काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२:३० बजे हुनेछ भने दोस्रो खेल बेलुकी ५ बजे शुरु हुनेछ ।
प्रतियोगितामा अब १० खेल बाँकी रहँदा सबै टोलीको नजर प्लेअफमा हुनेछ । हाल शीर्ष स्थान र सातौं स्थानबीचमात्र तीन अंकको फरक रहेको छ । आज हुने पहिलो खेलमा कर्णाली तेस्रो जित निकाल्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ भने पोखरा पहिलो जितको खोजीमा हुनेछ । पोखराको प्लेअफ पुग्न गणितीय सम्भावनामात्र बाँकी रहेको छ । हाल पोखरा ४ खेलबाट अंकविहीन रहँदै पुछारमा रहेको छ भने कर्णाली ४ खेलबाट ४ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ ।
शुरुवाती दुई खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको कर्णालीले त्यसपछि लय गुमाउँदै तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग ४ विकेट र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको थियो । आजको खेलबाट कर्णलाईलाई प्रतियोगितामा पुनरागमन गर्ने अवसर रहेको छ ।
यता पोखराले प्रतियोगितामा सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । पहिलो खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित हुँदै प्रतियोगिताको शुरुवात गरेको पोखराले दोस्रो खेलमा जनकपुरसँग ९ रन, तेस्रो खेलमा लुम्बिनीसँग ८ विकेट र चौथो खेलमा चितवनसँग ३० रनले पराजित भएको थियो ।
आजै हुने अर्को खेलमा काठमाडौं र चितवन आमने सामने हुनेछन् । उच्च लयमा रहेको काठमाडौं आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ भने चितवन हाल शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्ससँग अंक बराबरी गर्न चाहन्छ । हाल काठमाडौं ४ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खलेबाट ५ अंक जोडेको चितवन चौथो स्थानमा रहेको छ ।
पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताको शुरुवात गरेको काठमाडौंले दोस्रो खेलमा कर्णालीलाई ४ विकेट, तेस्रो खेलमा विराटनगरलाई ९ विकेट र चौथो खेलमा लुम्बिनीलाई ३६ रनले हराउँदै लय समातेको थियो ।
यता चितवनले भने पहिलो खेलमा विराटनगरलाई ८ रनले हराएको थियो । दोस्रो खेल वर्षाको कारण रद्द हुँदा लुम्बिनीसँग अंक बाढेको चितवन तेस्रो खेलमा सुदूरपश्चिमसँग ५ विकेटले पराजित हुँदा चौथो खेलमा पोखरालाई ३० रनले हराएको थियो ।