहेको देखिएको छ । यसमा खतरनाक रसायन मिसाइएकाले बालबालिकाका लागि निकै घातक रहेको सिफेडकोे अध्ययनले देखाएको छ । अध्ययनको क्रममा नेपाली बजारमा उपलब्ध रहेको ५३ प्रकारसहित विभिन्न नौ मुलुकका चार सय प्रकारका इरेजरको नमूना सङ्कलन गरिएको थियो । इरेजरमा स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिएको विषाक्त र हर्मोन उत्पादन गर्ने ग्रन्थीमा सोझै असर पु¥याउने रसायन फ्थालेट्सको उच्च मात्रा पाइएको छ । इरेजर चलाउँदा त्यही हात र औंला मुखको सम्पर्कमा ल्याउने र कतिपय बालबालिकाले इरेजर मुखमै लैजाने गर्दछन् । यसो गर्दा सोझै फ्थालेट्स मुखभित्र जाने र त्यसले हर्मोन ग्रन्थीमा असर पु¥याउने हुन्छ । फ्थालेट्सले मोटोपना हुने, रोगसँग लड्ने क्षमतामा कमी आउने, प्रजनन प्रणालीमा असर पुग्ने, नपुंसक बनाउने, बालिकामा दीर्घकालिन रुपमा महिनाबारी गडवडीका साथै चाडै महिनावारी रोकिने, शुक्रकिटको गुण तथा शुक्राणु संख्यामा कमी आउनेजस्ता दीर्घकालीन असर निम्त्याउँछ ।
विश्वव्यापीरुपमै फ्थालेट्सको प्रयोगलाई निरुत्साहित गर्न खोजिएको छ । अधिकांश विकसित राष्ट्रहरूले फ्थालेट्सको प्रयोगमा प्रतिवन्ध लगाइसकेका छन् । युरोपियन युनियनले सन् १९९९ देखि २०११ सम्ममा ६ वटा फ्याथालेट्सका खेलौनाको प्रयोग बन्द गरेको छ भने अमेरिका र अस्ट्रेलियामा पनि केही खैलौनामा बन्देज लगाइएको छ । कोरियाले इरेजरमा ०.१ प्रतिशत फ्थालेट्सको मात्रा तोकेको छ । नेपालमा पनि त्यसलाई नियन्त्रण गर्न ठोस मापदण्ड र कानुन निर्माण गर्नु आवश्यक छ । नेपालमा मुख्यगरी भारत, मलेसिया, चीन, जर्मनी, ताइवान, कोरिया, चेक गणतन्त्रलगायतका मुलुकबाट विभिन्न प्रकारका इरेजर आयात हुन्छन् । यसरी आयात गरिएका इरेजरमा २५.६ प्रतिशतको हाराहारीमा फ्थालेट्सको मात्रा पाइएको छ । यो भनेको कोरियाले निर्धारण गरेको फ्थालेट्सको मापदण्डको तुलनामा दुई सय ५६ गुणाभन्दा बढी हो ।
मापदण्डको व्यवस्था
बालबालिकाको स्वास्थ्यप्रति गम्भीर हुँदै विश्वका अधिकांश देशहरुले ऐन कानुन र मापदण्डहरु बनाएका छन् । नेपाल सरकारले पनि बालबालिकाको खेलौनामा पाइने विभिन्न घातक रसायनहरुको नियन्त्रण एवं नियमन गर्न २०७३ माघ ३ गते नेपाल राजपत्रमा सूचना जारी गरी २०७४ असार ३१ गतेबाट प्रभावकारी रुपमा लागु हुने गरी मापदण्ड बनाएको छ । सरकारले बालबालिकाहरुले खेल्ने खेलौनाहरुमा गर्हुङ्गो धातुलगायत अन्य रसायनहरुको मापदण्ड जारी गरेको छ । खेलौनामा क्याडमियम, क्रोमियम, लिड, मर्करी, जिंक, एन्टीमोनी, आर्सेनिक, ब्यारियम, सेलेनियम, ब्रोमाइन, बिस फनोल ए, पाइथालेटस्जस्ता १२ किसिमका घातक रसायनहरुको प्रयोग नियन्त्रण गर्न सो मापदण्ड लागू गरिएको हो । उक्त मापदण्ड अनुसार कुनै पनि इनामेल र पेन्ट्समा ९० पिपिएमभन्दा कम मात्रा हुनुपर्ने व्यवस्था गरिएको छ ।
मापदण्डमा १६ वर्षसम्मका उमेर समूहका बालबालिकाहरुले खेल्नका लागि प्रयोग गर्ने विभिन्न बस्तुहरुलाई खेलौनामा वर्गीकरण गरेको छ । नयाँ मापदण्डले रसायनयुक्त खेलौनाहरुसँग बालबालिकाको खेल्ने अवस्थाबाट टाढै राखी पुर्णरुपमा बौद्धिक, मानसिक तथा शारीरीक विकास हुन पाउने वातावरणको सिर्जनामा जोड दिएको छ । मापदण्डले बालबालिकाको सुरक्षित खेल्न पाउने अधिकार सुनिश्चित गर्नुको साथै यसबाट स्वास्थ्य र वातावरणमा पार्ने असरहरुलाई समेत न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
मापदण्डभन्दा बाहिरका खेलौनाहरुको नेपालभित्र आयात, भन्डारण, विक्री वितरण, उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । खेलौनाहरुमा रसायनको मात्रा परीक्षण गर्ने प्रविधिसँगै आयात गर्दा सम्बन्धित मुलुकको सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट प्रत्येक ब्याच परीक्षण गरी जारी गरिएको प्रयोगशाला प्रतिवेदन भएमा मात्र आयात गर्न सकिने व्यवस्था छ । स्वदेशी उत्पादकको हकमा उत्पादकले प्रत्येक ब्याचपिच्छे खेलौनाको सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट परीक्षण गराई मापदण्ड अनुसार भएमा मात्र विक्री वितरण गर्न पाइन्छ ।
नेपाल सरकारद्वारा तोकिएको ९० पिपिएम मापदण्डलाई आधार मानेर शिक्षा विभागले २०७१ चैत्र १ गते सम्पूर्ण सरकारी तथा निजी विद्यालयलाई समेट्ने गरी गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । सो सूचनामा सर्वसाधारणको घर तथा विद्यालय भवन, फर्निचर, खेलौना, खेलसामग्री, खेलमैदान तथा अन्य भौतिक पूर्वाधारहरु रङ्गाउने रङ्गहरुमा पाइने लेड (सिसा) को असरलाई न्यूनीकरण गर्नका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई बजारमा उपलब्ध लेड नमिसाइएको रङ्गहरु मात्र खरिद गरी प्रयोग गर्न गराउन भनिएको थियो तर यसको कार्यान्वयन कतै भएको देखिंदैन ।
केही उद्योगी तथा व्यवसायीहरुले मापदण्ड कमजोर पार्ने र प्रभावकारी कार्यान्वयन नगराउन दबाब दिने गरेका छन् । खेलौना बनाउने रबरलाई नरम पार्नका लागि प्रयोग हने फ्थालेट्स एवं विस्फिनोल ए जस्ता मानव शरीरमा हर्मोन गडबडी ल्याउन सक्ने रसायनहरुलाई मापदण्डबाट हटाउनुपर्ने उनीहरुको माग छ । खेलौनाहरुमा हानीकारक रसायनहरुको प्रयोगलाई निरुत्साहित गरी बालबालिकाको स्वास्थ्यप्रतिको सम्बेदनशीलतालाई कमजोर बनाउन खोज्नु गम्भीर अपराध हो । नेपालको संविधानद्वारा प्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हक र अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिद्वारा प्रदत्त स्वास्थ्य र सुरक्षासम्बन्धी अधिकारको ठाडो उल्लङ्घन हो ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij