फुजैराह दुर्घटनामा १४ जनाको ज्यान गएको दुई सातामै अर्को हृदयविदारक घटना, २६ जना घाइते
निश्चल दाहाल
संयुक्त अरब इमिरेट्स (यूएई) मा सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । फुजैराहमा १४ जनाको ज्यान जाने गरी भएको भीषण सडक दुर्घटनाको पीडा सेलाउन नपाउँदै रास अल खैमाहमा भएको अर्को दुर्घटनाले देशलाई पुनः शोकमा डुबाएको छ ।
मंगलबार, नोभेम्बर २४ को बिहान रास अल खैमाहको दक्षिणी क्षेत्रमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको रास अल खैमाह प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ४१ जना यात्रु बोकेको बस सडकको छेउमा यान्त्रिक खराबीका कारण रोकिएको ट्रकमा ठोक्किएको थियो । दुर्घटना बिहानै अल वतान रोडमा भएको हो ।
दुर्घटनालगत्तै उद्धार तथा आपत्कालीन टोली घटनास्थलमा पुगेका थिए । अल मुनाई प्रहरी चौकी र रास अल खैमाह प्रहरीको खोज तथा उद्धार विभागका टोलीसँगै हत्ता प्रहरी गस्ती, दुबई एम्बुलेन्स तथा दुबई र कुद्राका नागरिक सुरक्षा टोली उद्धारमा खटिएका थिए ।
घटनास्थलमै २६ जना घाइतेलाई आपत्कालीन उपचार प्रदान गरिएको यूएई राष्ट्रिय एम्बुलेन्सले जनाएको छ । तीमध्ये १४ जनालाई थप उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।
दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान सार्वजनिक गरिएको छैन । तर, दुबईस्थित भारतीय वाणिज्य दूतावासले मृतकमा भारतीय नागरिकसमेत रहेको पुष्टि गरेको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान गर्न र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन घटनाको मुद्दा सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।
रास अल खैमाह प्रहरीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रहरीले सवारी चालकहरूलाई सडकमा सतर्क रहन, ध्यान केन्द्रित गरेर सवारी चलाउन तथा अचानक आइपर्न सक्ने जोखिमप्रति सचेत रहन आग्रह गरेको छ । त्यस्तै, दुर्घटनासम्बन्धी अपुष्ट सूचना तथा अफवाह नफैलाउन र आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
यसअघि दुर्घटनाको सूचना प्राप्त हुनासाथ आन्तरिक मन्त्रालयले सम्बन्धित उद्धार टोलीलाई घटनास्थलमा परिचालन गरेको जनाएको थियो । उद्धार कार्यसँगै दुर्घटनास्थल सुरक्षित बनाउने र आसपासको सडकमा यातायात व्यवस्थापन गर्ने कामसमेत गरिएको थियो ।आन्तरिक मन्त्रालयले मृतकका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिका लागि प्रार्थना गरेको छ । साथै, शोकमा रहेका परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् भन्ने कामना गरेको छ ।
फुजैराह दुर्घटनाको पीडा सेलाउन नपाउँदै अर्को विपत्ति
रास अल खैमाहको दुर्घटनाले यूएईमा पछिल्लो समय सडक दुर्घटनाबाट भइरहेको मानवीय क्षतिलाई फेरि सतहमा ल्याएको छ ।
नोभेम्बर १२ मा फुजैराहमा भएको भीषण बहुवाहन दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । उक्त घटनाको १२ दिनपछि रास अल खैमाहमा भएको दुर्घटनाले फेरि ठूलो मानवीय क्षति निम्त्याएको हो ।
यूएईका अधिकारीहरूका अनुसार नोभेम्बर १२ मा शेख खलिफा बिन जायेद रोड (ई–८४) मा लगातार दुई दुर्घटना भएका थिए । सडक मर्मतका लागि दायाँ लेन बन्द गरिएको क्षेत्रमा ती दुर्घटना भएका थिए । पहिलो दुर्घटनामा एउटा सवारीसाधन सडकमा रोकिएको ट्रकसँग ठोक्किएको थियो । त्यसपछि दुईवटा ढुवानी कन्टेनर बोकेको ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदै पल्टिएको थियो ।
आन्तरिक मन्त्रालयका अनुसार ट्रक चालकले नियन्त्रण गुमाएपछि अर्को सवारीसाधनमा ठक्कर लागेको थियो । ठक्करबाट पल्टिएको सवारीसाधनले ढिलो गतिमा चलिरहेको यातायातका कारण रोकिएका अन्य सवारीसाधनलाई समेत ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रकमा आगलागी हुँदा आगो अन्य सवारीसाधनमा समेत फैलिएको थियो ।
उक्त दुर्घटनामा चार भारतीय र १० इमाराती नागरिक गरी १४ जनाको मृत्यु भएको थियो । घाइते हुनेमा इमिरेट्स, ओमानी, भारतीय, ब्राजिलियन, पाकिस्तानी, जोर्डनियन र इजिप्टियन नागरिक थिए । मृत्यु हुने भारतीय नागरिकमध्ये गुजरातका १३ वर्षीय एक बालकसमेत थिए । उनी परिवारसँग यूएई भ्रमणमा आएका थिए ।
फुजैराह दुर्घटनामा संलग्न ट्रक चालकलाई अस्पतालमै आवश्यक सुरक्षा व्यवस्था मिलाएर मुद्दाको प्रारम्भिक अनुसन्धानका क्रममा हिरासतमा राखिएको थियो । यसअघि नोभेम्बर १० को मध्यराततिर फुजैराह–खोर फक्कान सडकमा पनि कार र रोकिराखिएको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो । चार जना सवार कार ट्रकमा ठोक्किँदा २८ वर्षीय इमिरेट्स पुरुष र १६ वर्षीय अरब बालकको ज्यान गएको थियो ।
लगातार भएका यी दुर्घटनाले यूएईका सडकमा सवारी सुरक्षाको विषयलाई पुनः गम्भीर बनाएको छ । सडकमा रोकिएका सवारीसाधन, मर्मतका क्रममा बन्द गरिएका लेन तथा चालकको लापरवाही वा नियन्त्रण गुमाउने अवस्थाले निम्त्याउन सक्ने जोखिमप्रति अधिकारीहरूले सचेत रहन आग्रह गरेका छन् ।
यूएईमा रोजगारी, व्यवसाय तथा पारिवारिक जीवन बिताइरहेका नेपालीसहित विभिन्न देशका नागरिकका लागि पनि सडक सुरक्षा महत्वपूर्ण विषय बनेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूको परिवारमा परेको पीडा र घाइतेहरूको उपचारको चिन्ताबीच सडकमा थप सावधानी अपनाउनु अपरिहार्य देखिएको छ ।