शुक्रबार, मंसिर ४ २०८३

शुक्रबार, मंसिर ४ २०८३

खोटाङ कांग्रेसको नेतृत्वमा कुमार पुरीको दाबी, एकता र संगठन सुदृढीकरणलाई मुख्य प्राथमिकता

बिहिबार, मंसिर ३ २०८३

सभापति बने गल्ती गरेको महसुस हुन नदिने प्रतिबद्धता, पार्टीलाई गाउँगाउँ र जनताको घरदैलोसम्म पुर्‍याउने योजना

काठमाडौं । नेपाली कांग्रेस खोटाङको आगामी जिल्ला अधिवेशनलाई लक्षित गर्दै जिल्ला सभापति पदका उम्मेदवार कुमार पुरीले पार्टीभित्र एकता, संगठन सुदृढीकरण र नयाँ पुस्तालाई अवसर दिने प्रतिबद्धता सार्वजनिक गरेका छन्।

सम्भवतः आगामी पुस महिनामा हुने जिल्ला कार्यसमितिको निर्वाचनमा सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका पुरीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद र प्रतिष्ठाभन्दा पनि खोटाङमा नेपाली कांग्रेसलाई थप संगठित, बलियो र जनतामाझ लोकप्रिय बनाउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका पुरीले पार्टीको विचार, सिद्धान्त र आदर्शबाट कहिल्यै विचलित नभएको उल्लेख गर्दै अहिलेसम्म कुनै लाभको पदमा नरहेको र व्यक्तिगत स्वार्थका लागि पदको आकांक्षा नराखेको बताएका छन्।

व्यापार–व्यवसाय तथा जीविकोपार्जनका कारण लामो समय जिल्लाबाहिर रहनुपरेकाले जिल्लामै बसेर संगठन निर्माणमा खटिएका साथीहरूलाई अवसर दिन आफू पृष्ठभूमिमा बसेको उनको भनाइ छ। अब भने विगतका अनुभव र नयाँ योजनासहित जिल्ला नेतृत्वको जिम्मेवारी लिन अघि सरेको उनले स्पष्ट पारेका छन्।

पुरीले विगतमा पार्टीका विभिन्न तह र तप्काबाट भएका सकारात्मक कामलाई निरन्तरता दिँदै नयाँ सोच, योजना र ऊर्जाका साथ संगठनलाई अगाडि बढाउने बताएका छन्। जिल्लाका सबै नेता तथा कार्यकर्तालाई एउटै संगठनात्मक सूत्रमा बाँध्ने, गाउँगाउँ र घरघरमा कांग्रेसको उपस्थिति विस्तार गर्ने तथा जनताका समस्या र अपेक्षासँग पार्टीलाई जोड्ने उनको प्रतिबद्धता छ।

उनले सभापतिको जिम्मेवारी पाएपछि आफ्नो कार्यशैली र निर्णयमाथि पार्टीका नेता तथा कार्यकर्ताले खुलेर प्रश्न उठाउन सक्ने वातावरण बनाउने बताएका छन्। आलोचना, सुझाव र सल्लाहलाई कमजोरीका रूपमा नभई संगठन सुधारको आधारका रूपमा ग्रहण गर्ने उनको भनाइ छ।

‘सभापति बनाएर गल्ती गरेछौँ भन्ने महसुस हुन दिनेछैन’

पुरीले आफ्नो उम्मेदवारीसँगै एउटा महत्त्वपूर्ण नैतिक प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्। आफूलाई सभापतिमा निर्वाचित गराएपछि गल्ती गरेको महसुस कहिल्यै हुन नदिने उनको दाबी छ। जिम्मेवारी प्राप्त गरेपछि पनि पार्टीको हितमा काम गर्न नसके, गलत बाटोमा हिँडे वा कार्यकर्ताको विश्वासअनुसार जिम्मेवारी निर्वाह गर्न असफल भए सक्रिय राजनीतिबाटै विश्राम लिने उनले घोषणा गरेका छन्।

उनले पार्टीभित्र गुटगत सोचभन्दा माथि उठेर सबैलाई समेट्ने नेतृत्व निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। नयाँ पुस्तालाई अवसर दिने, अग्रजको अनुभवलाई सम्मान गर्ने र सबै तहका कार्यकर्ताको भावनालाई समेटेर अघि बढ्ने उनको प्रतिबद्धता छ।

पुरीले अब चाँडै जिल्लाका नेता तथा कार्यकर्ताको घरदैलोमा पुगेर प्रत्यक्ष भेटघाट, छलफल र सुझाव संकलन गर्ने तयारीसमेत गरेका छन्। उनले जिल्ला सभापति पदमा आफ्नो उम्मेदवारीलाई खोटाङ कांग्रेसको संगठनात्मक एकता र भावी राजनीतिक यात्रासँग जोड्दै नेता तथा कार्यकर्ताको साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छन्।

‘पद प्राप्त गर्नु मात्र मेरो उद्देश्य होइन, जिम्मेवारी पूरा गर्नु मेरो मुख्य प्रतिबद्धता हो,’ भन्ने सन्देशसहित पुरीले खोटाङ कांग्रेसलाई एकताबद्ध, सक्रिय र जनताप्रति उत्तरदायी संगठन बनाउने आफ्नो योजना अघि सारेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार