शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नाकाबन्दीका योजनाकार भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

आइतबार, साउन २६ २०७६

काठमाडौँ(जस)– नेपालमाथि भारतले लागाएको नाकाबन्दीका योजनाकार भनेर चिनिएका भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । उनी भदौ ४ गते विहान एयर इण्डियाबाट नेपाल आउन लागेका हुन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेका मन्त्री जयशंकर नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ । भदौ ४ गते आयोगको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री जयशंकरलाई दिवा भोज दिनेछन् । त्यसपछि विदेशमन्त्रीले उच्चस्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालस्थित भारतीय दुतावासले सोहीदिन रात्री भोज दिनेछ । जसमा प्रमुख राजनीतिक दलका शीर्षस्थ नेतालाई बोलाएको छ । त्यहाँ सामूहिक तथा एक्लाएक्लै भेटघाट हुने बताइएको छ । उनी भदौ ५ गते विहानै भारत फर्किने कार्यक्रम रहेको भारतीय दूतावास स्रोतले जनाएको छ ।
एस जयशंकर विदेशमन्त्री भएलगत्तै नेपाल भ्रमणमा आउने कार्यक्रम भएपनि नेपालमा तरकारीमा विषादी परीक्षण, आइफा अवार्ड र क्लिन फिडलगायतको विवाद चलिरहेको कारण कार्यक्रम रद्ध गरेको थियो । भारतीय रअ का प्रमुख सामन्त गोयल नेपाल आएर फर्केपछि भारतका लागि नेपाली राजदूत निलम्बन आचार्यले विदेश मन्त्री जयशंकरलाई भेटेका थिए । राजदूत आचार्यले भेटेपछि विदेशमन्त्री जयशंकरको नेपाल आउने तय भएको हो । संविधान निर्माणको बेला विदेश सचिवको रुपमा नेपाल आएर एस जयशंकरले शीर्षस्थ नेतालाई भेटेर संविधान निर्माण कार्य केही दिनलाई स्थगित गरी सबैको सहमतिमा निर्माण गर्न सुझाव दिएका थिए ।
उनको सुझावलाई स्वीकार गर्दै दुई दिनका लागि संविधान निर्माणका कार्यलाई स्थगित गर्दै आन्दोलनकारी पक्षलाई वार्ताका लागि आह्वान गरेका थिए । तर, त्यो दुई दिनमा एकपटक पनि वार्ता भएन । खाली हात भारत फर्केका जयशंकरका कारण नेपालमाथि नाकाबन्दी लागेको चर्चा यहाँ चलेको थियो । त्यसले गर्दा पनि नेपाली जनता जयशंकरप्रति सकारात्मक रहेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार