-मदन ढुंगाना
भक्तपुर । नेवारी मौलिक खानपान, कला, संस्कृति र आतिथ्यलाई प्रवर्द्धन गर्दै आएको नेवा ननीले क्रिकेट, संगीत र सांस्कृतिक मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
‘NPL GRAND FINAL SCREENING & MUSIC NIGHT’ नाम दिइएको उक्त कार्यक्रम मंसिर ५ गते भक्तपुरमा आयोजना हुने आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय (CUBWEB BAND ) को विशेष लाइभ सांगीतिक प्रस्तुति रहनेछ। साथै, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलको विशेष प्रदर्शनसमेत गरिनेछ। क्रिकेटप्रेमीहरूले आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै खेलको रोमाञ्चकता अनुभव गर्न पाउनेछन् भने सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ।
नेवा ननीले नेवारी मौलिक खानपान र आतिथ्यलाई नयाँ पुस्तामाझ परिचित गराउँदै आएको छ। नेवारी मौलिकता, नेपाली कला, संगीत, खेलकुद र सामाजिक मनोरञ्जनलाई एउटै स्थानमा जोडेर पहिचानयुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य कार्यक्रमको रहेको आयोजकको भनाइ छ।
आयोजकका अनुसार कुनै पनि व्यवसायको सफलता आर्थिक कारोबारमा मात्र सीमित हुनुहुँदैन। त्यसले समाज, संस्कृति, स्थानीय समुदाय र नयाँ पुस्ताका लागि समेत सकारात्मक योगदान दिन सक्नुपर्छ भन्ने मान्यताका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा दर्शक तथा सहभागीका लागि दुई प्रकारका प्रवेश टिकटको व्यवस्था गरिएको छ। जसअनुसार २०० रुपैयाँको टिकटमा निःशुल्क कफी र ५०० रुपैयाँको टिकटमा निःशुल्क बियर उपलब्ध गराइनेछ।
कार्यक्रममा एनपीएल फाइनल खेलको विशेष प्रदर्शन, CUBWEB BAND को लाइभ कन्सर्ट, नेवारी खानाका मौलिक परिकार तथा विशेष आतिथ्यको व्यवस्था रहनेछ।
आयोजकले यस कार्यक्रमलाई एक दिनको मनोरञ्जनमा मात्र सीमित नराखी भक्तपुरमा खेलकुद, संगीत, संस्कृति र स्थानीय व्यवसायको प्रवर्द्धनका लागि नयाँ सम्भावनाको सुरुवातका रूपमा लिएको जनाएको छ।
कार्यक्रममा सञ्चारकर्मी, खेलप्रेमी, संगीतप्रेमी, युवा पुस्ता, स्थानीय समुदाय तथा शुभेच्छुकहरूलाई उपस्थित भई साथ र सहभागिता जनाउन आयोजकले निमन्त्रणा गरेको छ।