शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेकपा सचिवालय बैठक आज बस्दै, स्कुल विभागको नेतृत्व मुख्य एजेण्डा

बुधबार, साउन २९ २०७६

काठमाडौँ(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै मंगलबार बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।
नेकपामा स्कूल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको जिकिर भएको कुरा बाहिर आएको थियो । अन्य विभागको टुङ्ग्यो लागेपनि स्कूल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक पटक सर्दै आएको छ । पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन । अहिलेसम्म प्रदेश कमिटी, र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्यूरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी छ । यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन ।
प्रधानमन्त्रीले विशेष गरि विभागको नेतृत्वका बारेमा जिम्मेवारी दिने विषयमा अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, बामदेव गौतम लगायतका नेताहरुसँग छलफल समेत गरिरहेका छन् । नेकपाका ३३ मध्ये १८ पूर्वएमाले र १४ वटा विभाग पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति भए पनि स्कुल विभागको नेतृत्वका बारेमा सहमति जुट्न नसकेपछि अन्य विभागको नेतृत्वपनि निर्णय गरिएको छैन । विवादले पटक पटक बसेका बैठकहरु निष्कर्षमा पुग्न सकेका छैनन् ।
नेकपामा स्कुल विभाग एउटा महत्वपूर्ण बिभाग मानिन्छ । अझ अहिले दुई पार्टी एक भएर पार्टीलाई कुन लाइनमा अगाडी बढाउने भन्ने विषय नै विवादमा रहेकाले यसको महत्व झन् बढेको छ । नेकपा अहिले जनताको जनवादको लाइनमा अगाडी बढ्ने निर्णय गरेको छ तर महाधिवेशनले नै अन्तिम निर्णय गर्ने गरी जनताको बहुदलीय जनवादलाई पनि बहसमा लैजाने पार्टीको अहिलेको निर्णय रहेको छ । पार्टीका नीति, सिद्धान्त, विचारहरू कार्यकर्तामाझ लगेर प्रशिक्षण दिने र आम कार्यकर्ता तह सम्म पार्टीको विचार स्पष्ट गर्ने महत्वपूर्ण काम यस बिभागले गर्दछ ।
अहिले दुई पार्टी एक भएर पार्टीलाई कुन लाइनमा अगाडी बढाउने भन्ने विषय नै विवादमा रहेकाले स्कुल विभागमा विवाद देखिएको हो । नेकपा अहिले जनताको जनवादको लाइनमा अगाडी बढ्ने निर्णय गरेको छ तर महाधिवेशनले नै अन्तिम निर्णय गर्ने गरी जनताको बहुदलीय जनवादलाई पनि बहसमा लैजाने पार्टीको अहिलेको निर्णय रहेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री रहेका इश्वर पोखरेल मदन भण्डारीको जनताको बहुदलीय जनवादको खुला रुपमा नै वकालत गर्दै आएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरको समेत साथ रहेको छ । पोखरेलले खुला रुपमा बहुदली जनवादको वकालत गरेकोले तत्कालिन माओवादी समुह उनलाई अहिले कुनै पनि हालतमा स्कुल बिभागमा ल्याउन नहुने अडानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार