काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) दोस्रो स्थानमा यथावत् रहेको छ ।
च्याम्पियनसिपको तेस्रो दिन बिहीबार एनआरएनएले दुई स्वर्ण, दुई रजत र एक कांस्य गरी पाँच पदक थपेको छ । यससँगै एनआरएनएको कुल पदक संख्या १५ पुगेको छ । एनआरएनएले अहिलेसम्म ९ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जितेको छ ।
तेस्रो दिन एनआरएनएलाई पहिलो स्वर्ण १५ वर्षीया लिली बोहराले दिलाइन् । महिला २०० मिटर इन्डिभिजुअल मिड्ले फाइनलमा लिलीले २ मिनेट ३३.६७ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । उनले त्रिभुवन आर्मी क्लबकी डुआना लामालाई पछि पारिन् । डुआनाले २ मिनेट ३३.८९ सेकेन्डमा दूरी पूरा गर्दै रजत जितिन् ।
सोही स्पर्धामा एनआरएनएकै १६ वर्षीया मिखा काया थापाले २ मिनेट ४६.९३ सेकेन्डको समयसहित कांस्य पदक जितिन् ।
महिला ५० मिटर ब्याकस्ट्रोकमा मिखा काया थापाले ३३.२७ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । उनले बागमती प्रदेशकी आर्या महर्जन सिनियरलाई पछि पारिन् । आर्याले ३३.४३ सेकेन्डमा दूरी पूरा गर्दै रजत जितिन् ।
महिला १०० मिटर बटरफ्लाईमा भने मिखा १ मिनेट २०.६९ सेकेन्डको समयसहित पाँचौँ स्थानमा सीमित भइन् । लिली बोहराले तेस्रो दिन थप दुई रजत पदक पनि एनआरएनएको खातामा जोडिन् ।
एनआरएनएका लिली बोहरा र मिखा काया थापाको उत्कृष्ट प्रदर्शनले टोलीलाई पदक तालिकामा दोस्रो स्थान कायम राख्न मद्दत गरेको छ ।