काठमाडौँ(जस)– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता कार्यान्वयनको विषयमा सरकारको काम प्रति असन्तुष्टि जनाएका छन् । चौथो सामुदायिक वन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राज्य संयन्त्रका प्रमुख जिम्मेवारीमा विगतको केन्द्रीकृत मानसिकता भएका व्यक्तिहरूको हालिमुहाली भएकाले संघीयता कार्यान्वयनमा अपेक्षा अनुसारको परिणाम आएको बताए । उनले पछिल्लो समय जनतामा संघीयताप्रति असन्तुष्टि बढाउने गरी प्रशासनिक तहबाट काम भइरहेको भन्दै आशंका व्यक्त गरेका छन् ।
प्रचण्डले गाउँगाउँमा सिंहदरबारको अधिकार जाओस् र जनताले सुख र समृद्धिको अनुभूति गरून् भन्ने अपेक्षा राखेर गणतन्त्र र संघीयताका लागि लडेकोमा त्यसअनुसार काम हुन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् । प्रचण्डले भने, ‘हामीले सोचेको एउटा चिज थियो भइराखेको अर्कै छ। हामीले रोपेको एउटा चिज थियो उम्रिन अर्कै खोजिराख्या छ । रोपेको जस्तो चिज उम्रिन खोजिराखेको छैन ।’ उनले अगाडी भने, ‘पुरानो राज्य संयन्त्रबाट प्रशिक्षितहरू अहिले पनि कर्मचारीतन्त्रमा छन् । राजा महाराजाको व्यक्ति केन्द्रित स्कुलबाट प्रशिक्षित भएकाहरू केन्द्रीकृत सत्ता बलियो हुँदै जाओस् भन्ने चाहन्छन् ।’
प्रचण्डले नेकपाको सरकार सफल भयो भने मुलुकले नयाँ दिशा लिने र समृद्धि सफल हुने नभए यो पुस्ता नै असफल हुने बताए । उनले भने, ’नेपाल कम्युनिस्ट पार्टीको सरकारले पनि राम्रो काम नगर्ने हो भने हाम्रो पुस्ताका लागि राम्रो काम गर्ने अर्को पार्टी नै छैन । हामी असफल भयौँ भने राष्ट्र असफल हुन्छ। हामी असफल भयौँ भने कसैले पनि मुलुक सम्हाल्न सक्ने सम्भावना छैन ।’ स्थानीय तह र प्रदेश सरकारलाई बलियो बनायो भने आर्थिक र प्रशासनिक जटिलता खडा गरिएको बताए । उनले भने, ’हामीले तीन तहको सरकार निर्माण गरेको सिंहदरबारको अधिकार तल पुर्यााउन गरेको हो । जनतालाई बोझ थप्न होइन । सबैले कर लगाएर करको भारी जनताको थाप्लोमा राख्ने भनेर तीन तहको सरकार बनाएको होइन । एउटै शीर्षकमा स्थानीय, प्रदेश र संघीय सरकारले कर लगाउन भनेको होइन। जनताको अधिकार स्थापित गर्ने भनेर गणतन्त्र र संघीयता ल्याएका हौँ ।’
प्रचण्डले स्थानीय तहमा नै नागरिकताका समस्या समाधान होऊन्, रोजगारी, स्वास्थ्य शिक्षाका समस्या समाधा होऊन् भन्ने चाहेको तर अभ्यासमा भने संघीयताको नाममा जनतामाथि भार थप्ने र समस्या ल्याउने गरिएको बताए । प्रचण्डले दोहोरो, तेहोरो कर पर्दैन भन्ने कुरा सुनिश्चित गर्नुपर्छ भन्दै बोझ पर्ने खालको काम माथिबाट हुन नहुने र समाजवाद उन्मुख भनेको माथिबाट कुरा लाद्ने होइन, जनताको अधिकार बढी हुने र राज्य निर्माणमा समुदायको सहभागिता बढाउने व्यवस्था भएको बताए ।
यस्तै राजधानीमा आयोजित एक अर्को कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक हुने बताएका छन् । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लामो सङ्घर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने जिकिर गरे ।“राजनीतिक र सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले सल्ट्याउन सकेको छैन, इतिहासको चक्का निरन्तर अगाडि बढ्छ, पछाडि धकेल्न चाहने इतिहासको रछ्यानमा मिल्किने गरेका छन्, नेपाल त्यसको अपवादमा हुनै सक्दैन”, अध्यक्ष दाहालले भने ।
उनले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको बताउँदै पुराना सोच, संरचना, मूल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरिँदै जाने उल्लेख गरे । नयाँ सोच, मूल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती पनि कायम रहेकोसमेत उनको भनाइ थियो । उनले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीतिअनुसार अघि बढाउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए ।