शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

घर घरमै दूध तथा दुग्ध पदार्थ पुर्याउन सिताराम डेरीको मोबाइल एप

शनिबार, कार्तिक २१ २०८३

काठमाडौं । दुग्ध पदार्थको बिक्री तथा वितरणलाई उपभोक्तासँग प्रत्यक्ष जोड्ने उद्देश्यले सिताराम गोकुल मिल्क्स प्रालिले मोबाइल एपमार्फत घरघरमा दूध तथा दुग्ध पदार्थ पु¥याउने सेवा शुरू गरेको छ । कम्पनीले काठमाडौं र ललितपुरका सीमित क्षेत्रमा परीक्षणका रूपमा शुरू गरेको यो सेवा क्रमशः विस्तार गर्ने योजना बनाएको छ ।

कम्पनीका निर्देशक तथा नेपाल डेरी एशोसियसनका पूर्व अध्यक्ष समेत रहेका सुमित केडियाका अनुसार उपभोक्ताले बजारमा सितारामका उत्पादन खोज्दा पनि सहज रूपमा नपाउने र बीचका विक्रेता तथा वितरण प्रणालीका कारण उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क स्थापित हुन नसकेको अवस्थालाई सम्बोधन गर्न ‘सिताराम दुध’ नामक मोबाइल एप सञ्चालनमा ल्याइएको हो ।

‘कतिपय ठाउँमा उपभोक्ताले हाम्रो सामान खोज्ने तर हामीले उपलब्ध गराउन नसक्ने अवस्था थियो । मार्जिन र कमिसनका विषय पनि जोडिए । त्यसैले उपभोक्तालाई सीधै जोडेर सेवा दिनुपर्छ भन्ने सोचले एप शुरू गरेका हौं,’ केडियाले भने ।

कम्पनीले काठमाडौंको कुलेश्वरस्थित आफ्नो आउटलेटलाई डार्क स्टोरका रूपमा प्रयोग गरेर सेवा सञ्चालन गरिरहेको छ । हाल कुलेश्वर आउटलेटबाट ५ किलोमिटर दुरी भित्र रहेका स्थानमा काठमाडौं र ललितपुर जिल्लाका केही स्थानमा यो सेवा उपलब्ध गराइएको छ । त्यसका लागि कम्पनीले दुई जना राइडर परिचालन गरेको छ ।

एपमार्फत सामान अर्डर गर्न उपभोक्ताले एक दिनअगाडि नै अर्डर गर्नुपर्ने व्यवस्था गरिएको छ । बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म गरिएको अर्डरअनुसार अर्को दिन बिहान ६ देखि १० बजेसम्म राइडरले घरमै सामान पु¥याउने कम्पनीले जनाएको छ । उपभोक्ताले नगद, क्यूआर कोड वा अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।

हाल यो एप एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरमा उपलब्ध छ । एप निर्माण तथा परीक्षणमा चारदेखि पाँच महीना लागेको केडियाले बताए । उपभोक्तालाई एप डाउनलोड गर्ने, अर्डर गर्ने र भुक्तानी गर्ने प्रक्रियाबारे जानकारी गराउँदै सेवा विस्तार गर्ने योजना रहेको उनले बताए ।

कम्पनीले मोबाइल एपमार्फत उत्पादनको पहुँच विस्तार गर्नुका साथै डिजिटल माध्यमबाट बजारसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न खोजेको छ । यसका लागि कम्पनीले आफ्नो वेबसाइटसमेत सञ्चालनमा ल्याएको छ । वेबसाइटमार्फत कम्पनीको परिचय, उत्पादन र मूल्यसम्बन्धी जानकारी उपलब्ध गराउने तथा सम्भावित विदेशी बजारका आयातकर्तालाई उत्पादनबारे जानकारी लिन सहज बनाउने उद्देश्य राखिएको केडियाले बताए ।

यसैबीच कम्पनीले नेपाल प्रिमियर लिग (एनपीएल) को लोकप्रियतालाई पनि आफ्नो उत्पादनको प्रवद्र्धनमा उपयोग गर्ने रणनीति लिएको छ । सितारामका दूध तथा दुग्ध पदार्थ एपमार्फत अर्डर गर्ने उपभोक्तालाई एनपीएलको सामान्य टिकट उपलब्ध गराउने योजना कम्पनीले अघि सारेको छ । यससम्बन्धी व्यवस्था कम्पनीको बिक्री टोलीले मिलाइरहेको केडियाले जानकारी दिए । कम्पनीले अहिले सीमित क्षेत्रमा शुरू गरेको घरदैलो सेवा उपभोक्ताको प्रतिक्रिया र सञ्चालन अनुभवका आधारमा विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार